NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कांग्रेसले बदल्यो समानुपातिक सूची, को हटे ? को थपिए ?

काठमाडौं । आन्तरिक असन्तुष्टिपछि कांग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभातर्फको समानुपातिकको बन्दसूची हेरफेर गरेको छ । पहिलोपटक ३ असोजमा आयोगमा समानुपातिकको बन्दसूची बुझाइए पनि डा. शेखर कोइराला पक्षले असन्तुष्टि जनाएपछि पार्टीं संस्थापन पक्षले केही नाम हेरफेर गरेको हो ।

समानुपातिकतर्फ १०९ जनामा आफ्नो तर्फबाट १४ जनामात्रै समेटिएपछि शेखर पक्षले विद्रोह गर्ने चेतावनी दिएको थियो । यसैले १६ गतेसम्म नाम परिवर्तन गर्न पाउने भएपछि संस्थापन पक्षले केही नाम थप गर्ने, केही हटाउने र केहीको क्रम मिलाउने काम गरेर फेरि निर्वाचन आयोगमा बुझाएको हो ।

कसरी गरियो हेरफेर ?

शेखर कोइरालाको असन्तुष्टिपछि शनिबार रातभरि नै सूची मिलाउन कांग्रेसका नेताहरु बालुवाटारको छलफलमा जुटेका थिए । सोही बैठकले समानुपातिकको सूचीमा शेखर कोइराला पक्षको हिस्सा कम्तिमा ३३ प्रतिशत पुर्याएको एक नेताले जानकारी दिए ।

‘३ असोजमा नै बन्द सूची बुझाइए पनि पार्टीमा एक पक्षले असन्तुष्टि जनाएपछि तनावको स्थिति सिर्जना भयो । यसैले हामी लामो समय छलफलमा जुट्दै नाम संसोधन गर्न तयार भएका हौं’ ती नेताले भने, ‘उम्मेदवारमा उहाँँहरुको दाबी ४० प्रतिशत थियो । तर ३३ हाराहारी प्रतिशत संसोधितमा समेटिएको छ ।’

३ असोजमा बुझाएको सूचीमा शेखर पक्षका थोरैमात्रै समेटिएका थिए । कांग्रेसले समानुपातिककमा ४० जना जिते पनि १४ जनाले ४० प्रतिशत पुग्ने थिएनन् । फेरि क्रममा पहिले पछाडि पारिएपछि सबैको सांसद बन्ने सम्भावना पनि थिएन । त्यसैले पछिल्लो संसोधनमा केही नाम संसोधन र केहीको क्रम पनि तलमाथि गरिएको छ ।

यस अघि समानुपातिकका विभिन्न क्लस्टरगत उम्मेदवार तय गर्दा संस्थापन देउवापक्षका नेताहरु क्रममा अगाडि देखिएका थिए । तर अब भने प्रत्येक क्लस्टरमा ५ जना पर्दा ३ जना संस्थापन र २ जना शेखर पक्षका पारिएका छन् । यतिमात्रै होइन महिला क्लस्टरमा पहिलो नम्बरमा रहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुलाई अब तीन नम्बरमा पुर्याइएको छ । गृहमन्त्रीपत्नी मञ्जु खाँणसमेत समानुपातिकमा पारिएपछि यसपटक धेरै नै असन्तुष्टि व्यक्त भएकाे थियाे ।

के के गरेका थिए शेखर पक्षले ?

समूहको भेला गर्दै शेखर पक्षले एकलौटी निर्णय नमान्ने, सूची नसच्चिए देशैभर प्रत्यक्षमा उम्मेदवारी दिने, गठबन्धनका उम्मेदवारविरुद्ध पनि उम्मेदवारी दिएर अघि बढ्ने चेतावनी दिएका थिए । यसैले सभापति शेरबहादुर देउवाले बन्दसूचीमा केही नाम हेरफेर गर्न तयार रहेको जनाउ दिएका थिए । यसैले अघिल्लो बिहीबार बिहान बन्दसूची सच्याउन कांग्रेसका शीर्ष नेताको बालुवाटारमा बैठक बसेको थियो ।

संस्थापनले एकलौटी निर्णय गरेको भन्दै शेखर पक्षले विरोधमा समूहको बैठक गर्यो । बुधबार केन्द्रीय कार्यालय सानेपामा धर्ना दियो । बिहीबार बिहान छुट्टै चियापान कार्यक्रम पनि गर्यो । जसले देउवालाई दबाब बढाएको थियो । यही कार्यक्रम सकिएपछि बालुवाटारमा बन्दसूची फेरि हेरफेरका लागि बैठक बसेको हो ।

अनि नरम भए देउवा

४ मंसिरको चुनावपछि सहजै संसदीय दलमा बहुमत पुर्याउनका लागि सभापति शेरबहादुर देउवाले आफ्नो अनुकूलमा समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेका थिए । तर नाम बुझाएको केही दिनमा नै चाल पाएपछि शेखर समूह विरोधमा नै उत्रियो । सूची नसच्चिए स्वतन्त्र उम्मेदवारी दिएर जानेसम्मको चेतावनी उनीहरूले दिए ।

यतिमात्रै होइन कांग्रेसमा असन्तुष्टि कायम रहे एमालेले यी पक्षसँग संवादसमेत अघि बढाउन खोज्यो । यसैले देउवाले बन्दसूची हेरफेर गरेर भए पनि तत्कालको विवाद साम्य बनाउने प्रयास गरेका हुन् । चुनाव जित्न विपक्षीसँग तालमेल गर्ने तर आफ्नै पार्टीलाई मिलाउन नसकेको सन्देश निर्वाचन अघि जाने भएपछि देउवा नरम बनेका हुन् । यसरी सूची सच्चिँदा संस्थापनबाट पहिला बुझाइएका केही नाम हटेका छन् । शेखर पक्षका केही नाम समावेश भएका छन् ।