NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नेपाली रूपैयाँ किन बन्यो हालसम्मकै कमजोर ?

काठमाडौं ।अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु) हालसम्मकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउ निरन्तर रूपमा उकालो लागेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको हो । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३०.९० रुपैयाँ (बिक्रीदर) तोकेको छ ।

सोही अवधिमा एक अमेरिकी डलरको खरिद दर १३०.३० रुपैयाँ तय गरेको छ । यो हालसम्मकै उच्च हो । पछिल्लो एक महिनायता गत शुक्रबार नयाँ रेकर्ड बनाएको डलरको भाउले त्यसयता हरेक दिनजसो नयाँ उचाइ बनाउँदै आएको छ ।

यसअघि गत साउन ५ मा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ रुपैयाँ पुगेको थियो । त्यसपछि घट्न थालेको विनिमय दर गत साउन १८ मा १२६.२५ रुपैयाँसम्म झरेको थियो । त्यसयता डलरको भाउ फेरि उकालो लाग्न थालेको छ । यसअनुसार गत शुक्रबार डलरको भाउ १२९.६८ रुपैयाँ र शनिबारदेखि सोमबारसम्म १२९.८९ रुपैयाँ पुगेको थियो । राष्ट्र बैंकका अनुसार ०७८ असार मसान्तको तुलनामा ०७९ असारसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७ प्रतिशतले अवमूल्यन भएको थियो । तर, ०७९ असार मसान्तको तुलनामा गत साउनमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको थियो ।

पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घटेको जानकारहरू बताउँछन्  । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । सोमबार साँझ १० बजे (नेपाली समय) सम्म एक अमेरिकी डलरको विनिमय दर भारु ८१.६० पुगेको थियो । गत शनिबार यस्तो दर भारु ८१.११ रहेको थियो । पछिल्ला महिनाहरूमा अमेरिकी अर्थतन्त्रमा सुधारका संकेत देखिएकाले अमेरिकी डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।