NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मधेसमा एमाले : अघिल्लोपटक बिजोग, अहिले गठबन्धनलाई धक्का दिंदै, कुन दलको शक्ति कति ?

काठमाडौं । २०७४ को निर्वाचनमा मधेश प्रदेशमा नमिठो हार व्यहोरेको एमालेले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा त्यसको बदला लिनेगरी विशेष मधेश चुनावी अभियान चलाएको छ ।

आगामी निर्वाचन जित्ने पहिलो प्राथमिकतामा अध्यक्ष ओलीले पार्टी प्रवेशलाई पहिलो प्राथमिकतामा राखेका छन् । दोस्रोमा गठबन्धन बाहिर रहेका महन्थ ठाकुर नेतृत्वको लोसपा र सिके राउत नेतृत्वको जनमत पार्टीसँग आवश्यकता अनुसार चुनावी तालमेल गर्ने रणनीति बनाएको छ ।

तेस्रोमा एमालेमाथि लाग्ने गरेको मधेश विरोधी ट्यागलाई मेटाउन राजनीतिक प्रशिक्षण तथा प्रचारप्रसार गर्ने नीति लिएको छ । त्यसका लागि ओलीले अघिल्लो निर्वाचनमा आफू विरुद्ध भ्रम फैलाउन भूमिका खेलेका मधेश केन्द्रित दलका नेताहरूलाई नै प्रयोग गर्ने रणनीति बनाएका छन् ।

२०७२ मा नेपालको संविधान जारी भएपछि सरकारको नेतृत्वमा आएका ओलीको मधेशलाई हेर्ने दृष्टिकोण अनुदार रहेको, पहाडिया राष्ट्रवाद हाबी भएको, मधेश आन्दोलनमाथि दमनकारी नीति लिएको आरोप मधेशकेन्द्रित दलले आरोप लगाउँदै आएका थिए । त्यतिबेला मधेश आन्दोलनमा सहभागी दल उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी सत्ता गठबन्धनमा रहेको छ । महन्थ ठाकुर नेतृत्वको दल लोसपा पार्टीले ओलीसँगै चुनावी सहकार्य गर्ने तयारी गरेको छ ।

अघिल्लो निर्वाचन बहिष्कार गरेका पृथकतावादी नेता डा. सिके राउत नेतृत्वको दल ओली सरकारकै पालामा सशस्त्र विद्रोह त्यागी शान्तिपूर्ण राजनीतिमा आएको थियो । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा भाग लिएको राउतको पार्टी १ प्रतिशत भोट ल्याउन सफल भयो । आगामी निर्वाचनमा राउतको पार्टी पनि ओलीसँगै सहकार्य गर्ने तयारीमा छ । तर अहिलेसम्म सिट बाँडफाँटमा यी दुई पार्टीले एमालेसँग कुनै सहमति गरेका छैनन् । एमालेसँग सहकार्य गर्न वार्ता टोली बनाएको लोसपाले शुक्रबार ओलीसँग भेट गर्दैछ ।

मधेशसँग यसअघिको घृणामिश्रित सम्बन्ध सुधारका लागि ओलीले केन्द्रीय सचिव तथा मधेश प्रदेशका इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य तथा सहइन्चार्ज प्रभु साहलाई अघि सारेका छन् । मधेश विशेष कार्यक्रम लिएर ओली आफैं मैदानमा उत्रिएका छन् । नेकपा विभाजनसँगै माओवादीका प्रभावशाली नेता साह, ज्वालाकुमारी साहलगायत नेताहरू एमालेमै रहेका छन् ।

मधेशमा कांग्रेस, माओवादी, जसपा, लोसपालगायत नेताहरूलाई उचित अवसर दिने आश्वासन दिँदै ओलीले पार्टी प्रवेश कार्यक्रम नै चलाएका छन् । धनुषा– २ को तीनकौरिया चोकमा शनिबार राखेको पार्टी प्रवेश कार्यक्रममा प्रतिनिधि सभाका निवर्तमान सदस्य एवं लोसपा सचेतक उमाशंकर अरगरियालाई ओलीले पार्टीमा भित्र्याए ।

यसअघि प्रतिनिधिसभाका तीन निवर्तमान सदस्यहरू हृदयेश त्रिपाठीको ‘स्वतन्त्र समूह’ बाट सांसद रहेका वृजेशकुमार गुप्ता, जसपाका सांसदद्वय अमृता अग्रहरी र रुही नाज एमाले प्रवेश गरिसकेका छन् ।

त्यस्तै लोसपाका केन्द्रीय सदस्य तथा मधेश प्रदेश सभाका सांसद प्रल्हाद गिरी पनि एमाले प्रवेश गरेका छन् । स्थानीय तह निर्वाचनमा मधेशमा दोस्रो स्थामा उक्लिएपछि हौसिएका ओली आगामी निर्वाचनमा पहिलो दल बन्ने दाउमा छन् । ओलीलाई आगामी निर्वाचनमा पूर्वमाओवादी, लोसपा, जनमत पार्टीलगायतका दलहरूको साथ रहेमा मधेशमा गठबन्धनले ठूलो चुनौती सामना गर्नुपर्ने देखिन्छ ।

यस्तो छ २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा दलहरूले पाएको सिट संख्या

आठ जिल्ला रहेको यो प्रदेशमा ३२ निर्वाचन क्षेत्र छन् । अघिल्लो निर्वाचनमा एमाले र माओवादीले गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धा गरेका थिए । सात प्रदेशमध्ये ६ प्रदेशमा वाम गठबन्धनले अत्याधिक बहुमत ल्याउँदा मधेश प्रदेशमा एमालेले निराशाजनक नतिजा हासिल गरेको थियो । एमालेले सिरहा १ र धनुषामा १ गरी जम्मा २ सिटमा चित्त बुझाएको थियो । माओवादीले सिरहामा १, सर्लाहीमा १, धनुषामा १, महोत्तरी १, रौतहटमा १ गरी जम्मा ५ सिट जित्यो ।

अघिल्लो निर्वाचनमा सवैभन्दा ठूलो दल रहेको राजपाले १० सिट जित्यो । संघीय समाजवादी दल ९ सिटसहित दोस्रो भएको थियो । ६ सिटसहित कांग्रेस तेस्रो भएको थियो । यसैगरी माओवादीले ५ सिट र एमाले २ सिट जितेर छैटौं स्थानमा रहेको थियो । राप्रपाले एक सिट पनि जित्न सकेन ।

२०७४ मा समानुपातिकतर्फ जिल्लागत रुपमा कुन दलको मत कति ?

अघिल्लो निर्वाचनमा मधेश प्रदेशमा कुल सदर मतमध्ये समानुपातिकतर्फ एमाले २७४३९३ मतसहित तेस्रो स्थानमा रहेको छ । कांग्रेस ४१२३३१ मतसहित पहिलो स्थानमा रहेको छ । यसैगरी संघीय समाजवादी २८१६३२ मतसहित दोस्रो स्थानमा रहेको छ । पाँचौं स्थानमा रहेको माओवादीको १९६१९७ मत पाएको छ । राजपाले २२८४१६ मतसहित चौंथो स्थानमा र छैटौं स्थानमा रहेको राप्रपाले ११३४८ मत पाएको छ ।
जिल्लागत रुपमा सिरहामा कांग्रेसको ५२५४३, एमालेको ५२७१६, संघीय समाजवादीको ४४३८२ मत रहेको छ । यसैगरी माओवादीको २७६५८, राजपाको १४९५० र राप्रपाको १११३ मत रहेको छ ।

यसैगरी सप्तरीमा कांग्रेसको ४५२९१, एमालेको ३०५२५, संघीय समाजवादी फोरमको ३२४९० रहेको छ । यस्तै माओवादीको १८८४७, राजपाको ४७२९९ र राप्रपाको २१९७ रहेको छ ।

त्यस्तै धनुषामा कांग्रेसको ६२१९९, एमालेको ३८१५०, संघीय समाजवादीको ५१११३ मत रहेको छ । माओवादीको २७१७८, राजपाको ५२००९ र राप्रपाको १४९४ मत रहेको छ ।

महोत्तरीमा कांग्रेसको ३४०२०, एमालेको १३९९४, संघीय समाजवादीको २९५५१ मत रहेको छ । यसैगरी माओवादीको २९२७३, राजपाको ६०२०१ र राप्रपाको ७३० मत रहेको छ ।

यसैगरी सर्लाहीमा कांग्रेसको ६२७२१, एमालेको ३१०९१, संघीय समाजवादीको १६६५६ मत रहेको छ । माओवादीले २९७६५, राजपाले १८२३८ र राप्रपाले १९०६ मत ल्याएका छन् ।

रौतहटमा कांग्रेसको ५२५१८, एमालेको ३८८१८, संघीय समाजवादीको २५३६४ मत रहेको छ । त्यस्तै माओवादीको ३३२७०, राजपाको ४१००३ र राप्रपाको ३६८ मत रहेको छ ।

त्यस्तै बारामा कांग्रेसले ५२४४७, एमालेले ४६९४३, संघीय समाजवादीले ४३२५५ मत ल्याएको थियो । माओवादीले १८३८७, राजपाले ३७२०३ र राप्रपाले २१६५ ल्याएका थिए ।

पर्सामा कांग्रेसको ५०५९२, एमालेको २२१५६, संघीय समाजवादीको ५३८२१ रहेको छ । त्यस्तै माओवादीको ११८१९, राजपाको १७७१४ र राप्रपाको १३७५ रहेको रहेको छ ।

यस्तो छ स्थानीय तह निर्वाचन २०७९मा दलहरूले पाएको मत

२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा पर्सामा कांग्रेस ८० हजार ९३१ मतसहित पहिलो दल भएको थियो । एमाले ६८ हजार ४५१ मतसहित दोस्रो ठूलो दल बन्न सफल भएको छ । विभाजनको बाबजुदपनि एमालेले यो जिल्लामा लोकप्रिय मत पाएको छ ।

यसैगरी जसपाको ५५ हजार ४४८, माओवादीको १४ हजार ४१७, लोसपाको १० हजार ४०९, राप्रपाको १४७६, नेकपा एसको ६ हजार ४९१ मत रहेको छ ।

बारामा पनि कांग्रेस ८८ हजार १५१ मतसहित पहिलो दल भएको छ । एमाले ८८ हजार ५५८ मतसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको जसपाले ४३ हजार ९३७, माओवादीले २८ हजार २४४, लोसपाले ३३ हजार ५०७, राप्रपाले ३९६५ र एसले १४ हजार ४५९ मत पाएको छ ।

यसैगरी धनुषामा कांग्रेसको ८७ हजार ३६९, एमालेको ६८ हजार ८९०, जसपाको ३९ हजार ५३०, माओवादीको ३९ हजार ९१४, लोसपाको २४ हजार २८४, राप्रपाको ६ हजार १७४, एसको २३ हजार ८२३ र जनमत पार्टीको १२ हजार ४५ मत रहेको छ ।

सर्लाहीमा पनि कांग्रेस नै अगाडि रहेको छ । उसले ९६ हजार ३४५ पाएको छ । एमालेको ६० हजार २६८, जसपाको ४३ हजार २९२, माओवादीको ६३ हजार ४३३, लोसपाको ३४ हजार ७२९, राप्रपाको ३ हजार २९५, एसको १२ हजार ४२५ र जनमत पार्टीको ७ हजार २८ मत पाएको छ ।

यसैगरी रौतहटमा कांग्रेसको ८० हजार ४२७, एमालेको ५८ हजार २४८, जसपाको ३५ हजार ३८२, माओवादीको ४२ हजार ७२६, लोसपाको १८ हजार ९८५, राप्रपाको ६१२, एसको, ५७ हजार २३५र जनमत पार्टीको ३ हजार १०५मत रहेको छ ।

महोत्तरीमा कांग्रेसले ५६ हजार ८४५, एमालेले ३६ हजार ३०७, जसपाले ३९ हजार ८३२, माओवादीले ३५ हजार ४०२, लोसपाले ४८ हजार ७३४, राप्रपाले १४२२ र नेकपा एसले ६ हजार २५९ पाएको छ ।