NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रवीन्द्र मिश्रले दिए विवेकशील साझाको साधारण सदस्यबाट पनि राजीनामा

काठमाडौं । राप्रपा प्रवेशको तयारीमा रहेका रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनको लज्जास्पद परिणामपछि नैतिकताको आधारमा राजीनामा दिएका मिश्रले सोमबार साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

एक वर्षदेखि नेपालमा बृहत र विश्वासिलो नरम संवर्द्धनवादी राष्ट्रवादी शक्ति निर्माणका लागि आफूले गरेको प्रयासले मूर्त रूप लिने देखिएकाले विवेकशील साझाको साधारण सदस्यबाट समेत राजीनामा दिन लागेको मिश्रले जनाएका छन् ।

मिश्र लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशका लागि संवादमा छन् । सो पार्टीले सोमबार मात्र औपचारिक रूपमा मिश्रलाई पार्टीमा भित्राउने निर्णय गरेको छ ।

‘झण्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ) राष्ट्रवादी शक्तिको निर्माणका लागि म राजनीतिक ध्रुवीकरणको प्रयासमा लागेको यहाँलाई विदित नै छ। अन्ततोगत्वा सो प्रयासको पहिलो महत्त्वपूर्ण पाइलाले मूर्त रूप लिने देखिएको छ। त्यसका लागि मैले पार्टी नै परिवर्तन गर्नु पर्ने भएकोले आजकै मितिदेखि लागू हुने गरि मैले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु,’ मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् ।

आफैंले निर्माण गरेको राजनीतिक दलबाट अलग हुने यो निर्णयलाई मिश्रले जीवनकै एउटा कठिनतम निर्णयसमेत भनेका छन् । लामो गृहकार्यपछि आफैँले नेतृत्व गरेको साझा, र पछि, विवेकशील साझा पार्टीलाई, मार्ग परिवर्तन गरेर, फरक दृष्टिकोण बोक्ने साथीहरूको जिम्मा लगाउँदै ‘घर’ छोडेर हिँड्नु सहज विषय नभएको मिश्रको भनाइ छ ।

‘यो मेरालागि जीवनकै एउटा सबैभन्दा कठिनतम निर्णय हो। लामो गृहकार्यपछि आफैँले नेतृत्व गरेको साझा, र पछि, विवेकशील साझा पार्टीलाई, मार्ग परिवर्तन गरेर, फरक दृष्टिकोण बोक्ने साथीहरूको जिम्मा लगाउँदै ‘घर’ छोडेर हिँड्नु निश्चय पनि सहज विषय होइन,’ मिश्रले भनेका छन्, ‘राजनीति र पार्टीको प्रधान उद्देश्य राष्ट्रहित हो। सो परिप्रेक्ष्यमा गत पाँच वर्षमा मैले यो देशका लागि जे अत्यावश्यक छ भन्ने सम्झिएँ, त्यो विश्वासलाई मार्नु उचित नहुने ठानेँ। मेरो मार्ग परिवर्तन र राजीनामा त्यसैको परिणाम हो।’