NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

गोरखा दरबारको दशैँघरमा जमरा राखियो

गोरखा । गोरखाको कालिका मन्दिरमा रहेको दशैंघरमा आज बिधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दशैंघरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए ।

परम्पराअनुसार बिहान सबेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाईतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उनले बताए ।

मूल दरबारको कैलास कोठाबाट भित्री बाटो हुदै देवी भगवतीको सवारी गराएर कैलास कोठामा बिधि पूर्वक पूजाआजा गरी जमरा राखिएको र त्यस राख्नुअघि मूलदरबारमा पानी घडी थपना गरी घटस्थापना गरिएको प्रमुख भुसालले जानकारी दिए । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दुधर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदै आएको छ ।

बडादशैमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्रतिपदा शुरु भएसँगै कालिका मन्दिरमा नियमित कालाको बोका बलिदिने प्रचलन छ ।

यसैगरी गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिए ।मनकामना मन्दिरमो मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उनले बताए ।

परम्परा अनुसार बिगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नु पर्ने भएका कारण नित्य पूजा गरी जमरा राखिएको मूलपुजारी थापाले जानकारी दिए । गणेश र कलस स्थापना गरेर दुवै ठाउँमा जमरा राखिएको उनको भनाइ थियो ।