NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सात पार्टीका सात अध्यक्षले २०७४ सालमा कति मत ल्याएर चुनाव जितेका थिए ?

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयन दर्ता हुन अब केही दिन मात्रै बाँकी छ । निर्वाचन कार्यतालिका अनुसार दलहरूले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची असोज २ र ३ गते निर्वाचन आयोगमा बुझाइसकेका छन् । प्रत्यक्षतर्फका उम्मेदवारहरूको उम्मेदवारी दर्ता गर्ने समय असोज २३ गतेलाई तोकिएको छ ।

उम्मेदवार छनोटका लागि दलहरू आन्तरिक तथा अन्तरपार्टी छलफलमा व्यस्त छन् । संघमा २७५ र प्रदेशमा ५३० सदस्यका लागि हुन लागेको निर्वाचनमा पाँचदलीय गठबन्धन र एमालेबीच मूख्य प्रतिस्पर्धा हुने देखिन्छ । यसमा प्रतिननिधिसभाका १६५ र प्रदेशसभासका ३३० क्षेत्रमा प्रत्यक्ष चुनाव हुँदैछ । ११० प्रतिनिधिसभा र २२० प्रदेशसभा सदस्य समानुपातिकबाट छानिन्छन् ।

यसपटक स्वतन्त्रमा उम्मेवदारी दिनेको संख्या बढ्ने देखिएको छ । २०७४ मा भएको निर्वाचनमा वामगठबन्धन र कांग्रेसबीच रोचक प्रतिस्पर्धा भएको थियो । वामपन्थी दलहरूले देशभर अत्याधिक मत ल्याउँदा कांग्रेस २३ सिटमा खुम्चिएको थियो । योपटक परिस्थिति फेरिएको छ । अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल रहेको एमाले अहिले विभाजित अवस्थामा छ ।

उसले गठबन्धनबाहेकका दलहरू राप्रपा, लोसपासँग चुनावी तालमेलको प्रयास गरिरहेको छ । कांग्रेसले माओवादी, एकीकृत समाजवादी, जसपा लगायतका दलहरूसँग गठबन्धन गरी एमालेसँग प्रतिस्पर्धा गर्न लागेको छ । मधेशकेन्द्रित दलहरूसमेत योपटक विभाजित भएका छन् । आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलेसमेत एमाले र गठबन्धनलाई चुनौती दिने देखिन्छ ।

निर्वाचन तयारीसँगै परम्परागत राजनीतिक दलका शीर्ष नेताहरूकोे निर्वाचन क्षेत्रलाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ । एमालेलाई अघिल्लो विरासत जोगाउन आन्तरिक र बाह्य चुनौती थपिएको छ । कांग्रेसलले आन्तरिक शक्ति सन्तुलन कायम राखि गठबन्धनको सहयोगमा ठूलो दल बन्न लक्ष्य लिएको छ । तर यो कम चुनौतीपूर्ण भने छैन ।

आइतबारदेखि प्रदेशतर्फको भागबण्डामा जुटेका गठबन्धनका शीर्ष नेताहरू अहिलेसम्म कुनै सहमति पुग्न सकेका छैनन् । यद्यपि अघिल्लो निर्वाचनमा जस्तै योपटक पनि परम्परागत दलका उम्मेदवारहरूकै हालिमुहाली हुने देखिन्छ । पार्टी प्रमुखदेखि प्रधानमन्त्री पनि यिनै शीर्ष नेताबाटै बन्ने नेपालको इतिहास छ । धेरैपटक यस्तो भूमिकामा बसे पनि शीर्ष नेताले फेरि पनि आफूलाई केन्द्रमा राखेर चुनावमा होमिने तयारी गरेका छन् । किनकी राष्ट्रपति, प्रधानमन्त्रीसहितका शक्तिशाली पदमा यिनै शीर्ष नेताको लगाम र पकड अझै हटिसकेको छैन ।
नजिकिंदो निर्वाचन निर्वाचनको पूर्वसन्ध्यामा यी नै शीर्ष नेताहरूले ०७० र ०७४ मा पाएको मतपरिणामलाई हामीले केलाउने प्रयास गरेका छौं

केपी ओली : २८ हजार ८८२ मतान्तरले विजयी

समकालीन राजनीतिका चतुर खेलाडी रहेका एमाले अध्यक्ष केपी ओली आफ्ना कट्टर विरोधी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सहकार्य गरी गत निर्वाचन लडेका थिए । कुनै बेला एक अर्काको उछित्तो काढेर नथाक्ने यी दुई नेताहरूको सहकार्य र पार्टी एकता हुन्छ भनेर कसैले कल्पनासमेत गरेका थिएनन् । तर ओलीले प्रचण्डकै सहयोगमा शक्तिशाली प्रधानमन्त्री बन्न सफल भए ।

झापाको क्षेत्र नं. ५ बाट निर्वाचन लडेका ओलीले आफ्नो जितलाई सुनिश्चित गर्न राप्रपासँगसमेत चुनावी तालमेल गरेका थिए । देशभर माओवादीसँग सहकार्य गरेका ओलीले झापा क्षेत्र नं. ३ का राप्रपा नेता राजेन्द्र लिङ्देनसँग सहकार्य गरेका थिए । ०७४ निर्वाचनमा ओली ५७ हजार १३९ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिए । जम्मा ९१ हजार ३९५ मत सदर हुँदा ओलीले २८ हजार ८८२ मतान्तरले जितेका थिए ।

त्यस्तै ओली ०७० को दोस्रो संविधान सभा निर्वाचनमा झापा–७ बाट १९ हजार २८७ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेशकुमार योङगया ११ हजार ४१ मत पाएका थिए ।

त्यस्तै राप्रपाका रामकुमार थापाले ९ हजार ३३५ र माओवादी गोपाल किराँती ८ हजार ८०२ मत पाएका थिए । ०६४ को संविधानसभा निर्वाचनमा ओली झापा ७ बाट माओवादीका विश्वदीप लिङदेनसँग पराजित भएका थिए । आसन्न निर्वाचनमा पनि उनी साविक क्षेत्रबाट नै चुनावी प्रतिस्पर्धा गर्न लागेका छन् ।

शेरबहादुर देउवा : ६ हजार ९४८ मतान्तरले विजयी

राज्यसत्ता सञ्चालमा चतुर र माहिर खेलाडी मानिएका प्रधानमन्त्री देउवा २०७४ मा डडेल्धुरा १ बाट २८ हजार ४४६ मत ल्याइ विजयी भएका थिए । उनका निकटमत प्रतिद्वन्द्वी माओवादीका खगराज भट्टले २१ हजार ४९८ मत ल्याएका थिए । देउवा ६९४८ मतान्तरले विजयी भएका थिए । ०७० मा २३ हजार ९२० ल्याइ देउवा निर्वाचित भएका थिए । माओवादीका भट्टले १२ हजार ४९३ मत पाएका थिए । एमालका ताराप्रसाद जोशी ७ हजार १९० मत पाएका थिए । ०४८ देखि अपराजित यात्रा तय गरेका देउवा योपटक पनि निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् । माओवादीसँग गठबन्धन भए देउवा अझै ढुक्क हुनेछन् । तर कुनै समय आफ्ना विश्वासपात्र रहेका पूर्व सभापति कर्ण मल्लसँग देउवाको सम्बन्ध बिग्रिएको छ । एमालेसँग मिलेर स्थानीय तहको निर्वाचनमा कर्ण अघि बढेपछि फेरि पनि एमालेसँगै मिलेर देउवाविरुद्ध उम्मेदवारी दिने चेतावनी उनले दिएका छन् । यसैले देउवा यसपटक तनावमा पर्न सक्नेछन् ।

प्रचण्ड : ९ हजार ३४१ मतान्तरले विजयी

सशस्त्र विद्रोह त्यागी ०६३ मा शान्तिपूर्ण राजनीतिमा आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समकालीन राजनीतिमा चलाख र कुटील नेताको रुपमा परिचित छिन् । ओलीले त प्रचण्डलाई राष्ट्रिय समस्या नै भएको टिप्पणी गर्दै आएका छन् । ०७४ मा ओलीसँग मिलेर प्रचण्ड शक्तिशाली पार्टीको अध्यक्ष भए । तर अध्यक्षद्वयको टकरावले प्रचण्डले ओलीसँगको सहकार्यलाई निरन्तरता दिन सकेनन् । द्वन्द्वका कारण प्रचण्ड कांग्रेससँग टाँस्सिन पुगे । प्रचण्डले नै पार्टी फुटाएको आरोप एमालेका नेताहरूले लगाउँदै आएका छन् । कहिले काठमाडौं, कहिले रोल्पा, कहिले सिराहा त कहिले चितवनबाट निर्वाचन लड्दै आएका छन् । उनी योपटक चितवनबाट नै निर्वाचन लड्छन् वा अन्यन्त्र जालान् भन्नेमा धेरैले चासो दिएका छन् ।

२०७४ मा चितवन–३ बाट प्रचण्ड ४८ हजार २७६ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए । प्रचण्ड ९३४१ मतान्तरले विजयी भएका थिए । पाण्डेलाई कांग्रेसले सहयोग गरेको थियो । २०७० मा काठमाडौं–१० र सिराहा–५ बाट निर्वाचन लडेका उनी सिराहाबाट १५ हजार २४४ ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले लिलानाथ श्रेष्ठ १४ हजार ३२३ मत ल्याएका थिए । तर एमालेले निर्वाचन परिणामलाई अहिलेसम्म स्वीकार्न सकेको छैन ।

झिनो मतान्तरले श्रेष्ठलाई पराजित गरेका प्रचण्डलाई मतपेटिका साटेर निर्वाचन जितेको आरोप एमालेले लगाउँदै आएको छ । काठमाडौंमा कांग्रेस नेता राजन केसीसँग ठूलो मतान्तरले प्रचण्ड पराजित भएका थिए । केसीले २० हजार ३९२ मत ल्याइ विजयी हुँदा उनले १२ हजार ८५९ पाएका थिए । ०६४ को निर्वाचनमा काठमाडौं–१० र रोल्पा–२ बाट प्रचण्डले अत्याधिक मत ल्याइ विजयी भएका थिए । आगामी निर्वाचनमा उनी चितवन–३ बाटै उम्मेदवारी दिने तयारी गरेका छन् ।

माधवकुमार नेपाल : १२ हजार ३६३ मतान्तरले विजयी

एकीकृत समाजवादीका अध्यक्ष रहेका माधवकुमार नेपाल गत निर्वाचनमा काठमाडौं–२ बाट २७ हजार २६६ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस दीपकप्रकाश कुँइकेलले १४ हजार ९०३ मत ल्याए । नेपालले १२ हजार ३६३ मतान्तरले जितेका थिए ।
विवेकशील साझा डा. सूर्यराज आचार्य ७ हजार ४३७ ल्याइ तेस्रो भएका थिए । त्यस्तै ०७० को निर्वाचनमा नेपालले काठमाडौं–२ र रौतहट–१ बाट निर्वाचन जितेका थिए । काठमाडौंमा २१ हजार ७४८ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रतिमा गौतमले १२ हजार ४७५ मत ल्याएकी थिइन् । माओवादीका लिलामणि पोखरेल ७ हजार १५४ मत ल्याएका थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ र रौतहट क्षेत्र नम्बर ६ मा पराजित भएपछि नेपाल काठमाडौंबाट चुनाव लड्दै आएका छन् । योपटक पार्टी विभाजन भएकाले उनी रौतहट–१ बाट निर्वाचनमा उठ्ने तयारी गरेका छन् । स्थानीय तह निर्वाचनमा अन्यन्त्र निराशाजनक नतिजा हात पार्दा नेकपा एसले रौतहटबाट राम्रो परिणाम ल्याएको थियो । एमालेसँग विद्रोह गरी नयाँ पाटी खोलेका नेपालले काठमाडौंमा जनाधार नरहेको र गठबन्धनबाट नै धोका हुन सक्ने डरका कारण नेपाल मधेश जान लागेका हुन् ।

बाबुराम भट्टराई : ६ हजार ८७४ मतान्तरले विजयी

माओवादी जनयुद्धका योजनाकारसमेत रहेका बाबुराम अहिले आफ्नै पार्टीबाट निष्कासित भएपछि माओवादी केन्द्रसँग कुम जोड्न आइपुगेका छन् । आगामी निर्वाचनपछि पार्टी एकताको मुडमा पुगेका उनी माओवादीकै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिन लागेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले ०७२ को नयाँ संविधान जारी भएपछि माओवादी त्यागेका थिए । वैकल्पिक नयाँ शक्ति निर्माण गर्ने भन्दै भट्टराईले नयाँ शक्ति पार्टी खोलेका थिए । तर गत निर्वाचनमा १ सिटमा खुम्चिएका उनी निर्वाचनपछि उपेन्द्र नेतृत्वको संघीय समाजवादी फोरमसँग विलय हुन पुगेका थिए ।

संघीय समाजवादी हुँदै जसपाका संघीय परिषद अध्यक्ष बन्न सफल भए । पाटीभित्र उपेन्द्रले एकलौटी गरेको आरोप लगाउँदै यादवलाई निष्कासन गर्नेसम्मको योजना बनाएका भट्टराई अन्ततः पुरानो घर माओवादीमै ओत लाग्न आइपुगेका हुन् ।
०७४ मा गोरखा–२ बाट भट्टराई ३१ हजार ८०७ मत ल्याइ निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका नारायणकाजी श्रेष्ठले २४ हजार ९३३ मत पाएका थिए । भट्टराई ६८७४ मतान्तरले विजयी भएका थिए । भट्टराईलाई कांग्रेसले साथ दिएको थियो । श्रेष्ठलाई एमालेले साथ दिएको थियो । भट्टराई यसअघि २०७० र २०६४ को संविधानसभा निर्वाचनमा विजयी भएका थिए । योपटक आफ्नो निर्वाचन क्षेत्र र उम्मेदवारी दिनेबारे अहिलेसम्म मुख खोलेका छैनन् ।

उपेन्द्र यादव : १० हजार ४० मतान्तरले विजयी

पटकपटक टुटफुट र विभाजनको पीडा खेपेका जसपाका कार्यकारीणी अध्यक्ष उपेन्द्र यादव गत निर्वाचनमा सप्तरी–२ बाट २१ हजार ६२० मत ल्याइ विजयी भएका थिए । उनी त्यतिबेला संघीय समाजवादी फोरमबाट उम्मेदवार थिए । उनका निकटतम प्रतिद्वन्द्वी उमेशकुमार यादवले ११ हजार ५८० मत पाएका थिए । यादव १० हजार बढी अन्तरले निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४५९ मत पाएका थिए । त्यस्तै कांग्रेसका सकलदेव सुतिहारले १ हजार ८४० मत पाएका थिए । आगामी निर्वाचनमा पनि उनी साविक क्षेत्रबाट नै सर्वसम्मत सिफारिस भएका छन् । योपटक उनलाई जनमत पार्टीका अध्यक्ष डा.सिके राउनले चुनौती दिने देखिन्छ ।

राजेन्द्र लिङ्देन : १३ हजार ४४३ मतान्तरले विजयी

देशभर एमाले र माओवादीबीच चुनावी तालमेल भएको अवस्थामा झापामा भने एमाले र राप्रपाका नेता राजेन्द्र लिङ्देनबीच अनौठो गठबन्धन भएको थियो । एमालेसँगको तालमेलबाट लिङदेन संघीय संसदमा झापा–३ बाट निर्वाचित भएका थिए । लिङ्देन ४४ हजार ६१४ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद सिटौलाले ३१ हजार १७१ मत पाए । कांग्रेसका प्रभावशाली नेता सिटौलालाई पराजित गरी चर्चामा आएका उनी मंसिरमा भएको राप्रपाको महाधिवेशनमा आफ्नै नेता कमल थापालाई पराजित गरेपछि झन् बढी चर्चित हुन पुगे । थापालाई पराजित गरी राप्रपाको कमाण्ड सम्हालेपछि उनको राजनीतिक हाइट ह्वात्तै बढेको छ ।

०७० को संविधानसभा निर्वाचनमा लिङ्देन सिटौलासँगै पराजित भएका थिए । सिटौलाले १४ हजार ३५५ मत ल्याए विजयी हुँदा उनले ९ हजार २५३ मत पाएका थिए । त्यस्तै एमालेका बसन्तकुमार बानियाँले ६ हजार ४६२ र माओवादीका धर्मशीला चापागाईंले ६ हजार २१७ मत ल्याएका थिए । ०७० र ०६४ को संविधान सभा निर्वाचनमा उनले सुनसरी–५ बाट निर्वाचन जितेका थिए । योपटक पनि एमालेसँग चुनावी तालमेल गर्ने तयारी गरेका छन् । अहिलेसम्म एमालेसँगको गठबन्धनबारे दुवै दलले मुख खोलेको छैनन् ।