NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

देश दुःखमा पर्दा भ्रमणमा निस्किएको भन्दै पाकिस्तानीले घेरे लण्डन मन्त्री

काठमाडौं (एजेन्सी) । विदेश भ्रमण भनेपछि हुरुक्कै हुने प्रवृत्ति हाम्रा मन्त्रीदेखि कर्मचारीसम्ममा छ । कतिपय भ्रमण त देशकाल र परिस्थिति नहेरी गरिएको पाइन्छ । देशको अवस्था विचार नगरी बेलायत भ्रमणमा निस्किएकी एक पाकिस्तानी मन्त्री त्यही आफ्ना देशका नागरिकको आक्रोसको तारो बनेकी छन् ।

बाढी र पहिरोको चपेटामा देशका नागरिक परिरहेका बेला विदेश भ्रमणमा जाने पाकिस्तानकी सूचना मन्त्री मरियम औरंगजेबलाई लण्डनको एउटा कफी सपमा पाकिस्तानीले घेरेका हुन् । त्यसक्रममा उनीहरू मन्त्रीविरुद्ध नाराबाजीसमेत गरे  ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा लण्डनमा बस्ने पाकिस्तानी नागरिकले मन्त्रीविरुद्ध नारा लगाएको देख्न सकिन्छ । त्यसक्रममा कतिपयले औरंगजेबलाई ‘चोर्नी’ भनेर पनि सम्बोधन गरेका थिए । घेराबन्दी गरेर नाजाबाजी गरिए पनि उनी भने प्रतिक्रियाविहीन भएर मोबाइल चलाउँदै बसेकी थिइन् ।

भिडियो सार्वजनिकपछि औरंगजेबले एक ट्विट गर्दै त्यसलाई इमरान खानको घृणा र विभाजनकारी विषाक्त सोचको प्रभाव भनेकी छन् ।

‘यो इमरान खानको घृणा र विभाजनको राजनीतिको विषाक्त प्रभाव हो, जुन हाम्रा दाजुभाइ र दिदीबहिनीहरूमा देखिन्छ। मैले रोकिएर तिनले गरेका हरेक प्रश्नको जवाफ दिएँ । दुःखको कुरा के छ भने उनीहरू इमरान खानको प्रचारको सिकार भएका छन् । हामी इमरान खानको विषाक्त राजनीतिको विरोध गर्नेछौं र जनतालाई एकताबद्ध गर्न काम गर्नेछौं,’ उनले ट्विटरमा लेखेकी छन् ।

पाकिस्तानी समाचार संस्था एआरवाई न्यूजका अनुसार केही पाकिस्तानीहरूले पूर्वप्रधानमन्त्री नवाज शरिफको घरबाहिर पनि विरोध प्रदर्शन गरेका छन्। पूर्वप्रधानमन्त्री शरिफको लन्डनमा घर छ ।