NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

स्थानीय तहको मतको अनुपातमा मंसिर ४ को निर्वाचनमा समानुपातिकतर्फ कुन दलले कति सिट जित्दैछन् ?

काठमाडौं । निर्वाचान आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएका राजनीतिक दलहरू अहिले प्रत्यक्षतर्फको उम्मेदवार छनोट गर्न आन्तरिक गृहकार्यमा व्यस्त छन् । असोज २ र ३ गते बन्दसूची बुझाएका दलहरूलाई बन्दसूचीमा रहेको त्रुटि सच्याउन असोज १६ गतेसम्मको समयसीमा तोकेको छ । असोजको अन्तिमसाता आयोगले समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

त्यस्तै १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ सिटबाँडफाँटमा सहमति गरेका सत्ता गठबन्धनले प्रदेशसभातर्फको भागठबन्डामा लागेका छन् । आगामी निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेको एमालेले गठबन्धनको गतिविधि हेरेर उम्मेदवार चयन गर्ने रणनीति बनाएको छ ।

एमालेले अवाश्यकता अनुसार आगामी निर्वाचनमा लोसपा, राप्रपालगायत दलहरूसँग चुनावी तालमेल गर्ने तयारी गरेको छ । पार्टी प्रवेश अभियानलाई प्राथमिकता दिएको छ । ओलीले त आगामी निर्वाचनमा एमालेले १५० बढी सिट जित्ने दाबी गर्दै आएका छन् ।

अघिल्लो निर्वाचनमा एमाले र माओवादीको वाम गठबन्धनले प्रत्यक्ष र समानुपातिक गरी जम्मा २७५ मध्ये १७६ सिट जितेको थियो । त्यतिबेला एमालेले प्रत्यक्षमा ८० र समानुपातिकतर्फ ४१ प्राप्त गरेको थियो । माओवादी केन्द्रले प्रत्यक्षमा ३७ र समानुपातिकतर्फ जम्मा १७ सिट जितेको थियो । राष्ट्रिय जनमोर्चाले प्रत्यक्षमा एक सिट जितेको थियो । स्थानीय तह निर्वाचन परिणामको आधारमा एमालेको ३.६६ प्रतिशत मत नेकपा एसको पक्षमा रहेको छ ।

सत्ता नेतृत्व दल नेपाली कांग्रेसले गठबन्धनको सहयोगमा बहुमत ल्याउने रणनीति बनाएको छ । तर उसलाई बहुमत हासिल गर्न पार्टीभित्रैका कोइराला समूह र गठबन्धन दलहरूको विश्वासमा लिन निकै चुनौतीपूर्ण देखिएको छ । कोइराला समूहले आगामी निर्वाचनमा ४० प्रतिशत हिस्सा नपाए निर्वाचन नै बहिस्कार गर्ने चेतावनी दिएको छ । गठबन्धन दलहरूले पनि आवश्यकताभन्दा बढी सिट दाबी गरेकाले कांग्रेस अप्ठ्यारोमा छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिएको कांग्रेसले एमालेसँग बदला लिने तयारी गरेको देखिन्छ ।

यसरी दलहरूले बहुमत ल्याउने आ–आफ्नै दाबी गरेपनि आगामी निर्वाचनमा बहुमत ल्याउन निकै चुनौती देखिएको छ । स्थानीय तह निर्वाचनमा काठमाडौं लगायत केही शहरमा स्वतन्त्र उम्मेदवारले लोकप्रिय मत ल्याइ विजयी भएका थिए । आगामी निर्वाचनमा स्वतन्त्रकोतर्फबाट उम्मेदवारी दिनेको बाढी नै लागेको छ । परम्परागत दलहरूलाई योपटक स्वतन्त्र उम्मेदवार पनि निकै टक्कर दिने देखिन्छ ।

२०७४ को निर्वाचनमा कसको मत कति ?

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ खसेको कूल १ करोड १० लाखमध्ये ९५ लाख ४४ हजार ७७९ मत सदर भएको थियो । त्यतिबेला निर्वाचनमा भाग लिएका ४९ राजनीतिक दलहरूमध्ये ३ प्रतिशत थ्रेसहोल्ड प्राप्त गर्ने जम्मा ५ दल थिए ।

त्यतिबेला प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी ३१ लाख ७३ हजार ४९४ मत पाएको थियो । प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिएको कांग्रेस ३१ लाख २८ हजार ३७९ मत पाएर दोस्रो भएको थियो । प्रत्यक्षमा ३७ सिट जितेको माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत ल्याएको थियो ।

तत्कालीन संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ र राष्ट्रिय जनता पार्टीले ४ लाख ७२ हजार २५१ मत पाएका थिए । जसअनुसार ११० समानुपातिक सिटमध्ये एमालेले ४१, नेपाली कांग्रेसले ४०, माओवादी केन्द्रले १७, फोरम (हालको जसपा) र राजपा (हालको लोसपा)ले समान ६–६ सिट ल्याएका थिए । यसरी पाँच दलले पाएको जम्मा मत संख्या ७३ लाख ७८ हजार ४६ रहेको छ । सिंगो देशलाई एक निर्वाचन क्षेत्र कायम गरी कुल सदर मतमध्ये दलहरूले प्राप्त गरेको मत र सिट संख्याको हिसाब गर्दा एक सांसद बराबर ७७ हजार मत प्राप्त गरेको देखिन्छ ।

योपटक पाँच वर्षअघिको स्थिति छैन । एमालेबाट फुटेको दलसहित पाँचदलीय गठबन्धन निर्वाचनमा जाने अन्तिम तयारीमा छन् । एमालेले राप्रपासहित केही दलसँग सहकार्य गर्ने गरी तयारी गरको छ । अघिल्लो पटक ३ प्रतिशत थ्रेसहोल्ड कटाएको लोसपाले स्थानीय तहमा पाएको मतको आधारमा राष्ट्रिय दलको मान्यता पाउने स्थिति देखिएको छैन । एमालेको विद्रोही शक्तिले राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ । योपटक राप्रपा र स्वतन्त्रले पनि उल्लेख्य मत पाउने देखिन्छ । आयोगले

सार्वजनिक गरेको तथ्याङ्क अनुसार आगामी निर्वाचनमा एक करोड ७९ लाख मतदाता रहेका छन् । सत्तागठबन्धन कायमै रहेको अवस्थामा एमालेले चुनावी प्रतिस्पर्धा गरे स्थानीय तहको मतपरिणाम उत्साहजनक मत वृद्धि हुने सम्भावना देखिँदैन ।

वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा १ करोड २४ लख मत खसेकोमा १ करोड १० लाख मत सदर भएको थियो । वडाअध्यक्षले पाएको समग्र मत जोड्दा यो निर्वाचनमा कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको थियो । कांग्रेसले पाएको मत ३४.२८ प्रतिशत हो । एमाले ३८ लाख ११ हजार ६०२ मत सहित दोस्रो भएको थियो । उसले पाएको मत ३३.०३ प्रतिशत हो ।

माओवादी १५ लाख ०३ हजार २४७ सहित तेस्रो भएको थियो । उसले १३.०३ प्रतिशत मत पाएको देखिन्छ । जसपाले ५ लाख ७७ हजार ३८० मत पाएको छ । उसले ५ प्रतिशत पाएको छ । नेकपा एसले ४ लाख २२ हजार ७३७ मत पाएको छ । उसले पाएको मत ३.६६ प्रतिशत हो । राप्रपाले ३ लाख ६४ हजार १६० मतसहित छैटौं स्थान प्राप्त गरेको छ । उसले पाएको मत ३.१६ प्रतिशत हो । लोसपाले ३ प्रतिशत मत ल्याउन असफल देखिएको छ ।

स्थानीय तहमा दलहरूले पाएको मतको आधारमा राष्ट्रिय दलको मान्यता पाउन सक्ने अनुमान गरिएको कुल मत १ करोड ६ लाख ३६ हजार ३१९ रहने देखिन्छ । यो मतको समानुपातिक बाँडफाँटको हिसाब गर्दा एमालेको ४० सिट आउने देखिन्छ । कांग्रेसको ४१ सिट आउनेछ । माओवादीको १६ सिट आउने देखिन्छ । जसपा ६ सिट, एस ४ सिट र राप्रपाको ३ सिट आउने छ । राप्रपाको ४ सिट आउने देखिन्छ । यो अनुपातमा मत तलमाथि भए पनि एक दुई सिटमात्रै तलमाथि हुने देखिन्छ । अन्यथा दलहरूले आगामी ४ मंसिरको चुनावबाट पाउने समानुपातिक सिट संख्या लगभग यस्तै नै हो ।

आगामी निर्वाचनका लागि दलहरू उम्मेदवार मनोनयन दर्ताको दिनसम्म आइपुग्दा राजनीतिमा धेरै पटाक्षेप हुने सम्भावना छ । तर अहिलेकै गठबन्धने विश्वासको वातावरण बनाएर गएको अवस्थामा अघिल्लो पटक कांग्रेसले भोगेको नियति एमालेले भोग्ने सम्भावना पनि त्यतिकै छ ।

अघिल्लो निर्वाचनमा कांग्रेसको जस्तै नियति एमालेले भोगे निर्वाचनमा एमालेको ६५ देखि ७० सिट आउने सम्भावना देखिन्छ । यो प्रत्यक्ष र समानुपातिक दुवैको हिसाब हो । तर सत्ता गठबन्धनबाट प्रभावकारी तालमेल भए यसमा एमालेको सिट अझै घट्न सक्ने छ । योपटक राजनीतिकबाहेक गैरराजनीतिक क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरूले स्वतन्त्रतर्फ उम्मेदवारी दिने तयारी गरेकाले सिट संख्यामा फरक पार्न पनि सक्छ ।