NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत ६ गते

बाबुको कुर्सीमा बसेर मुख्यमन्त्रीपुत्रले खिचाएको तस्बिर भाइरल

काठमाडौं । बाबु बस्ने कुर्सीमा बसेर खिचाएको मुख्यमन्त्रीपुत्रले तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । अधिकांशले पदीय मर्यादाको खिल्ली उडाएको भन्दै मुख्यमन्त्री र पुत्रको आलोचना गरेका छन् ।

घटना नेपालको भने होइन, छिमेकी देश भारतको महाराष्ट्र राज्यको हो ।  त्यहाँका मुख्यमन्त्री एकनाथ शिन्देका छोरा श्रीकान्तले बाबुका् कुर्सीमा बसेर खिचाएको तस्बिर बाहिरिएपछि विपक्षीहरुले मुख्यमन्त्री पदको मजाक उडाएको भन्दै प्रश्न उठाइरहेका छन् ।

तस्विर ट्वीट गर्दै, एनसीपी प्रवक्ता रविकान्त भार्पेले श्रीकान्त शिन्देलाई ‘सुपर सीएम’ भनेका छन् । उनले मुख्यमन्त्री शिन्देलाई यो कस्तो राजधर्म हो भनी प्रश्नसमेत गरेका छन् ।

शिवसेना नेता प्रियंका चतुर्वेदीले मुख्यमन्त्रीको कुर्सीको मजाक उडाइएको भन्दै रोष प्रकट गरेकी छन् ।

श्रीकान्त शिन्देको भाइरल तस्बिरको पछाडि महाराष्ट्र सरकार, मुख्यमन्त्रीको बोर्ड राखिएको छ र शिवसेनाका संस्थापक बाला साहेब ठाकरेको तस्बिर पनि राखिएको छ।

यद्यपि, श्रीकान्त शिन्देले उक्त तस्बिर मुख्यमन्त्री कार्यालयको नभएर निवासको भएको बताएका छन् । उनका अनुसार, एकनाथ कतिपय आधिकारिक भर्चुअल बैठकमा निवासबाटै सहभागिता जनाउने गरेका छन् । त्यसैले मुख्यमन्त्रीको कार्यालयजस्तै गरी निजी निवासमा पनि संरचना बनाइएका छन् ।

उनले भने, ‘मेरो बुबा १८ देखि २० घण्टा काम गर्नुहुन्छ । विगतका मुख्यमन्त्रीजस्तो उहाँ एकै ठाउँमा बस्नुहुन्छ । कहिले कार्यालय त कहिले निवास पुगिरहनु भएको हुन्छ । मुख्यमन्त्री र म दुवैले यो कार्यालय जनतालाई भेट्न र उनीहरूको गुनासो सुन्न प्रयोग गर्छौं। म मुख्यमन्त्रीको सरकारी निवास वा कार्यालयमा थिइनँ । पछाडि राखिएको बोर्ड हटाउन सकिन्छ।’