NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

‘उपभोक्ताको हकअधिकार संरक्षण सरकारको प्राथमिकतामा परेन’

काठमाडौं । सरकारले स्वच्छ बजार कायम गर्न प्रभावकारी अनुगमन गर्न नसकेको उपभोक्ता अधिकारवादी सङ्घसंस्थाको भनाइ छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष एवं उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना सरकार जिम्मेवार नहुनु, व्यवसायी इमान्दार नहुनु र उपभोक्ता आफ्नो अधिकारका लागि खबरदारी गर्ने अवस्थामा नआउँदा बजार अराजकतामा गएको बताउँछन् ।

दसैँ तिहार तथा छठको पूर्वसन्ध्यामा बजार अनुगमन, नियमन, आपूर्ति व्यवस्था, कार्टेलिङ र जम्माखोरी अन्त्यगरी उपभोक्ताको अधिकारलाई संरक्षण र प्रवद्र्धन गर्नका निमित्त सरकारी संयन्त्रले प्रभावकारी काम नगरेको उनको भनाइ छ । “बजारमा विभिन्न बहानामा उपभोक्तामाथि ठगी गर्नेक्रम बढिरहेको छ”, उनले भने, “विभिन्न बहानाबाजीमा उपभोक्ताको अनुहार हेरेर वस्तु र सेवाको मूल्य कायम भइरहेको छ ।”

सरकारसँग दैनिक उपभोग्य वस्तुको आपूर्ति, खपतको स्पष्ट तथ्याङ्क नहुँदा खाद्यवस्तुको मूल्य निर्धारण व्यापारीको हातमा पुगेको अधिकारकर्मीको भनाइ छ । “उपभोक्ताको हकअधिकार संरक्षण सरकारको प्राथमिकतामा परेन”, अधिकारकर्मी तिमिल्सिनाले भने, “उपभोक्ताको अधिकार संरक्षण गर्न स्थापना भएको विभागसँग स्रोतसाधन र जनशक्ति छैन, अहिले उत्साहप्रद बजार छैन ।”

संविधानको अनुसूची ६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय बजार अनुमगन र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ । तर कुनै स्थानीय सरकारले प्रभावकारीरुपमा बजार अनुमगन र नियमन गरेका छैनन् ।

स्थानीय बजार व्यवस्थापन तथा अनुमगन ऐन जारी भए पनि सो ऐन कार्यान्वयन गर्न सङ्घीय राजधानी रहेको काठमाडौं महानगरपालिका मौन रहेको उनको भनाइ छ । बजारलाई व्यवस्थित बनाउन स्थानीय सरकार र प्रदेश सरकारबीच पनि उचित समन्वयको अभाव रहेको तिमिल्सिनाको भनाइ छ ।

उपभोक्तामाथि ठगी गरेको पाइएपछि बजार अनुगमन तीव्र : कहाँ-कहाँ अनुगमन ?