NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेकपा एसका पदाधिकारी : को सुरक्षित ? को असुरक्षित ?

काठमाडौं । देउवा नेतृत्वको गठबन्धन सरकारको निर्णायक दल एकीकृत समाजवादी मंसिर ४ मा हुने निर्वाचनको लागि आन्तरिक तयारीमा व्यस्त रहेको छ ।

एमालेबाट विद्रोह गरी गठन भएको उक्त दलले १५ महिनामा दोस्रो पटक चुनावमा भाग लिन लागेको हो । स्थानीय तह निर्वाचनमा गठबन्धनको असहयोगका कारण अपेक्षित परिणाम ल्याउन नसकेको आरोप लगाएको उसले गठबन्धनकै सहयोगमा आगामी निर्वाचनमा भिड्न लागेको छ ।

मैदानमा एसको उपस्थिति ठूलो नभएपनि एमालेका उम्मेदवार हराउन निर्णायक शक्ति मानिएको छ । योपटक एमालेका लागि माओवादीपछि थप चुनौती नेकपा एस नै देखिन्छ । योपटक एमालेबाहेकका वामपन्थी दलहरू गठबन्धनबाट नै चुनावी प्रतिस्पर्धा गर्दैछन् । यसको प्रत्यक्ष फाइदा कांग्रेसले उठाउने र एमालेले क्षति व्यहोर्ने धेरैको अनुमान छ । एमालेबाट विद्रोह गरी एमालेलाई नै चुनौती दिन मैदानमा उत्रिएको एकीकृत समाजवादीले कति सिट ल्याउला भन्नेमा धेरै उत्सुकता छ । किनकी फुटेर नयाँ दल बन्दा चुनावमा उल्लेख्य सफलता पाएको इतिहास कम छैन ।

गठबन्धनसँग प्रतिनिधिसभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये कम्तिमा ३० सिट संख्या दाबी गरेको उनसले १७ सिट पाउने सहमती भएको कार्यदलका एक सदस्यले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले सो सिट सँख्यामा सहमति गरेको हो । जसअनुसार समाजवादीले इलाम १, रौतहट १, बारा ४, धादिङ १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १, अछाम १, बझाङ र डोटीको निर्वाचन क्षेत्र दिइने भएको हो ।
तर, ती मध्ये बारा ४, धादिङ १, अछाम १ मा अन्य पार्टीसमेत दाबी गरेकाले अन्तिम रुप दिन बाँकी रहेको ती सदस्यले बताएका छन् । यद्यपि नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सहमति जुट्नै बाँकी रहेकाले कम्तिमा २२ सिटसम्म सहमति जुट्ने दाबी गरेका छन् ।

‘हामीहरूकै विद्रोहबाट गठबन्धन सरकार बन्न सफल भएको हो । अहिले हाम्रो २३ जना जनप्रतिनिधि छन् । अघिल्लोपटक एमालेले जितेको ठाउँमा स्वभाविक रूपमा हाम्रो दाबी रहन्छ’, ज्वालाले भने, ‘देशभर धेरै ठाउँमा एकीकृत समाजवादीको प्रभावित क्षेत्र छन् । वस्तुगत स्थितिको मूल्याङकन गरी न्यूनतम २२ सिटसम्म हाम्रो दाबी रहन्छ ।’

एकीकृत समाजवादीले पाउने सिट संख्याको सम्बन्धमा अध्यक्ष माधव नेपाललगायत पदाधिकारी नेताहरू नै सन्तुष्ट रहेका छैनन् ।अध्यक्ष नेपालले अपमान सहेर निर्वाचनमा भाग लिन नसकिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । गठबन्धनका कारण सिमित सिट संख्या पाउन र अर्कोतर्फ पार्टीभित्र उम्मेदवारको आकांक्षी धेरै रहेकाले नेताहरूको व्यवस्थापन गर्न नेपाल निकै अप्ठ्यारोमा परेका छन् ।

नेकपा एसबाट को–को उठ्दैछन् ?

ज्वालाले पदाधिकारीमा महासचिव भुसाल, सचिवद्वय गरिमा साह र जयन्ती राई राष्ट्रिय सभामा रहेकाले निर्वाचनमा भाग नलिने बताए । अघिल्लोपटक समानुपातिक सदस्य रहेका मुकुन्द न्यौपाने योपटक पनि नउठ्ने भएका छन् । त्यस्तै केदार न्यौपाने र प्रदीप नेपालले निर्वाचन नलड्ने भएका छन् ।

एउटै जिल्लामा दुई–तीन जनासम्म प्रभावशाली नेता भएकाले उनीहरूको कसरी व्यवस्थापन गर्ने भन्नेमा अलमल देखिएको छ । गठबन्धनमा भागबण्डा मिलाउँदा निर्वाचन क्षेत्र हेरेर नेताहरूको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । अहिलेसम्म एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्य उठ्नेमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, वाग्मती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, धर्मनाथ साह, उपमहासचिव प्रकाश ज्वाला उठ्ने पक्का भएको छ ।

त्यस्तै उपमहासचिव डा. विजय पौडेल, जगन्नाथ खतिवडा, सचिव नागेन्द्र चौधरी, राजेन्द्र राई, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ निर्वाचनमा उठ्ने तयारीमा छन् ।उपाध्यक्ष केशवलाल श्रेष्ठ उठ्ने वा नउठ्नेबारे दोधारमा रहेका छन् । उपाध्यक्ष प्रमेश हमाल, घनेन्द्र बस्नेत नउठ्ने सम्भावना रहेको छ । उपमहासचिव डा. गंगालाल तुलाधर धादिङबाट उठ्न चाहेपनि पाण्डे उठ्ने भएपछि उनी पछाडि हटेका छन् । त्यस्तै सचिव नागेन्द्र चौधरी र भागवत विश्वासी उठ्ने सम्बन्धमा अहिलेसम्म धारणा बनाएका छैनन् ।

कसको स्थिति कस्तो छ ?

माधव नेपाल

अघिल्लो निर्वाचनमा वामगठबन्धनका साझा उम्मेदवार रहेका नेपाल काठमाडौं २ बाट विजयी भएका थिए । योपटक उनी गृहजिल्ला रौतहटबाट चुनावमा भाग लिने भएका छन् । एकीकृत समाजवादीको पक्कड क्षेत्र रहेको रौतहट–१ बाट चुनावमा उठ्न लागेका हुन् । स्रोतका अनुसार गठबन्धनबाट चुनाव लड्दा काठमाडौं–२ नेपालका लागि सुरक्षित देखिएपनि विश्वस्त हुन नसकेपछि योपटक गृहजिल्ला जान लागेका हुन् ।

रौतहट–१ मा अघिल्लोपटक राष्ट्रिय जनता पार्टीका उम्मेदवार अनिल झाले जितेका थिए । झा २१ हजार ४७२ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार कृष्णप्रसाद यादवले १५ हजार ८७४ मत पाएका थिए । झाको मतान्तर ५ हजार ५९५ रहेको छ । माओवादीका सत्यनारायण भगले १२ हजार ३३१ मत पाएका थिए ।

स्थानीय तह निर्वाचनमा रौतहट– १ बाट एसले १९६९८, कांग्रेसले १६९२८, लोसपाले १२०६२, जसपाले ८२४१, माओवादीले ८१९१ र एमालेले ७३८५ मत पाएका थिए । यो क्षेत्रमा गठबन्धनको जम्मा मत ५३ हजार ५८ रहेको छ । एमालेसँगको मतान्तर ४५ हजार ६७३ रहेको छ । नेपाल २०७० को निर्वाचनमा पनि काठमाडौं–२ र रौतहट–१ बाट निर्वाचित भएका थिए । मतपरिणाम हेर्दा नेपाल रौतहट–१ मा सुरक्षित रहेका देखिन्छन् ।

झलनाथ खनाल

२०४८ देखि २०५६ कोबाहेक लगातार इलाम क्षेत्र–१ बाट प्रतिनिधिसभामा निर्वाचित रहेका पूर्वप्रधानमन्त्री एवं नेता खनाल योपटक पनि साविक क्षेत्रबाट नै निर्वाचनमा भाग लिने भएका छन् । अघिल्लो निर्वाचनमा खनाल ३८ हजार ८०५ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६३८ मत पाएका थिए । उनको मतान्तर १७ हजार १६७ रहेको छ ।
स्थानीय तह निर्वाचनमा इलाम–१ मा एमालेको २६२३३, कांग्रेस २५७७२, एस ९४८१, जसपा १८२९, माओवादी १२३५ र राप्रपाको ११६९ मत रहेको छ । यो क्षेत्रमा गठबन्धनको जम्मा मत ३८ हजार ३१७ मत रहेको छ । एमालेसँगको मतान्तर १२ हजार ८४ रहेको छ ।
राजेन्द्र पाण्डे

वाग्मती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका उपाध्यक्ष राजेन्द्र पाण्डे अघिल्लो निर्वाचनमा धादिङ–१ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । तर योपटक धादिङ–१ बाट उठ्ने तयारी गरेका छन् । कम्यृुनिष्ट प्रभावित क्षेत्र रहेको धदिङ–१ बाट माओवादीका नेता शालिकराम जमकट्टेललेसमेत दाबी गरेका छन् । २०७४ को निर्वाचनमा क्षेत्र नं. १ बाट एमालेका भूमि त्रिपाठी अत्याधिक मत ल्याइ विजयी भएका थिए । त्रिपाठीले ४९ हजार १२१ मत ल्याइ विजयी भएका थिए । उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९६८ मत पाएका थिए । त्रिपाठीको मतान्तर २७ हजार १५३ रहेको छ ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले १९४२३, एमालेले ३७७७८, माओवादीले २४९२५, राप्रपाले १२२२, एसले ८८३६ मत पाएका थिए । गठबन्धनको जम्मा मत ५३ हजार १८४ रहेको छ । मतान्तर १५ हजार ४०६ रहेको छ ।

धर्मनाथ साह

उपाध्यक्ष धर्मनाथ साह आगामी निर्वाचनमा सिराह–४ बाट उठ्ने तयारी गरेका छन् । अघिल्लो निर्वाचना यो क्षेत्रबाट राजपाका नेता राजकिशोर यादव विजयी भएका थिए । उनले २१ हजार १४४ मत ल्याइ ल्याइ विजयी हुँदा माओवादीका उम्मेदवार अजयशंकर नायकले १७ हजार ५७५ मत पाएका थिए । यादवको मतान्तर ३५६९ रहेको छ ।

स्थानीय तह निर्वाचनमा एमालेले १४६७१, जसपाले १३६१४, कांग्रेसले १२८०६, माओवादीले ११६८६, जनमत पार्टीले ६१४२, एसले ३६००, राप्रपाले १२४४ र लोसपाले १९७ मत पाएका थिए । गठबन्धनको जम्मा मत ४१ हजार ७०६ मत पाएको छ । मतान्तर २७ हजार ३५ रहेको छ ।

प्रकाश ज्वाला

२०७४ मा सल्यान ख बाट प्रदेशसभामा निर्वाचित भएका उपमहासचिव प्रकाश ज्वालाले एमालेसँग विद्रोह गरी माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकार जोगाएका थिए । योपटक सल्यानबाट प्रतिनिधिसभामा उठ्ने तयारी गरेका छन् । सल्यान एसका लागि तुलनात्मक रुपमा जनाधार बलियो क्षेत्र हो । नेपालका अति विश्वासिला पात्र रहेका ज्वालालाई माओवादीले चुनौती दिएका छन् । अघिल्लो निर्वाचनमा माओवादीका टेकबहादुर बस्नेतले टिकट पाएपछि उनी प्रदेशसभामा गएका हुन् । योपटक पनि बस्नेत नै दोहोरिन चाहेका छन् । अघिल्लोपटक बस्नेतले ४० हजार ८९ मत ल्याई विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत पाएका थिए । बस्नेतको मतान्तर ११ हजार १३० रहेको छ ।

स्थानीय तह निर्वाचनमा सल्यानमा कांग्रेसले ३३६१६, माओवादीले २६७१३, एमालेले २६६२८, एसले ९४६७ र राप्रपाले २११७ मत पाएको थियो । गठबन्धनको जम्मा मत ६९ हजार ७९६ रहेको छ । मतान्तर ४३ हजार १६८ रहेको छ ।

विजय पौडेल

डा. विजय पौडेल काठमाडौंबाट उठ्ने भनिए पनि निश्चित छैन । उनको निर्वाचन क्षेत्र काठमाडौं–१० रहेकाले त्यहाँ कांग्रेसले छोड्ने अवस्था देखिँदैन । २०७० को निर्वाचनमा माओवादीका अध्यक्ष प्रचण्डलाई कांग्रेसका राजेन्द्र केसी विजयी भएका थिए । २०७४ मा माओवादीकै हितमान शाक्यलाई हराएका थिए । अघिल्लो निर्वाचनमा केसीले २४ हजार १९० मत ल्याई विजयी भएका थिए । उनका प्रतिस्पर्धी माओवादीका हितमान शाक्य २१९०७ मत ल्याएर पराजित भएका थिए ।

जगन्नाथ खतिवडा

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा उदयपुर– २ बाट निर्वाचनमा भाग लिने तयारी गरेका छन् । तर यो क्षेत्र खतिवडाले पाउने अवस्था छैन । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट माओवादीको उम्मेदवार सुरेशकुमार राई २२ हजार ५५१ मत ल्याई विजयी भएका थिए । उनका प्रतिस्पर्धी नारायणकुमार कार्कीले १५ हजार ४५५ मत पाएका थिए । राईको मतान्तर ७ हजार ९६ रहेको छ ।

स्थानीय तह निर्वाचनमा एमालेको १८५७३, कांग्रेसको ११३४४, माओवादीको ८२०२, एसको ३४२७ र जसपाको १४३४ रहेको छ । गठबन्धनको जम्मा मत २४ हजार ४०७ रहेको छ । मतान्तर ५ हजार ८३४ रहेको छ ।

राजेन्द्र राई

प्रदेश–१ का मुख्यमन्त्रीसमेत रहेका सचिव राजेन्द्र राई योपटक भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने भएका छन् । त्यहाँ अघिल्लोपटक माओवादीका सुदन किराँतीले जितेका थिए । योपटक पनि उनी आफै उठ्न चाहेका छन् । अघिल्लो निर्वाचनमा भोजपुर क बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रतिनिधिसभामा माओवादीका सुदन किँरातीले ३४ हजार ३९४ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार उमेशजंग रायमाझीले २१ हजार ६९६ मत पाएका थिए । मतान्तर १२६९८ रहेको छ ।

स्थानीय तह निर्वाचनमा एमालेले २७६५६, कांग्रेसले २३५९९, माओवादीले १४७६१, एसले १९४५ र जसपाले १६४५ मत पाएका थिए । गठबन्धनको जम्मा मत ४१ हजार ९५० रहेको छ । मतान्तर १४ हजार २९४ रहेको छ ।

रामकुमारी झाँक्री

अघिल्लो निर्वाचनमा समानुपातिक सदस्य रहेकी सचिव रामकुमारी झाँक्रीलाई योपटक गठबन्धनले गुल्मी –२ बाट उठाउने तयारी गरेको छ । यो क्षेत्र एमालेका सचिव गोकर्ण विष्टको क्षेत्र हो । एमाले विभाजनमा महत्वपूर्ण भूमिका खेलेकी झाँक्री शहरी विकासमन्त्रीसमेत भइन । तर पूराकार्यकाल मन्त्री हुन नपाएकोमा असन्तुष्ट देखिएकी उनले चुनावमा भाग लिनेबारे मुख खोलेकी छैनन् । गुल्लीमा विष्ट ३४ हजार ६१८ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १५७ मत पाएका थिए । मतान्तर ७ हजार ५५८ रहेको छ ।

स्थानीय तह निर्वाचनमा एमालेको ३१२५३, कांग्रेसको २९८२१, माओवादीको १८४१, एसको ६५८ र राप्रपाको १०१ मत रहेको छ । गठबन्धनको जम्मा मत ३२ हजार ३२० मत रहेको छ । मतान्तर १०६७ रहेको छ । गठबन्धनका सबै दल एक ठाउँमा उभिंदा पनि यो क्षेत्रबाट झाँक्रीलाई चुनाव जित्न निकै मुस्किल देखिन्छ ।

जीवनराम श्रेष्ठ

पर्यटमन्त्रीसमेत रहेका सचिव जीवनराम श्रेष्ठ काठमाडौं– ८ बाट उठ्ने तयारीमा छन् । अघिल्लो निर्वाचनमा सोही क्षेत्रमा एमालेबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनले १३ हजार ३९७ मत ल्याइ जितेका थिए । उनको निकटतम प्रतिद्वन्द्वी १२ हजार ९५३ मत पाएका थिए । श्रेष्ठको मतान्तर ४४४ रहेको छ ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले १०८७२, एमालेले ९२५३, एसले ५१४२, राप्रपाले ३१६०, माओवादीले १८९ मत पाएको थियो । गठबन्धनको जम्मा मत १६ हजार २०३ रहेको छ । मतान्तर ६ हजार ९५० रहेको छ ।

गठबन्धन दलहरूबीच भागबण्डा मिलाउँदा एकीकृत समाजवादीका सबै पदाधिकारीले टिकट पाउनै मुस्किल देखिन्छ । २२ जना पदाधिकारीमध्ये नेपाल, खनाल, पाण्डे, साह र ज्वालाले टिकट पाउने पक्कापक्की देखिन्छ । त्यस्तै राई र श्रेष्ठले टिकट पाउने सम्भावना रहेको छ । झाँक्री र खतिवडाले टिकट पाएपनि जित्न मुस्किल देखिन्छ । स्थानीय मतको आधारमा एमालेभन्दा गठबन्धन दल बलियो देखिएकाले एसका निर्वाचन क्षेत्र सुरक्षित देखिएको छ । तर नयाँ मतदाताको मनोविज्ञान, चुनावी एजेण्डा, प्रतिस्पर्धी दलको उम्मेदवार आदिका कारण चुनावी परिणामलाई फरक पार्न सक्छ ।