NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

यी फुटबलर जो विदेशिए

काठमाडौं । घरेलु फुटबल गतिविधि हुने नहुने अन्योल बढेपछि नेपाली फुटबलमा प्रभाव जमाएका मकवानपुरका खेलाडीहरू धमाधम विदेश लागेका छन् । एक साताभित्र मकवानपुरबाट घरेलु फुटबलको शीर्ष डिभिजन क्लबमा आबद्ध भइसकेका तीन खेलाडी सुखद भविष्यको खोजीमा अस्ट्रेलिया पुगेका छन् ।

पूर्वराष्ट्रिय खेलाडी अमिर श्रेष्ठ, जुनियर राष्ट्रिय टोलीका गोलरक्षक रोहित कार्की र फरवार्ड रवि थिङ यसै साता विदेशिए । अघिल्लो वर्ष राष्ट्रिय टोलीका गोलरक्षक तथा मकवानपुरका खेलाडी एलान न्यौपाने विदेशिएका थिए ।

‘ए’ डिभिजन लिग, राष्ट्रिय लिग नहुँदा मोफसलमा हुने विभिन्न प्रतियोगितामा नयाँ टोलीबाट सहभागी भइरहेका खेलाडीहरू धमाधम विदेशिने क्रम बढिरहेको छ । फुटबल खेलाडीको भाषामा भन्नुपर्दा ‘खेप’को भरमा बाँच्ने अवस्था नभएपछि उनीहरू विदेशिन बाध्य भएका हुन् । ‘खेप’ को अर्थ पटक भन्ने बुझिन्छ । नेपाली फुटबलमा खेपको अर्थ प्रत्येक खेलको आधारमा नयाँ टोलीबाट पैसा लिएर खेल्नु हो । पछिल्लो समय देशमा आधिकारिक प्रतियोगिताहरू नभएपछि उपत्यकाबाहिर हुने विभिन्न प्रतियोगितामा सहभागी भएर ‘खेप’ को भरमा उनीहरू जीविकोपार्जन गर्न बाध्य थिए ।

फुटबल खेलाडीको जीविकोपार्जनका लागि नेपाल सुपर लिग (एनएसएल) राम्रो सम्भावना बनेर आएको थियो । पहिलो संस्करण सकिएपछि चैतमा तय भएको दोस्रो संस्करण अक्सन भएर पनि स्थगित हुन पुगेको थियो । साउन अन्तिममा अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिले असोज २३ देखि मंसिर २ सम्मका लागि एनएसएलको नयाँ मिति तोके पनि यो समयमा हुने कुनै लक्षण देखिएको छैन ।

२०७८ सालको मंसिरमा भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रन्जन विष्ट, अञ्जन विष्ट, सुनील बल, आयुश घलान, अमिर, रवि, अशोक बरालसहित मकवानपुरका २१ खेलाडीले काठमाडौंमा आफ्नो प्रतिभा देखाएका थिए । एन्फाले ‘ए’ डिभिजन लिगका लागि पुस ८ देखि चैत ४ सम्म मिति तोके पनि खेलाडीहरू विश्वस्त हुन सकेका छैनन् । पालै पालो विदेशिने क्रम जारी छ । अमिर, रोहित, रविसहित बिहीबार नै मिक्छेन तामाङ, राजन गुरुङ, रुमेश बर्तौला अस्ट्रेलिया लागेका छन् । थ्रीस्टार क्लबबाट खेल्ने मिक्छेन सन् २०१९ मा काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी हुन् । राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका राजन विभागीय टिम एपीएफ क्लबबाट खेल्छन् । रमेशले च्यासलबाट ‘ए’ डिभिजन लिग खेलेका थिए ।

अमिरले नेपालका चर्चित ‘ए’ डिभिजन क्लबहरू थ्रीस्टार, मनाङ मर्स्याङदी, मछिन्द्र, जावलाखेल र च्यासल युथ क्लबबाट खेलिसकेका छन् । उनी विशेष गरी मोफसलमा घरेलु नकआउट फुटबलको चर्चित नाम हो । हेटौंडा–९, एचआईडीका उनले यू–२३ सम्म राष्ट्रिय टोलीको अनुभव बटुलिसकेका छन् । उनी केही समयअघि रोजगारीका लागि कतारसमेत पुगेका थिए । कतारबाट फर्केर पुनः नेपालको शीर्ष प्रतियोगितामा सहभागी उनले पछिल्लो समय ‘खेप’ को भरमा आफ्नो दैनिकी सञ्चालन गरिरहेका थिए । उनले नेपालसहित भारतको विभिन्न प्रान्तमा हुने प्रतियोगितामा समेत भाग लिँदै आएका थिए । उनी एन्फा एकेडेमीका उत्पादन हुन् ।

रोहित कार्की पछिल्लो समय ‘ए’ डिभिजन क्लब संकटामा आबद्ध थिए । त्यसअघि उनले मछिन्द्र क्लबबाट खेले । आफू अध्ययन भिसामा अस्ट्रेलिया गएको हेटौंडा–२, पिपलबोटका रोहितले बताए । अस्ट्रेलिया बसाइका क्रममा त्यहाँकै रोयल वेस्टर्न क्लबमा आबद्ध भएर फुटबलमा कायमै रहने उनले बताए ।

एन्फा एकेडेमीमा सन् २०१५ देखि ५ वर्ष बसेका रोहित उमेर समूहको राष्ट्रिय टिमबाट ताजकिस्तानमा भएको प्रतियोगिता खेलेका थिए । उनले राष्ट्रिय टिममै रहेर श्रीलंका, युएई र इरानमा खेलिसकेका छन् । पहिलो एनएसएल लिगमा ललितपुर सिटीबाट खेलेका रोहितले दोस्रो एनएसएलमा विराटनगर सिटी एफसीबाट खेल्ने तयारी गर्दैथिए ।

२०७१ सालदेखि एपीएफ क्लबमा आबद्ध रवि थिङ पछिल्लो समय उत्कृष्ट लयमा थिए । उनले विभागीय टिमबाट ‘ए’ डिभिजन लिगका साथै देशभर हुने नकआउट प्रतियोगितामा भाग लिइरहेका थिए । उनी करियरकै उच्च लयमा थिए । उनले पनि अस्ट्रेलिया बसाइका क्रममा स्थानीय प्रतियोगिताहरू खेलिरहने बताए ।

मकवानपुर जिल्ला फुटबल संघका प्रशिक्षक विजयलाल श्रेष्ठले पछिल्लो समय जुनियर र सिनियर खेलाडी विदेशिने क्रम बढेकोप्रति चिन्ता व्यक्त गरे । ‘जुनियर होस् वा सिनियर खेलाडी धेरै विदेश लागेका छन् । जसका कारणले गर्दा हाम्रो जिल्लाबाट राष्ट्रिय टोलीमा सहभागी हुने खेलाडी घट्दो अवस्थामा छ,’ उनले भने । नेपालको हरेक उमेर समूहको राष्ट्रिय टोलीमा मकवानपुरका खेलाडी समावेश हुन्थ्यो तर पछिल्लो समय खेलाडीहरू विदेसिएको बताए । ‘अहिले जुनियर टोलीमा समेत मकवानपुरका खेलाडी अटाउन छाडेका छन्,’ उनले थपे । कान्तिपुर दैनिकमा खबर छ ।