NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

लोकसेवाको प्रश्नमा उपमहालेखा नियन्त्रक विष्णुहरि बरालको समाधान

काठमाडौं । जनतामा विश्वास देखिन्छ–लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा उपमहालेखा नियन्त्रक विष्णुहरि बरालले कोभिड–१९ को महामारीबाट सिर्जित अवसर र सिकाइबारे प्रश्नको समाधान पहिल्याउनुभएको छ ।

नेपालमा कोभिड-१९ बाट सिर्जित अवसर तथा सिकाइहरू उल्लेख गर्दै यस्तै किसिमका विपत्तिपूर्ण र संकटजन्य अवस्थामा उत्थानशिल समाजको निर्माण गर्न आगामी दिनमा के कस्तो रणनीति लिनुपर्लारु आफ्नो धारणा व्यक्त गर्नुहोस। १५

चीनको वुहान हुँदै विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ बाट ठुलो धनजनको क्षति भयो। सामाजिक, आर्थिक, राजनैतिक, प्रशासनिक, वातावरणीय र प्राविधिक क्षेत्र प्रभावित भयो।नेपालजस्तो देशमा यसबाट केही अवसर तथा सिकाइहरू समेत प्राप्त भएका छन जसलाई देहायअनुसार उल्लेख गरिएको छ।

  • सङ्घीयताको औचित्य पुष्टिः विपद्को पहिलो प्रभाव स्थानीय समुदायमा पर्ने भएकाले सो सँग जुध्न स्थानीय तहहरू जति सक्षम, जिम्मेवार, स्रोतसाधनयुक्त र अधिकारसम्पन्न भयो त्यति नै यसको व्यवस्थापनमा सहज हुन्छ भन्ने विषय यस विपत्तिपूर्ण अवस्थामा स्थानीय तहहरूले देखाएको सक्रियताले पुष्टि गरेको छ।

 

  • विकास र सेवा प्रवाहमा संरचनात्मक परिवर्तनः पूर्वाधार विकासलाई केन्द्र विन्दुमा राख्ने हाम्रो विकासप्रतिको दृष्टिकोणमा संरचनात्मक परिवर्तन ल्याई सामाजिक विकासलाई प्राथमिकतामा राख्दै अन्य विकासका क्रियाकलापहरूलाई समेत सँगसँगै लैजानुपर्दछ भन्ने मान्यताको विकास भएको छ।

 

  • डिजिटल अर्थतन्त्र निर्माणः सबै आर्थिक कारोबारहरूलाई विद्युतीय प्रणालीमा आबद्ध गर्दै डिजिटल अर्थतन्त्रको निर्माण गर्ने सुनौलो अवसर सिर्जना गरेको छ।अनौपचारिक व्यापारलाई औपचारिकीकरण गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिन सकिने विषयलाई उजागर गरेको छ।

 

  • गाउँ सहर अन्तर आवद्धताः गाउँ उत्पादन केन्द्र र सहर उपभोग केन्द्रको रूपमा विकसित हुँदै गएको सन्दर्भमा गाउँ र सहर लाई अन्तर आबद्ध गरी परिपूरक सम्बन्ध स्थापना गर्नुपर्छ भन्ने मान्यताको विकास भएको छ ।

 

  • सबै क्षेत्रको योगदान रहने सन्तुलित अर्थतन्त्रको विकासमा जोड:  कोभिड-१९ बाट औद्योगिक अर्थतन्त्र भएका विकसिल राष्ट्रहरू बढी प्रभावित भएको र सबै क्षेत्रको सन्तुलित योगदान सहितको अर्थतन्त्र भएका राष्ट्रहरू कम प्रभावित भएकोले अर्थतन्त्रको दिगो विकासका लागि सबै क्षेत्रहरू कृषि, उद्योग, सेवाको सन्तुलित विकास हुनु अपरिहार्य छ भन्ने तथ्यलाई उजागर गरेको छ ।

 

  • आत्मनिर्भरता र स्वावलम्बनमा जोड: विश्व कोभिड-१९ को महामारीसँग जुध्दै गर्दा विकसित भनिएका राष्ट्रहरूमा क्षेत्रीयता, विश्वबन्धुत्व, असल छिमेकीपन भन्दा पनि आफ्नै राष्ट्र र नागरिकहरू प्रति केन्द्रित हुने आत्म केन्द्रित प्रवृत्तिहरू देखा परे । जसले कुनै पनि राष्ट्र आफैमा सक्षम र सबल हुनुपर्दछ भन्ने मान्यताको विकास गरायो ।

 

  • वातावरणीय स्वच्छता: लामो समय विश्व नै लकडाउनमा रहँदा वातावरणीय स्वच्छतामा आएको व्यापक परिवर्तनले वातावरण प्रदूषणको मुख्य कारण मानवीय क्रियाकलाप नै हुन भन्ने विषयलाई उजागर गरेको छ । यसले अबका हाम्रा विकासका क्रियाकलापहरू वातावरणमैत्री हुनुपर्ने विषयमा सचेत गराएको छ ।

उत्थानशील समाज निर्माणमा लिनुपर्ने भावी रणनीतिहरू

  • कोभिड-१९ जस्तो विपत्तिपूर्ण र संकटजन्य अवस्थामा उत्थानशिल समाजको निर्माण गर्न आगामी दिनमा देहाय बमोजिमका अल्पकालीन तथा दीर्घकालीन रणनीति अवलम्बन गर्न आवश्यक देखिन्छ ।

 

  • सम्पूर्ण नागरिकहरूलाई आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता प्रदान गर्ने

 

  • विकासको संरचनात्मक परिवर्तन गर्ने, पूर्वाधार विकासमा बढी केन्द्रित रहेको हाम्रो विकास प्रणालीलाई मानव पुँजी निर्माणमा समेत केन्द्रित गर्दै सबै क्षेत्रको सन्तुलित विकासमा जोड दिने,

 

  • अर्थतन्त्रको संरचनात्मक परिवर्तन गरी कृषि, उद्योग र सेवा तीन वटै क्षेत्रबाट सन्तुलित योगदान हुने गरी आर्थिक क्रियाकलापहरू सञ्चालन गर्ने,

 

  • Business Continuity Plan को निर्माण गर्दै कोभिड लगायत जुनसुकै किसिमका सङ्कटजन्य अवस्थामा समेत अर्थतन्त्रको निरन्तर सुचारु हुने व्यवस्था मिलाउने,

 

  • सबै कारोबारहरूलाई विद्युतीय र बैङ्किङ प्रणालीमा आबद्ध गर्दै डिजिटल अर्थतन्त्रतर्फ रूपान्तरित हुने, उच्च भर्सन युक्त प्रविधिको प्रयोग गर्दै यसको सुरक्षा र दिगोपनामा जोड दिने,

 

  • शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव पुँजी निर्माण हुने सामाजिक पूर्वाधार विकासमा सरकारको लगानी अभिवृद्धि गर्दै निजी क्षेत्रहरूलाई नियमन गर्ने, यस्ता पूर्वाधारहरूको विकास मार्फत नागरिकको गुणस्तरीय शिक्षा र स्वास्थ्य प्राप्त गर्ने अधिकारको सुनिश्चितता गर्ने,

 

  • स्थानीय तहहरूलाई अझ बढी सक्षम, जिम्मेवार, स्रोतसाधनयुक्त र अधिकारसम्पन्न बनाउने,

 

  • हामी आफै उत्पादन गरी निर्यात गर्न सक्षम हुँदाहुँदै पनि आन्तरिक उत्पादनमा जोड दिन नसक्दा वैदेशिक राष्ट्रहरूबाट आयत गरिरहेका क्षेत्रहरू जस्तैस् खाद्यान्न, विद्युत्, माछा, मासु, अण्डा, फलफूल, अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरूको  Mass Production गरी आत्मनिर्भर बन्नुको साथै अन्य राष्ट्रमा समेत निर्यात गर्ने व्यवस्था मिलाउने,

 

  • वैदेशिक सहायता तथा विप्रेषण बाट प्राप्त रकमलाई उत्पादनमूलक र पुँजी निर्माण हुने क्षेत्रमा परिचालन गरी वैदेशिक सहायता माथिको निर्भरतालाई क्रमशः कम गर्दै लैजाने,

 

  • गाउँ शहर अन्तरअबद्धता कायम गर्दै गाउँको उत्पादन र शहरको उपभोग बीचको सन्तुलन कायम गर्ने,

 

  • सबै नागरिकहरूलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने,

 

  • वातावरणमैत्री तथा दिगो विकासम जोड दिने,

 

निष्कर्षः

सम्पूर्ण विश्वलाई नै प्रभावित बनाउने कोभिड-१९ जस्तो वैश्विक महामारीबाट नेपालजस्तो देशमा केही नकारात्मक तथा केही सकारात्मक प्रभावहरू परेका छन्। यसले पारेको नकारात्मक प्रभावहरूलाई न्यूनीकरण गर्दै सिकाएको पाठको आधारमा सिर्जित अवसरहरूको पूर्ण उपयोग गर्ने हो भने आगामी दिनमा आउन सक्ने यस्तै प्रकृतिका सङ्कटहरूलाई सहजै नियन्त्रण गर्न सक्ने गरी उत्थानशील समाजको विकास गर्न सकिने देखिन्छ ।