NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

ज्ञानेन्द्रको गम्भीर घोषणा– राष्ट्रिय एकताको लागि अभिभावकीय भूमिकाको लागि तयार छु

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बलियो र राम्रो नेपालको लागि बलियो मियोमा आवद्ध भएर दिव्य चेतना फैलाउन आवश्यक रहेको बताएका छन् ।

दशैंको अवसरमा शुक्रबार भिडियो संदेश जारी गर्दै उनले राजनीतिक दलको गतिविधि र व्यवस्थाप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।

शाहले राष्ट्रिय एकताको लागि नागरिकले आफूबाट अभिभावकीय भूमिका चाहेको भन्दै आफू तयार रहेको पनि बताएका छन् ।

‘विद्यामान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ । पहिले पनि हामीले भनिसकेका छौं, हाम्रो कुनै कार्यले देश हार्न हुँदैन’ उनले भनेका छन्, ‘राष्ट्र, प्रजातन्त्र मौलिक मान्यताहरू र नेपाली एकता रक्षाका लागि एकजुट हुँदै अभिभावकीय राज्यव्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन् । जय नेपाल ।’

शाहले नागरिकता विधेयकतर्फ संकेत गर्दै बाहिरियाहरूलाई भित्र्याउन र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको बताएका छन् ।

‘एकातिर होनाहार नागरिकहरू बाहिर गएर भूभाग र हामीलाई उजाड पारिरहेका छन् । अर्कातिर बाहिरियाहरूलाई भित्र्याउन र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ’, शाहले भिडयो सन्देशमा भनेका छन् ।

१० मिनेट १९ सेकेन्ड रहेको उक्त भिडियोमा राजनीतिक दलहरूको पदलोप, सत्तास्वार्थ र भागबण्डाका कारण देशको भविष्य संटकग्रस्त हुँदै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन् ।

यस्तो ज्ञानेन्द्रले जारी गरेको भिडियो संदेशको पूर्ण पाठ 

प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ !
समाजमा सत्य स्थापित गर्ने, सद्भाव जागृत गर्ने र दानबी तात्पर्य नाश गर्ने दशैं पर्वको गहन आदर्श हो । हाम्रो संस्कार र व्यवहारमा दशैं मनाउँदा विद्यामान पद्धति र जीवन प्रकृतिको गहिरो दृष्टि हेर्दै जानुपर्छ । शान्ति होस्, सदाचार रहोस्, आपसी सदभाव भरोस्, दशैं पर्वको यही आशय हो ।

त्यसैले यस पावन अवसरमा देशभित्र र बाहिर बसेका सबै नेपालीहरूमा मंगलमय शुभकामना व्यक्त गर्दछौं । कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग वितिरहेको छ जस्तो हामीलाई लागेको छैन । बहुदलीय संसदीय प्रणालीमा जनताको आशा, आकांक्षा अनुरुप संगठित राजनीतिक दलहरू हुन्छन् । विभिन्न तहको प्रतिनिधिमा स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिधित्व हुन्छ । तीबाट जन मनोभावनाको परिपोषित परिपाठी रहन्छ । तर आस्था, सिद्धान्त र जनविश्वासका दृष्टि कति निष्ठावान र जनउत्तरदायी रहे भन्ने आजकाल जल्दोबल्दो प्रश्न बनेको छ । पदलोप, सत्तास्वार्थ, भागबण्डा गरेर आफ्नै सुविधाका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ ?

कार्यापालिका, व्यवस्थापिका र न्यायापालीकाका सबै अंगभित्र उत्पन्न विवाद, विग्रह र विकृतिले सर्वत्र प्रश्न उठेको छ । यो अवस्थाले जनतामा उत्साह छैन । मुलुकमा भविष्यप्रति र भविष्य निमार्णमा कुनै भरोसा छैन । दायित्व के ? गर्ने के ? गर्न नहुने के ? न्यायिक मूल्य के हो ? के होइन ? यी सबै कुराको निराकरण कसले गर्ने ? कोबाट हुने ? देश र जनतासामु खड्किएको ज्वलन्त प्रश्न यही हो । देशकाप्रति बफादारी र

जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि, व्यवस्था र संगठनको सही पात्र आज देशले खोजिरहेको छ ।

प्रयोग र अभ्यासबाट नै देशलाई बचाउने र बनाउँदै जाने हो । देशका मौलिक मूल्य र सहि विकल्पतर्फ हाम्रो मनोभाव बढ्दो रुपमा पाइन्छ । पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्न हुन्न भन्ने आमभावना रहेको छ । आफ्ना सनातनी मुलभूत महिमालाई विथोलेर केही संरचना बदलेर, केही नामन्तर गरेर सुन्दर र नौलो नेपाल भइहाल्दो रहेनछ । त्यसैले बलियो मियोमा आवद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ ।

नेपाल निरन्तर देशी विदेशीहरूको क्रिडाभूमि पनि भयो भन्ने जनगुनासो छ । त्यसैले स्वतन्त्र सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अडाएर सम्मुनत, सक्षम र समृद्धिको पुनर्निमाणमा ध्यान दिनुपर्ने देखिन्छ ।

नेपाललाई फेरि महान बनाउनु परेको छ । आफ्नै देशमा मौका नभएर हो कि बन्न खोजेर हो रोजगार र कमाउन भनेर दिनहुँ हजारौंको संख्यामा नेपाली युवायुवती विदेशी रहेका छन् । एकातिर होनाहार नागरिकहरू बाहिर गएर भूभाग र हामीलाई उजाड पारिरहेका छन् । अर्कातिर बाहियाहरुलाई भित्र्याउन र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ ।

विश्वका दुई ठूला मुलुककाबीचमा अवस्थिति हाम्रो देशको धर्म, संस्कृति सभ्यतामाथि केही समययता घातक प्रहार हुँदै आएको छ । डेढ दशकको राजनीतिक अभ्यासले ‘क्रस करेक्सन’को अपहारिर्यता सिद्ध गरेको छ । हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा छ । हाम्रा मौलिक, धार्मिक र सांस्कृतिक मान्यताहरू विस्थापित गर्नेक्रमलाई तीव्रता दिएको छ । परराष्ट्रनीति असन्तुलित भइहेको छ । राष्ट्रिय सुरक्षा संकटग्रस्त बन्दै गएको छ । व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट बनाएको छ । सर्वसाधारणको दैनिक जीवन सकसपूर्ण बनाएको छ ।

विद्यामान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ । पहिले पनि हामीले भनिसकेका छौं, हाम्रो कुनै कार्यले देश हार्न हुँदैन । राष्ट्र, प्रजातन्त्र मौलिक मान्यताहरू र नेपाली एकता रक्षाका लागि एकजुट हुँदै अभिभावकीय राज्यव्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन् । जय नेपाल ।

राजनीतिक दलहरूलाई पूर्वराजा ज्ञानेन्द्रको यस्तो छ चेतावनी