NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

काठमाडौं ५ मा एमालेबाट ईश्वर पोखरेल, कांग्रेसबाट स्वर्णिम वाग्ले उठे कसले मार्ला बाजी ?

काठमाडौं । अघिल्लोपटक एमाले र माओवादी मिलेर चुनाव लड्दाको अवस्था उल्टिएपछि यसपटक ४ मंसिरको चुनाव थप रोमाञ्चक हुने भएको छ । एमाले र माओवादीको समीकरण फेरिएर कांग्रेस र माओवादी मिल्ने भएपछि यसपटकको चुनाव फरक हुने भएको हो । यसैले केही क्षेत्रकाे चुनावी प्रतिस्पर्धाबारे चर्चा/परिचर्चा हुन थालेकाे छ ।

एमालेले अघिल्लोपटक जितेका ईश्वर पोखरेललाई नै काठमाडाैं ५ बाट उम्मेदवार बनाउँदै छ । तर यसपटक कांग्रेसबाट अर्थविद् स्वर्णिम वाग्लेले टिकट पाउने सम्भावना धेरै रहेको बताइन्छ । वाग्ले टिकटका लागि चितवन १, गोरखा र काठमाडौंबाट इच्छुक छन् । चितवन १ बाट विश्व पौडेल उम्मेदवार बन्ने सम्भावना बढी हुँदा वाग्ले काठमाडौं ५ बाट चुनाव लड्ने तयारीमा रहेको बताइन्छ ।

कांग्रेस निकटका दुवै अर्थशास्त्रीले चुनाव लड्न चितवन १ रोजेका थिए । तर राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर उम्मेदवार बन्ने बाटोमा पौडेल अघि बढेको बालुवाटार स्रोत बताउँछ । यस्तोमा काठमाडौं ५ बाट वाग्ले नै उम्मेदवार बन्ने सम्भावना अत्याधिक छ । वाग्ले स्वयंले पनि आफ्नो पहिलो चाहना चितवन रहेको बताएका छन् । त्यसपछि गोरखा र काठमाडौं उनको छनोटका क्षेत्र हुन् ।

अघिल्लाेपटक पराजित डा. प्रकाशशरणा महत याे क्षेत्रबाट प्रत्यक्षका लागि दाबेदार छन् । तर उनकाे नाम समानुपातिकमा पनि सिफारिस भएकाे छ ।  यसैले पनि वाग्ले याे क्षेत्रबाट प्रमुख दाबेदार हुन् ।

काठमाडौं ५ को अंकगणित

माओवादीको सहयोग पाएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अघिल्लोपटक काठमाडौं–५ बाट सहजै चुनाव जित्न सफल भएका थिए । पोखरेल २३ हजार २९ मत ल्याएर चुनाव जित्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले १३ हजार १६९ मत मात्रै पाए । पोखरेल ९ हजार ८६० मतान्तरले जित्न पुगेका थिए । त्यस अघि २०७० सालको चुनावमा पोखरेल कांग्रेसका नरहरि आचार्यसँग पराजित हुन पुगेका थिए ।

यसपटक के छ यो क्षेत्रको मतको अवस्था ?

दलीय समीकरण फेरिएपछि ३० वैशाखमा एमालेविरुद्ध कांग्रेस, माओवादी, नेकपा एस, जसपासहित मिलेर चुनाव लडे । स्थानीय तह निर्वाचनमा काठमाडौं ५ मा एमालेका वडाध्यक्षले १९ हजार ७०३ मत पाएका छन् । वडाध्यक्षमा यो क्षेत्रभरित नै कांग्रेसका उम्मेदवारले १४ हजार ८५३, माओवादीले १ हजार १६८, एसले १ हजार ८२७, राप्रपाका उम्मेदवारले २ हजार ८२२ मत पाएका छन् ।

गठबन्धनको जम्मा मत १७ हजार ९०६ देखिन्छ । गठबन्धनका दल मिल्दा पनि एमाले अझै १७९७ मतले अगाडि देखिन्छ । यसैले यो क्षेत्रमा

यसपटक रोमाञ्चक भिडन्त हुने अनुमान गरिएको छ । अर्थ क्षेत्रमा परिचित र नाम कमाएका स्वर्णिमलाई अघि सारे चुनाव थप रोमाञ्चक हुने छ । किनकी वाग्ले कांग्रेस भित्रबाट मात्रै होइन बाहिरका र विपक्षीले समेत रुचाउने अनुहार हुन् ।

कसले मार्ला बाजी ?

काठमाडौं ५ मतको हिसाबमा एमाले प्रभावित क्षेत्र हो । स्थानीय तहको निर्वाचनले पनि यही देखाउँछ । तर सत्ता गठबन्धनको तालमेल, एमाले विभाजन र सक्रिय राजनीतिकभन्दा बाहिरको उम्मेदवार हुँदा यसपटक सहजै चुनाव जित्न पोखरेललाई गाह्रो हुन सक्छ । किनकी एमाले विभाजनले यसपटकको निर्वाचनमा धेरै अर्थ राख्ने पक्का छ । नेकपा एसको थोरै जितहारमा काम लाग्ने बताइन्छ ।

स्वतन्त्र मतको फाइदा स्वर्णिमलाई

पोखरेलविरुद्ध टिकट पाए वाग्लेलाई दलबाहिरको स्वतन्त्र मतको पनि फाइदा पुग्नेछ । किनकी उनी कांग्रेसमा खुल्नु अघिदेखि नै धेरै दलले रुचाइने गरेका पात्र हुन् । गोरखामा जन्मेका वाग्लेले धेरै समय चितवन र काठमाडौंमा बिताएका छन् । उनी एसएलसीका बोर्ड सेकेण्ड पनि हुन् । अर्थतन्त्रका राम्रा जानकार रहनुको फाइदा उनलाई छ । उनी आफैंले पनि कार्यकारी भूमिका गएर काम गरेर देखाउने रहर आफूलाई भएको प्रतिक्रिया दिएका छन् ।

‘कार्यकारी भूमिकामा गएर काम देखाउने रहर छ । त्यो अवसर आए लिन्छु । म नाइ भन्दिनँ । दलीय व्यवस्थामा कार्यकारी भूमिकामा रहेर डाडूपन्यु लिंदा अझै धेरै गर्न सकिन्छ’ उनले केही दिन अघि एक टेलिभिजन कार्यक्रममा भनेका थिए, ‘राष्ट्रिय योजनामा आयोगमा बस्दा पनि मैंले राम्रो अनुभव प्राप्त गरेको छु । प्रधानमन्त्री अन्तर्गत, अर्थ, पूर्वाधार, पराष्ट्र मन्त्रालयमा बसेर काम गर्ने अवसर पाए केही दिन सक्छु भन्ने आत्मविश्वास ममा छ ।’

विदेशको आकर्षक जागिर त्यागेर वाग्ले नेपाल फर्किएका हुन् । श्रीलंका, लाओस् जस्ता देश कसरी आर्थिक मन्दीमा जकेडिए भनेर वाग्लेले विश्वमञ्चलाई बुझाएका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न नसकेको विषय निक्कै चर्चित भएको थियो । तर त्यही बेला वाग्लेले मोदीलाई भेटेको फोटो सार्वजनिक भएको थियो । अर्थविद्का रुपमा वाग्ले नेपालमा मात्रै होइन विदेशमा पनि म चलेका पात्र हुन् । यसैले उनलाई रुचाउनेमा पार्टीभित्रभन्दा बाहिरको पंक्ति ठूलो छ ।

धेरै मतको फाइदा पोखरेललाई

अरु जो उम्मेदवार आए पनि एमाले काठमाडौं ५ मा निक्कै बलियो छ । वैशाख ३० को स्थानीय तह निर्वाचनमा यो पूरै क्षेत्रमा एमालेका वडाध्यक्षले पाएको मतको आधारमा पनि पोखरेल आफैंमा बलिया उम्मेदवार हुन् । गठबन्धनका चार/पाँच दलको मत जोड्दा पनि पोखरेल १८ सय मतले अगाडि देखिन्छन् ।