NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत ६ गते

कांग्रेसको समानुपातिक सूचीमा संस्थापन देउवा र शेखर पक्षका कति–कति परे ?

काठमाडौं । कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकको लागि बुझाएको बन्दसूचीमा नेता, पारिवारिक निकटका आफन्तमात्रै होइन व्यापारीदेखि ठगी मुद्दाका आरोपसम्म अटाएका छन् । बन्दसूचीको प्राथमिकतमा दलीय उम्मेदवारलाई प्राथमिकता नदिएको आरोप खेपिरहेका बेला कांग्रेसले बुझाएको सूची सार्वजनिक भएको हो । जसमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा, गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसमेत छन् ।

यी मात्रै होइन प्रभावशाली नेताद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ पनि यो सूचीमा अटाएका छन् । अहिलेको पदाधिकारीमा सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार पनि अटाएका छन् ।

दलबाहिरका विवादित पनि सूचीमा

कांग्रेसलको बुझाएको बन्दसूचीमा व्यापारी पनि समेटिएका छन् । ११० जनाको क्रममा व्यापारी अनिल रुंगटाको नाम सात नम्बरमा समावेश छ । जबकी कतिपय उच्च योगदान भएका नेताहरूलाई प्राथमिकतमा निक्कै पछाडि पारिएको छ । कांग्रेसको सूचीमा नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेशकुमार कनोडिया पनि छन् ।

यी मात्रै होइनन् ठगी मुद्दामा जोडिएका खुमाप्रसाद अर्याल पनि सूचीमा छन् । उनी पनि गण्डकी मेडिकल कलेज सञ्चालक हुन् ।
२०७० मा व्यापारीसँग करोडौं पैसा लिएर समानुपातिक सांसद बनाउन खोजेपछि विरोध भएको थियो । विराेधपछि उनीहरूले पार्टीमा बुझाएको पैसा फिर्ता गरेर सांसद बनाउनबाट रोकिएको थियो ।

तर यसपटक केही विवादित र व्यापारी अनुहारलाई कांग्रेसले समानुपातिकमा अवसर दिएको हो । अर्यालविरुद्ध ठगी मुद्दामा अदालतले पक्राउ पुर्जी नै जारी गरेको थियो । तर सुरुमा छल्दै पछि अदालतमा उपस्थिति भएर १७ लाख धरौटी बुझाएर निस्किएका थिए । कतिसम्म भने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारसमेत यो सूचीमा अटाएका छन् । जाे पत्रकारिता गर्दा गर्दै प्रधानमन्त्रीकाे प्रेस हेरेकै अाधारमा सिफारिस हुँदै दलित काेटाबाट समानुपातिक सांसदकाे बाटाेमा अघि बढेका हुन् ।

किन असन्तुष्ट छ शेखर पक्ष ?

सभापति शेरबहादुर देउवाले एकलौटीरुपमा आफू निकटकालाई मात्रै समावेश गरेर सूची बुझाएपछि डा. शेखर कोइराला समूहले तीव्र असन्तुष्टि जनाएको छ । ११० जनामा शेखर पक्षले कम्तिमा ४० प्रतिशत दाबी गरेको थियो । तर १४ जना पनि नपरेपछि उनीहरू क्रुद्ध छन् ।

जीवन परियार, चन्द्रमोहद यादव, प्रतिमा गौतम, रमा कोइराला पौडेल, रोमी गौचन थकालीसहितका मात्रै नाम चलेका अनुहार शेखर पक्षका हुन् । शनिबार काठमाडौंमा भेला नै गरी यस्तो सूची अस्वीकार गर्ने चेतावनी दिएका थिए । यतिमात्रै होइन समानुपातिक सूची सच्चाएर प्रत्यक्षमा पनि सम्मानजनक भागबण्डा नगरिए निर्वाचनमा असहयोग गर्नेसम्मको चेतावनी यो पक्षले दिएको छ ।

बन्दसूचीबाटै कांग्रेसले समानुपातिक सांसद छान्ने हो । ११० मा अहिले नै शेखर पक्षले १३/१४ जनामात्रै संख्या पाएको छ । कांग्रेसले ४० सिट जित्दा शेखर पक्षका सबै जना परे पनि ३२ प्रतिशत हाराहारी मात्रै हुन्छन् । तर बन्द सूचीमा पारिएका सबैको नाम शेखर पक्षबाट पर्ने सम्भावना निक्कै कम छ । यस्तोमा ३२ बाट पनि आफूहरूको प्रतिनिधित्व घट्ने भएपछि शेखर पक्ष यतिखेर आक्रोशित छ ।

१४ औं महाधिवेशनमा ४० प्रतिशत मत पाएपछि यो पक्षले पार्टीका हरेक निर्णयमा कम्तिमा ४० प्रतिशत हिस्सा खोज्दै आएको छ । तर संस्थापन पक्षले बेवास्ता गरेपछि चिढिंदै आएको छ । यस्तै रवैया रहे समानान्तर समिति चलाउनेसम्मको चेतावनी दिए पनि संस्थापन पक्ष टसको मस भएको छैन ।

‘पार्टी भनेको एकलौटी र सनकमा चलाउने कुरा होइन । सबैको भावना र हिस्साले मात्रै पार्टी चल्छ । गुटलाई बलियो बनाउन खोज्दा पार्टी बलियो हुँदैन’ शेखर पक्षका एक नेता भन्छन्, ‘समानुपातिकमा विवादास्पद र पहुँचवाला आफन्त समेट्ने तर वास्तविक हिस्सा नै नसमेटेपछि यो कसरी न्यायोचित हुन्छ ?’ गलत निर्णय नसच्याए आगामी निर्वाचनमा पार्टीले गम्भीर क्षति भोग्ने पनि ती नेताले चेतावनी दिए ।

यस्ताे छ समानुपातिक सूची