NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सेलिब्रेटीको हातहातमा देखिने ‘ब्लाक वाटर’ के हो ? यस्ता छन् पिउनुुका फाइदा

एजेन्सी । डिपार्टमेन्ट स्टोरमा होस् या जिमबाट बाहिर निस्किदै गर्दा पापाराजीका क्यामेरामा कैद भएका बलिउड सेलिब्रेटी, हिजोआज स्टोरका भित्ता र सेलिब्रेटीका हातहातमा देखिन्छन् ‘ब्लाक वाटर’ । नामजस्तै कालो देखिने पानी आखिर के हो ? त्यो पिउँदाका फाइदा के हुन् ? सामान्य पानी र त्यो कालो पानीबीचको फरक के हो ? भन्ने कौतुहुलता धेरैको मनमा छ ।

ब्लाक वाटरलाई अल्कलाइन वाटर या अल्कलाइन आयोनाइज्ड वाटर पनि भनिन्छ । मेडिकल जर्नल ‘एभिडेन्स बेस्ड कम्प्लिमेन्टरी एण्ड अल्टर्नेटिभ मेडिसिन’(इबिसिएएम) का अनुसार जिम या शारिरीक कष्ट गरेपछि शरीरबाट पसिना बग्छ । यसरी अत्याधिक पसिना बगेको अवस्थामा ब्लाक वाटर पिउँदा शरीरलाई फाइदा हुन्छ किनभने यसले शरीरमा इलेक्ट्रोलाइट्सको खपत बढाउँछ ।

इबिसीएएमका अनुसार ल्याबमा पहिलोपटक यसको परीक्षण मुसामा गरिएको थियो । उक्त परीक्षणबाट पत्ता लागेअनुसार ब्लाक वाटरको सेवनले शरीरको मेटाबोलिजम पनि थप सक्रिय भएको देखियो ।

ब्लाक वाटरमा पिएच लेभल ७ भन्दा माथि हुन्छ । यसको विक्रि वितरण गरिरहेका कपनीले आफ्नो विज्ञापनमा ७ माथिको पीएच लेभल भएको यो पानीले बुढ्यौलीका लक्षणहरू पनि कम गर्ने दाबी गर्दै आएका छन् । यद्यपी इबिसिएएमका अनुसन्धानताहरूले यसको पछाडि कुनै वैज्ञानिक प्रमाण नभएको बताएका छन् ।

के हो ब्लाक वाटर ?

हाम्रो शरीरको ७० प्रतिशत हिस्सा पानीले ओगटेको छ । त्यसैले पनि हामीले पर्याप्त मात्रामा पानी पिउनु आवश्यक छ ताकी हामीले पिएको पानी शरीरको सबै अंगमा पुगेर र शारिरीक सञ्चालनमा मद्दत पुगोस् ।

पानीले हाम्रो शरीरबाट नचाहिने चिजहरू पनि हटाउन मद्दत गर्छ । अर्कोतर्फ, यसले शरीरको तापक्रमको सन्तुलन कायम राख्छ भने शरीरका विभिन्न भागहरूमा खनिजको आपूर्तिमा पनि भूमिका खेल्छ । खाना राम्ररी पचाउनमा पनि पानीको महत्वपूर्ण भूमिका हुन्छ ।

ब्लाक वाटर बेच्ने कम्पनीहरू यसमा ७० भन्दा बढी मिनिरल्स थपिरहेको बताउँछन् ताकी शरीरमा माथि उल्लिखित फाइदा पुगोस् । यसमा म्याग्नेसियम, क्याल्सियमजस्ता खनिज पाइन्छन् । विभिन्न कम्पनीबाट उत्पादित ब्लाक वाटरमा यी खनिजको अनुपात फरक हुन्छ । कम्पनीहरूको दाबीअनुसार यसले शरीरमा मेटाबोलिजमको प्रक्रियालाई तीव्र बनाउँछ, पाचन सुधार गर्छ, एसिडिटी घटाउनुसँगै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

सामान्य पानी र ब्लाक वाटरबीचको फरक

डायटिसियन डा.रूथ जयशीलाका अनुसार हामीले सामान्यतया पिउने पानीमा केही खनिजहरूको मात्रा तुलनात्मक रूपमा कम मात्रामा हुन्छ । कतिपय अवस्थामा यी खनिजको कमीले मानिसहरू बिमारी पनि हुन सक्छन् ।

उनकाअुुनसार आरओ फिल्टरको पानीमा पीएचको मात्रा कम हुन्छ भने अर्कोतिर एसिटिडटी बढी हुन्छ । जसकारण कहिलेकाहीं आरओको पानीले शरीरमा समस्या पनि निम्तिन्छ । फलस्वरूप हामीले त्यस्तोबेलाा भिटामिन र सप्लिमेन्ट छुट्टाछुट्टै सेवन गर्नुपर्ने हुन्छ । त्यस्ता मानिसहरूलाई ब्लाक वाटरले केही हदसम्म मद्दत हुने उनी बताउँछिन् । तर, यो भन्दैमा प्राकृतिक विकल्पभन्दा माथि केही नहुने उनले तर्क छ । ‘हामीले यो पनि याद गर्नुपर्छ कि, यी चिजहरूभन्दा प्राकृतिक विकल्पहरू सधैं प्रभावकारी हुन्छन्,’ उनले भनिन् ।

हामीले पिउने कुनै पनि तरल वस्तुको पीएच स्तर मापन गरिन्छ । यो शून्यदेखि १४ अंकको स्केलमा मापन हुन्छ । यदि पानीको पीएच लेभल १ छ भने त्यो बढी अम्लीय भएको मानिन्छ । त्यस्तै, पीएच लेभल १३ भएमा त्यसमा क्षारीय तत्वको मात्रा बढी छ भन्ने बुझिन्छ ।

सामान्यतया हामीले पिउने पानीको पीएचको स्तर ६ र ७ को बीचमा हुन्छ । तर, ब्लाक वाटरको पीएचको स्तर ७ भन्दा माथि हुन्छ । यसको मतलब ब्लाक वाटरमा हामीले पिउने सामान्य पानीमा भन्दा बढी क्षारीय तत्व पाइन्छ । तर, पीएचको मात्रा बढी हुँदैमा हामीले यो पानी शरीरको लागि बढी फाइदाजनक छ भन्ने निष्कर्ष निकाल्न नसकिने डा.जयशीलाको तर्क छ । उनका अनुसार यो पानीमा पाइने मिनिरल्समा निर्भर हुन्छ । योसँगै उक्त मिनिरल्स शरीरको विभिन्न भागमा कसरी पुग्छ भन्ने विषय पनि निर्णायक हुने उनले बताइन् ।

अनुसन्धानमा जनाइएअनुसार यस्तो किसिमको अल्कलाइन वाटर विशेष किसिमको स्वास्थ्य समस्या हुनेहरूलाई फाइदाजनक हुन्छ । सन्दर्भका लागि पेप्सिन नामक एक एन्जाइमका कारण पेटमा एसिडिटी महसुस हुन्छ ।

अमेरिकाको नेसनल लाइब्रेरी अफ मेडिसिनले गरेको एक अध्ययनअनुसार अल्कलाइन मिनलर वाटरको पीएच लेभल ८.८ भएमा यसले उक्त एन्जाइमको प्रभावलाई कम गरिदिन्छ ।

जापानको ओसाका विश्वविद्यालय अन्तर्गतको स्कुल अफ मेडिसिनका विशेषज्ञले पनि सन् २०१८ मा यस्तै किसिमको अध्ययन गरेको थियो । जसमा अल्कलाइन इलेक्ट्रोलाइज्ड पानीले पाचना क्षमतामा सुधार आउने पत्ता लागेको थियो ।

अमेरिकाको थोमस जेफरसन विश्वविद्यालयका विज्ञका अनुसार सामान्य पानी पिउने तुलनामा अधिक मात्रामा पीएच लेभल भएको अल्कलाइन पानी पिउँदा रक्त प्रवाह राम्रो हुन्छ ।

मेडिकल न्यूज वेबसाइट ‘द हेल्थलाइन’ले माथि उल्लेख गरिएको अनुसन्धानको स्केल सिमित भएको हुँदा यस्तो दाबी पुष्टिका लागि ब्यापक अनुसन्धानको आवश्यकता औंल्याएको छ ।

यसका साइड इफेक्ट

ब्लाक वाटर सबैका लागि फाइदाजनक हुने पनि होइन । केही अनुसन्धानले लामो समयसम्म ब्लाक वाटर पिउनाले साइड इफेक्ट पनि देखिनेबारे संकेत गरेका छन् ।
फिनल्याण्डको युनिभर्सिटी अफ तुर्कुका प्रोफेसर मरीना मर्नले गरेको अनुसन्धानमा जनाइएअनुसार ब्लाक वाटरको अत्याधिक सेवनले बान्ता आउने र शरीरमा भइरहेको पीएचको स्तरमा बदलाव आउने समस्या निम्तिन सक्छ ।

यसमै सहमति जनाउँछिन् डायटिसियन नीता दिलीप । उनका अनुसार अधिक मात्रामा ब्लाक वाटरको सेवन गर्नु राम्रो होइन । मिनिरल्स हाम्रो स्वास्थ्यको लागि राम्रो मानिएपनि यसको अधिक प्रयोगले भने समस्या निम्तिन सक्ने उनले बताइन् । अर्कोतर्फ मिनिरल्सको कमीले पनि बिमारी हुन सक्छ । त्यसैले यसको मात्रा सन्तुलित हुनुपर्ने उनको जोड छ ।

‘क्याल्सियमको मात्रा धेरैमा हाइपरक्याल्सियम हुन सक्छ । त्यसैगरी, आइरनको मात्रा धेरै भएमा हेमोक्रोमेटोसिस हुन सक्छ,’ उनले भनिन्, ‘त्यसैले कुनै पनि किसिमको मिनिरल्स हामीलाई चाहिएको ठिक्क मात्रामा लिनुपर्छ । यस्ता चिजको ओभरडोजले ज्यान नै जान सक्छ ।’

सर्वसाधरणले ब्लाक वाटर सेवन गर्ने विषमा सेलिब्रेटीको अन्धाधुन्ध सिको गर्न नहुने उनी बताउँछिन् । उनीहरूले ब्लाक वाटरको सेवन गर्दा आवश्यक सावधानी पनि सँगै अपनाइरहेका हुन्छन् । किनभने उनीहरूसँग स्वास्थ्य विशेषज्ञ र डाइटिसियनको टोली हुन्छ । जुन सर्वसाधरणको पहुँच बाहिर हुन्छ । त्यसैले कसैले ब्लाक वाटरको सेवन गरेकै कारणले हामी पनि त्यही सिको गर्न थाल्नु भने गलत भएको उनको भनाइ छ ।

हरेक व्यक्तिको शारीरिक बनावट फरक हुने हुँदा सबै कुराको ख्याल गर्न उनी सुझाउछिन् । उनका अनुसार यसको सन्तुलन मिलाएर सेवन गर्ने हो भने यो खतरनाक छैन । तर, यसको सेवन गरिरहँदा हाम्रो शरीरले त्यहाँबाट प्राप्त मिनिरल्स पचाउन कत्तिको सक्षम छ भन्ने पनि सोच्नुपर्ने उनले बताइन् ।

उनकाअनुसार यसका प्राकृतिक विकल्पहरू पनि छन् । उदाहरणका लागि कागती पानी, ग्रीन टी, बसिल सिड वाटर, नरिवल पानीलगायत यसका प्राकृतिक विकल्प हुन् । उनका अनुसार यदि हामीले काँक्रो र अन्य फलफूललाई पानीमा डुबाएर बिहान सेवन गर्ने हो भने हाम्रो शरीरलाई आवश्यक सबै खनिजहरू प्राप्त गर्न सकिन्छ ।