NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत ६ गते

कुखुरापालनबाटै वार्षिक ४० लाख आम्दानी

मोरङ । मोरङको सुन्दरहरैँचा–९ स्थित प्रगति टोलका किसान एनकुमार गिरीले १० वर्षदेखि व्यावसायिक कुखुरापालन गरेका छन् । उनले यसबाटै राम्रो कमाइसमेत गरेका छन् ।

एनी एन्जल कृषि फार्म प्रालि दर्ता गरेर १५ कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा ४० लाख आम्दानी गर्न सफल भएको गिरीले बताए ।

दुई करोड लगानीमा फार्म सञ्चालन गरेका गिरीले अहिले लेयर्स जातका कुखुरा पालेका छन् । ‘स्वदेशमै बसेर केही आयआर्जन गर्ने सोचमा भएकोले सुरूमा ऋण लिएर कुखुरा फार्मका लागि जग्गा जोडेको थिएँ, अहिले यही पेसाबाट बैंकको ऋणसमेत तिर्न सफल भएँ,’ गिरीले सुनाए ।

बिबिएस पास गरेका उनी आयुर्वेदका ज्ञातासमेत हुन् । कृषिमा ठूलो सम्भावना देखेर रहरले सुनसरीको तरहराबाट सुन्दरहरैँचा आएर व्यावसायिकरूपमा कुखुरापालन गरेकोमा यसबाट आफू खुशी भएको उनले सुनाए ।

फार्ममा दैनिक पाँच हजार अन्डा उत्पादन हुन्छ । अन्डा प्रतिगोटा ११ मा फार्ममै बिक्री हुन्छ भने पूर्वी नेपाललगायत विभिन्न स्थानमा थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको किसान गिरीले उल्लेख गरे । लेयर्सजातको कुखुरा अण्डा र मासुका लागि उपयुक्त मानिन्छ ।

कुखुराको सुली ९मल० बाट समेत राम्रो आम्दानी हुने गरेको उहाँले बताए । प्रतिबोरा तीन सयमा फार्मबाट सुली बिक्री हुने गरेको गिरीले सुनाए । दुई वटा ठूला ठूला कटेरोमा  कुखुरा पालिएको छ । कुखुरापालनसँगै बाख्रासमेत पालेर उनले आफ्नो कृषि पेसा अगाडि बढाएका छन् । उनले उन्नत बोयर  जातका ५० भन्दा बढी बाख्रा पालेका छन् । ‘कृषिमा सम्भावना धेरै छ, जाँगर चलाउँदै तरिका पु¥याएर काम गर्दा नाफा हुन्छ, उनी भन्छन् ।

कुखुरालाई बेलाबखत लाग्ने रोगले भने सताउँछ । त्यस्तै कहिलेकाहीँ बिचौलियाले गर्दा उचित मूल्य नपाउने गुनासो पनि उनले सुनाए ।

सुन्दरहरैँचा नगरपालिका–९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले यस नगर क्षेत्रमा कृषिका लागि धेरै सम्भावना र अवसर भएको बताए । उनले गिरीले गर्नुभएको कृषि कार्य उदाहरणीय भएको बताए । ‘उद्यमशील किसानलाई  सरकारले आवश्यक सहयोग गर्न जरूरी छ,’ उनले भने ।