NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

ओलीसँग माफी मागेर चुनावमा भाग नलिने निष्कर्षमा भीम र घनश्याम

काठमाडौं । एमालेभित्र एकतापक्षधर नेताहरूलाई माफी मागे मात्र टिकट दिने अध्यक्ष केपी ओलीको अडान शीर्षकको समाचार बाहिरिएपछि एमालेभित्र ठूलै तरङग गएको छ ।

आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार छनोटका लागि एमाले यतिबेला आन्तरिक छलफलमा व्यस्त छ । प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० सदस्यका लागि तल्ला कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारबारे छलफल गर्न ओली निवास बालकोटमा बुधबार र बिहीबार सचिवालय बैठक बसेको थियो ।

बिहीबार रातिसम्म बसेको बैठकमा ओलीले एकता पक्षधर भनिएका नेताहरूले माफी नमागेसम्म टिकट नदिने अडान राखिएको समाचार बाहिरिएपछि एमालेभित्र तरंग उत्पन्न भएको हो ।

१० भाइ नेतामध्ये पछिल्लो समय ओलीको कटु आलोचकका रुपमा डा. भीम रावल र घनश्याम भुसाल देखिदै आएका छन् । यी दुई नेताले गत मंसिरमा चितवनमा भएको महाधिवेशनमासमेत ओली विरुद्ध उम्मेदवारी दिएका थिए । स्थानीय तह निर्वाचनमा ओलीको पराजय भएको भन्दै नैतिकताको आधारमा उनले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

भुसालको अभिव्यक्तिबाट चिडिएका ओलीले अनुशासनको कारवाही गर्ने सार्वजनिक चेतावनी दिएका थिए । आफ्नै पार्टीको सरकार ढालेर विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर अनुसाशनहीन काम गरेको ओलीले आरोप लगाउँदै आएका छन् ।

बुधबारको बैठकमा पनि यीनै नेतालाई टिकट दिने विषयमा ओलीले विशेष चासो राखेको समाचार बाहिरिएको थियो । एकता पक्षधर भनिएका नेताहरूले पार्टी अनुशासनहीन काम गरेकाले माफीनामा नगरेसम्म टिकट दिँदा पछि समस्या आउने विषय ओलीले बैठकमा राखेको सूचना चुहिएको थियो ।

तर ओलीका सचिवालयले समाचारको खण्डन गर्दै प्रायोजित र नियोजित समाचार बनाएर मिडियाले एमालेभित्र खेल्लन खोजेको आरोप लगाएका छन् । ओलीका सञ्चार विज्ञ रामशरण बजगाइँले झुटा सामाग्री प्रकाशन गर्नुभन्दा पार्टीकै चुनाव प्रचारमा लाग्न सम्पादकहरूलाई सुझाव दिएका छन् ।

‘एमालेको समानुपातिक सूचीबाट पूर्वमाओवादी असन्तुष्ट भएको, १० बुँदे वालालाई टिकट दिँदा ओलीले माफीनामा खोजेको’ आदि झुटा सामग्री प्रकाशित गर्नु भन्दा बरु त्यस्तो लेखाउने पार्टीकै चुनाव प्रचारमा लाग्न सम्पादकहरुलाई सुझाव दिन्छु । तपाईंहरुले कुन पार्टीको लागि लेख्नुहुन्छ भन्ने नखुलेको भए पो यस्ता दुश्प्रचार पत्याइन्थ्यो’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सचिवालय सदस्य पद्यमा अर्यालले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेताहरूले माफी माग्नुपर्ने भन्ने विषय निराधार भएको जिकिर गरेकी छन् । बिहीबारको बैठकमा उम्मेदवारबारे घनिभूत छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको उनले बताइन् ।

‘उम्मेदवार छनोटको जिम्मा बैठकले अध्यक्षज्यूलाई दिएको छ । आवश्यकता अनुसार उहाँले पार्टीका नेताहरू र सम्बन्धित कमिटीसँगको परामर्शमा उम्मेदवार चयन गर्नुहुन्छ’, अर्यालले भनिन्, ‘चुनावमा केही दलहरू पनि एमालेसँग सहकार्य गर्न इच्छुक रहेकाले ती

दललाईसमेत ध्यानमा राखि उम्मेदवार छनोट गरिन्छ । तर एकता पक्षधर भनिएका नेताहरूलाई माफी नमागेसम्म टिकट दिन नसकिने ओलीको अडान भनेर जसरी बाहिर मिडियाबाजी भएका छन्, ती निराधार हल्ला हुन् ।’

चुनावको मुखमा एमालेको आन्तरिक एकता खलबल्याउनका लागि सुनियोजित प्रचार भएको हुनसक्ने उनले बताइन् । सर्तनामा पुरा गरेमात्र एकता पक्षधरहरूलाई ओलीले टिकट दिने भन्नेबारे आफूहरूलाई १० बुँदेका संयोजकसमेत रहेका नेता भीम रावलले बताए ।
‘माफीनामा गरेमात्र एकता पक्षधरलाई टिकट दिने भन्ने विषय मैले पनि मिडियामार्फत थाहा पाएको हो । म पार्टी कामको शिलशिलामा अहिले सुदूरपश्चिमा छु । पार्टीबाट यो विषयमा मलाई अहिलेसम्म कसैले जानकारी दिएका पनि छैन । मैले अध्यक्षलाई भेटेको पनि छैन । अध्यक्षज्यूले पनि हामीसँग कुनै कुरा गर्नुभएको छैन । यदि बैठकमा अध्यक्षले त्यस्तो प्रस्ताव राख्नुभएको हो भने हास्यस्पद हो । सर्तनामा गरेर टिकट लिने पक्षमा हामी छैनौं ।’

यस्तै सर्तनामाको विषयमा नेता भुसालको सचिवालयले पनि मुख खोलेको छ । सचिवालयका अनुसार माफीनामा गरेर टिकट लिनुभन्दा चुनावमै भाग नलिने निष्कर्षमा भुसाल पुगेका छन् ।

‘कम्युनिष्ट आन्दोलन बचाउनका लागि सहि सिद्धान्त र नेतृत्वको विषयमा खबरदारी गर्दा माफी माग्नुपर्छ भने पहिले दुई–दुई पटक संसद विघटन गरेकोमा ओलीले माफी माग्नुपर्छ’, भुसालको सचिवालयका एक सदस्यले भनेका छन्, ‘घनश्याम भुसाल माफी मागेर चुनाव लड्न ओली निवास जानुहुन्न । अन्य नेता जान्छन् भने त्यो उहाँहरूको विषय हो । त्यसरी माफीनामा गर्नुभन्दा उहाँ निर्वाचनमा भागै लिनुहुन्न ।’

सुदूरपश्चिका सहइन्चार्ज तथा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले एमालेलाई कमजोर बनाउन सुनियोजित रुपमा मिडियाबाजी भएको बताए ।

‘अध्यक्षले नचाहेको भए रघुजी पन्त समानुपातिकमै पर्ने थिएनन् । भीम रावलाई कसरी सर्वसम्मत उम्मेदवार छनोट भएर आए । तीमध्ये युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले चुनाव निकै खर्चिलो भएकाले आफैले चुनावमा भाग नलिने भनेका हुन् । अन्य नेताहरू जिल्लाबाट सिफारिस भएर आएकै छन् । निर्वाचनमा भाग लिन चाहिरहेकै छन्’, उनले भने, यी सबै निराधार कुरा हुन् । एमालेलाई कमजोर बनाउन सुनियोजित रुपमा गरिएको प्रचारबाजी हो । यसमा कुनै सत्यता छैन ।’

यस्तो छ १० बुँदेको वास्तविकता

तत्कालिन प्रधानमन्त्री ओलीले ५ पुस २०७७ मा हठात संसद विघटन गरेपछि नेकपाभित्र प्रचण्ड–माधव समूहले ओली विरुद्ध देशव्यापी सडक संघर्ष चलाएका थिए । नेकपा विवादसम्बन्धी सर्वोच्चमा परेको मुद्दामाथि सुनुवाइ गर्दै अदालतले नेकपा खारेज गरेको थियो । नेकपा खारेज भएसँगै साविक एमाले र माओवादी अलग पार्टीको अस्तित्वमा आएको थियो ।

एमाले ब्यूँतिएसँगै माधव–झलनाथ समूह साविक पार्टीमै फर्किका थिए । ओलीले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी १० औं आयोजक कमिटी बनाए । ओलीका कदमबाट झस्किएका माधव–झलनाथ समूह ओली विरुद्ध देशव्यापी समानन्तर कमिटी बनाए । जेठ ८ २०७८ मा ओलीले दोस्रोपटक संसद विघनट गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि माधव–झलनाथ समूहका २७ सांसदले संसद पुनस्र्थापना र विपक्षी दलका नेतासमेत रहेका देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर राष्ट्रपतिको कार्यालयमा बुझाएका थिए ।

राष्ट्रपतिले गठबन्धनको निवेदनलाई खारेज गर्दै प्रधानमन्त्रीमा ओलीलाई निरन्तरता दिएकी थिइन् । सोही कदम विरुद्ध देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा सशरिर उपस्थित भएर हस्ताक्षर बुझाएका थिए । आफू नेतृत्वको सरकार ढाल्न आफ्नै सांसदले अदालतमा हस्ताक्षर बुझाएपछि आक्रोसित भएका ओलीले माधवसहित १४ सांसदलाई कारवाही गरेका थिए ।

राजनीतिक खिचातानिले पार्टी नै विभाजन हुने अवस्थामा पुग्यो । एमाले विभाजनबाट रोक्न २७ असार २०७८ मा डा. भीम रावलको संयोजनमा १० बुँदे सहमति भएको थियो । सहमति भएको मशी सुक्न नपाउँदै ओलीले दोस्रोपटक विघटन गरेको संसद सर्वोच्चले असार २८ मा पुनस्र्थापना गर्यो । २४ घण्टाभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

तर भदौ २ गते माधव–झलनाथ समूह एमालेबाट अलगिने निर्णय गर्यो । पार्टी विभाजन रोक्न १० बुँदे सहमति गरेका माधव समूहका रावलसहित १० जना नेताहरूले माधवलाई साथ दिएनन् । उनीहरू एमालेमै फर्किए । एमाले फर्किनेमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, घनश्याम भुसाल, रघुजी पन्त, अमृत बोहरा रहेका छन् । त्यस्तै सांसद पवित्रा निरौला खरेल, यज्ञराज सुनुवार, नारायण खतिवडा, गणेश पाहाडी, झपट रावल, दीपकप्रकाश भट्ट पनि एमालेमै फर्र्किकका थिए ।