NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेसन्स लिगको सेमिफाइनलमा यी तीन टोली पुगे, पोर्चुगल र स्पेनबीच निर्णायक खेल

काठमाडौं । हंगेरीलाई हराउँदै इटाली युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको लिगअन्तर्गत समूह ३ को निर्णायक खेलमा घरेलु टोली हंगेरीलाई २–० गोल अन्तरले हराउँदै इटाली सेमिफाइनलमा पुगेको हो ।

इटालीको जितमा जियाकोमो रास्पाडोरी र फेडेरिको डिमार्कोले १–१ गोल गरे ।

यसै समूहको अर्को खेलमा इंग्ल्याण्ड र जर्मनीले ३–३ गोलको रोमाञ्चक बराबरी खेले ।

यो समूहमा ६ खेलबाट ११ अंक जोडेर इटाली सेमिफाइनलमा पुगेको छ भने दोस्रो स्थानको हंगेरीले समान खेलबाट १० अंक जोडेको छ । मात्र १ अंकले हंगरी सेमिफाइनलमा पुग्न बञ्चित भएको हो ।

यसैगरी, तेस्रो स्थानको रहेको जर्मनीले ७ अंक जोड्दा मात्र ३ अंक जोडेको इंग्ल्याण्ड भने रेलिगेसनमा परेको छ ।

क्रोएसिया र नेदरल्याण्डस यसअघि नै सेमिफाइनलमा पुगिसकेका थिए । गएराति इटाली पनि थपिएपछि सेमिफाइनलमा पुग्ने ३ टोलीको टुंगो लागेको छ ।

मंगलबार राति पोर्चुगल र स्पेनबीच समूह २ को निर्णायक खेल हुनेछ ।

लिग ए समूह २ मा रहेको स्पेनले ५ खेलमा ८ अंक जोडेको छ ।

स्पेन दोस्रो स्थानमा रहेको छ । शनिबार राति चेक रिपब्लिकसँग ४–० को फराकिलो जित निकाल्दै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल पहिलो स्थानमा उक्लिएको छ ।

पोर्चुगलले ५ खेलबाट १० अंक जोडेको छ । यस्तोमा पोर्चुगल स्पेनभन्दा २ अंगले अगाडि छ ।

पोर्चुगलकै मैदानमा हुने उक्त खेलमा जित निकालेमात्र स्पेन सेमिफाइनलमा पुग्नेछ । खेल बराबरीमात्र भए पनि पोर्चुगलले सेमिफाइनलको यात्रा तय गर्नेछ ।

पछिल्लो समय लयको रहेको पोर्चुगललाई घरेलु मैदानको पनि फाइदा हुने देखिन्छ । यसर्थ, स्पेनको सेमिफाइनल यात्रा केही कठिन देखिएको छ ।

यो समूहमा स्विट्जरल्याण्ड ६ अंक जोडेर तेस्रो स्थानमा मात्र छ । रेलिगेसन जोनमा रहेको चेक रिपब्लिकले ४ अंक मात्र जोडेको छ । यी दुईबीच पनि मंगलबार राति खेल हुनेछ ।

नेसन्स लिगका अहिलेका खेलहरूलाई २ महिनापछि कतारमा हुन लागेको विश्वकपको तयारीका रुपमा समेत हेरिएको छ ।

घरेलु मैदानमा अप्रत्यासित नतिजा ब्यहोरेको स्पेनलाई पोर्चुगलमा जित्दैपर्ने दबाब