NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यी ५ सदावहार गीत जसले दशैँ आएको महसुस गराउँछन्

काठमाडौं । नेपालीहरूको विशेष पर्व वडा दशैँको रौनक र माहोल जताततै आइसकेको छ । दशैँ सुरु भएसँगै यससँग सम्बन्धित गीतहरू पनि विभिन्न सञ्चाररमाध्यम र सामाजिक सञ्जालमा छाइरहेका छन् । यी गीत–संगीत गुञ्जिएपछि दशैं साँच्चै आएको महसुस हुन्छ । घरमा हुने जमघटमा दशैंका गीत बज्दा यसले दशैँलाई थप विशेष बनाउँछ । अहिले बजारमा दशैँका थुप्रै नयाँ गीत आएका छन् । तर, जति नयाँ गीत आएपनि अधिकांशको घरमा बज्ने गीत पुरानै हुन्छन् । अझैपनि गाउँघरदेखि शहरसम्म ती पुराना गीतले नै प्राथमिकता पाउने गर्छन् । दशैँताका बढी गुञ्जिने सदावहार गीत यस्ता छन् ।

यी हुन् सदावहार ५ दशैँ गीत :

१. दशैँ आयो…

दशैंको समय ‘दशैँ आयो’ यो गीतले निकै लोकप्रियता पाउँछ । नेपाली चलचित्र ‘मुग्लान’को यो गीत दशैँको बेला सबैतिर बज्ने गर्छ ।

यो गीतलाई उदितनारायण झा, दीपा झा, नारायण लामा र जुना प्रसाईँले गाएका हुन् ।

गीतमा दीलिप रायमाझी, विपना थापा, रमित ढुंगाना, झरना थापा, सुशील क्षेत्रीलगायतले अभिनय गरेका छन् ।

गीतमा संगीत सुरेश अधिकारीले भरेका हुन् । यो गीत लोकनाथ सापकोटाले लेखेका हुन् । यो गीतलाई विशेषगरी विदेशिएका नेपालीले मनपराउने गरेका छन् ।

२. दशैँ–तिहार…

रवि क्षेष्ठको शब्द रहेको ‘दशैँ–तिहार’ गीतलाई सुगम पाखरेलले गाएका हुन् । यसमा संगीत भर्ने काम र अभिनय गर्ने काम पनि उनैले गरेका छन् ।

दशैँ–तिहार गीत दशैँमा सर्वाधिक सुनिने गीतमा पर्छ । गीतले दशैँ–तिहारको रमाइलो पक्षलाई देखाएको छ ।

यो गीतलाई युट्युबमा दुई करोड ९८ लाखभन्दा बढी पटक हेरिएको छ ।

३. फूलपाती भाकेर मनकामना…

नेपाली चलचित्र ‘भरोसा’को ‘फूलपाती भाकेर मनकामना’गीत पनि दशैँको समय निकै रुचाइने गीत हो ।

उदितनारायण झा र भारतीय गायिका साधना सरगमले गाएको गीतमा स्व. श्रीकृष्ण श्रेष्ठ, दीलिप रायमाझी, अरुणिमा लम्साल, उषा पौडेल र नन्दिता केसीलगायले अभिनय गरेका छन् ।

यो गीत पनि दशैँको सदावहार दशैँ गीतमा पर्छ ।

४. नमुछे आमा दहीमा टीका…

कृष्णभक्त राई र लक्ष्मी न्यौपानेको स्वरमा रहेको ‘नमुछे आमा दहीमा टीका’ गीतले दशैँमा घर जान नपाएका परदेशीकोे पीडा बालेको छ ।

गीतको संगीत नारायण माझीले भरेका हुन् । यो गीत पनि दशैँको बेला घरदैलोमा बज्ने गीतमध्ये एक हो ।

पछिल्लो समय यो गीतलाई गायिका रचना रिमालको स्वरमा ‘रिमेक’ गरिएको छ ।

५. फौजीलाई कुन हो दशैँ कुन चाड तिहार…

‘फौजीलाई कुन हो दशैँ कुन चाड तिहार’ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलगायत सुरक्षा क्षेत्रमा काम गर्नेहरूको जीवनीमा आधारित छ ।

सशस्त्र प्रहरी बलले सिर्जना गरेको यस गीतको शब्द दीपक कोइरालाले कोरेका हुन् ।

स्वर भने जगदीश समालले दिएका छन् । गीतको संगीत गैरे सुरेशले भरेका छन् । गीतको भिडियोमा दीपक, सुरेशलगायतको अभिनय देख्न सकिन्छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष