NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

माओवादी र नेकपा एसको सिट टुंगो लाग्यो, सत्तारुढ दल कसले कति सिट पाउँदैछन् ?

काठमाडौं । सत्ता गठबन्धन दलहरूबीच प्रतिनिधिसभा सदस्य सिट बाँडफाँटमा लगभग सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पाँचदलीय बैठकमा दलहरूबीच भागबण्डामा एकाध क्षेत्रबाहेक सहमति जुटेको माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

उनका अनुसार कांग्रेसले ८५ सिट, माओवादी केन्द्रले ५०, एकीकृत समाजवादीले १७, जसपाले १३ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने सहमति भएको बताए । तर केही क्षेत्रमा दलहरूले दोहोरो–तेहोरो दाबी कायमै भएकोले बिहीबार टुंग्याउने बताए ।

‘अहिलेसम्म माओवादीले ५० को हाराहारीमा सिट पाउने सहमित भएको छ । त्यसमध्ये ३७ सिटको टुंगो लागेको छ । बाँकी सिटमा दोहोरोतेहोरो दाबी छ’, उनले भने, ‘माओवादीले पाउने महोत्तरी १, सल्यान, खोटाङ, धादिङ–१, अछाम–१ लगायतका क्षेत्रमा टुंगिन बाँकी छ ।’

नेकपा एसले कहाँ कहाँ पायो ?

यसैगरी एकीकृत समाजवादीले काठमाडौं ८, रौतहट १, इलाम १, बारा ४, मकवानपुर २, ललितपुर २, दाङ १, डोटी, डोल्पा, दैलेख १, गुल्मी २, पाल्पा २, रुपन्देही २, कास्की २, धादिङ १ र बझाङ पाउने सहमति भएको कार्यदलका एक सदस्यले बताए । तर धादिङ, बारामा माओवादीले पनि दाबी गरेकाले सहमति हु्न बाँकी छ ।

‘सिट बाँडफाँटमा दलहरूबीच लगभग सहमति भइसकेको छ । अहिलेसम्म कांग्रेसले ८३, माओवादीले ३७, एकीकृत समाजवादीले १५, जसपाको १३ र राजमोले २ सिट पाउने सहमति भएको छ’, ती सदस्यले भने, ‘बाँकी क्षेत्रमा कांग्रेस, माओवादी, जसपाको दोहोरो दाबी रहेकाले सहमति हुन बाँकी छ । बाँकी क्षेत्र बिहीबार बस्ने बैठकबाट टुंगो लाग्नेछ ।’

ती सदस्यका अनुसार अहिलेसम्म माओवादीले चितवन ३, गोरखा २, उदयपुर २, सिरहा ३, धनुषा १, झापा २ र ५, सर्लाही ३, भोजपुर, सिन्धुपाल्चोक १, सोलुखुम्बु, मोरङ ४ र ५, महोत्तरी १, सिन्धुली १, नुवाकोट १, काठमाडौं २ र ९, काभ्रे १, लमजुङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, दाङ २, लमजुङ, बाँके १, बर्दिया २, नवलपरासी पश्चिम १,जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, कैलाली २ र ३ बैतडी, कञ्चनपुर १ मा सहमति भएको छ । बाँकीमा कतै कांग्रेस र नेकपा एस, कतै जसपा, कांग्रेसकोसमेत दाबी गरेकाले सहमति हुन सकेको छैन ।

त्यस्तै दुई सिट पाएको राजमोले बाग्लुङ र प्युठानमा एक–एक सिट दिने सहमति भएको ती सदस्यले बताए ।

एकीकृत समाजवादीका उमहासचिव प्रकाश ज्वालाका अनुसार नेकपा एसले २० सिटसम्म पाउने दाबी गरेका छन् । प्रदेशसभा सदस्यको सिट बाँडफाँटमा सहमति हुन बाँकी रहेकाले केही सिट संख्या केही तलमाथि हुनसक्ने बताए ।

‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र हामीले प्याकेजमै टुंग्याउने गरी गृहकार्य गरेका छौं । अघिल्लो निर्वाचनमा जितेको क्षेत्रलाई आधार बनाएपनि जित्ने आधारलाई मूल्याङ्न गर्दा निर्वाचन क्षेत्र हेरफेर हुन सक्छ । तीमध्ये कोही प्रदेशसभामा जान सक्ने भएकाले सबै क्षेत्रको टुंगो लागेको छैन ।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र बाँडफाँट गर्न गठबन्धन दलहरूले साउन २० मा बनाएको ११ सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएपनि भागबण्डा मिलाउन सकेको छैन । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र सिट बाँडफाँटमा लगभग सहमति भएपछि दलहरू प्रदेशसभातर्फका निर्वाचन क्षेत्रको भागबण्डा मिलाउन लागेका छन् ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारहरूको उम्मेदवारी मनोनयन दर्ता गर्ने समय असोज २३ मा तोकेको छ । प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ३३० सदस्यका लागि निर्वाचन आयोगले मंसिर ४ मा निर्वाचन गराउँदै छ ।