NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

सन्दीप लामिछाने आइसोलेसनमा, निको भएलगत्तै नेपाल फर्कने

काठमाडौं । नाबालिकामाथि करणी गरेको आरोप लागेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आफू नेपाल नफर्किनुको कारणबारे लामो प्रष्टीकरण दिएका छन् ।

आरोप लागेको भोलिपल्ट सामाजिक सञ्जालमा लामो प्रष्टीकरण लेख्दै सन्दीपले छिट्टै नेपाल फर्किएर कानूनी उपचार खोज्ने बताएका थिए ।  तर उनी त्यस्तो स्ट्याटस लेखेपछि लामो समय सम्पर्कविहीन भएका थिए । सन्दीप स्वदेश नफर्किएकाबारे अनेक अनुमान र अडकल भइरहेका बेला उनले  झुटा जाहेरीले मानसिक तनावमा परेको र त्यसका कारण उत्पन्न अन्य स्वास्थ्य समस्याले आइसोलेसनमा बसेर उपचार गरिरहेको बताएका छन् ।

लामिछानेले झुट्टा मुद्दाका भरमा सञ्चारमाध्यम, सामाजिक सञ्जालमा चरित्र हत्या हुँदा के गर्ने, नगर्ने भनेर सोच्नै नसक्ने गरी आफू मानसिक रूपमा विक्षिप्त बनेको गुनासो गरेका छन् । यही कारण अनेक  मानसिक तथा शारीरिक समस्याले सताएको र अहिले आइसोलेसनमा उपचचाररत रहेको उनको भनाइ छ ।

‘मविरुद्द भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ। मविरुद्द परेको झुट्टा जाहेरीको विषयमा विद्युतिय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझि झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरु आए। मेरो नाउँमा वारेण्ट जारी भएको समाचार र मविरुद्द परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रूपमा विछिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन,’ लामिछानेले लेखेका छन्, ‘यी सबै कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्कातिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु।’

लामिछानेका अनुसार, अहिले स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।  स्वास्थ्य समस्या हल हुनेबित्तिकै नेपाल फर्किएर आफूविरुद्ध लागेका झुटा मुद्दाको सामना गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । तर मितिबारे भने केही खुलाएका छैनन् । पछिल्लो समय सन्दीप नेपाल नफर्किएर विदेशमै लुक्न सक्ने अनुमान भइरहेका थिए ।

‘झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शाररीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगी डाक्टरहरूको सरसल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर मविरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’

सन्दीपले क्रिकेटको माध्यमबाट देशको सेवा गर्दागर्दै पनि षड्यन्त्रको शिकार भएको दाबी गर्दै चित्तसमेत दुखाएका छन् । उनले आफ्नो समर्थनमा रहेका शुभेच्छुकप्रति पनि आभार प्रकट गरेका छन् ।