NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मासुका लागि पशुपन्छी खरिद गर्दा ध्यान दिनुपर्ने कुरा

हिन्दूधर्मालम्बीको महान् चाड हो, दशैं । मीठो–मसिनो खाएर मनाइने दशैंमा मासुको माग अन्य समयभन्दा स्वाभाविक रूपमा बढी हुन्छ । बजारमा पाइने पशुपन्छीको मासुमा विभिन्न रोगका संक्रमण हुने र त्यसको छनोट उचित ढंगले नगरेमा ती रोग मानिसको स्वास्थ्यमा समेत प्रवेश गर्ने खतरा हुन्छ । त्यसैले पशुपन्छीको मासु उपभोग गर्दा विशेष चनाखो हुन जरुरी छ । दशैंको समयमा पशुचौपायाको कारोबार अन्य बेलाभन्दा बढी हुने भएकाले यो समय अझ बढी चनाखो हुन जरुरी छ । खसी, बोका र भेडाको मासु खरिद गर्दा ध्यानदिनुपर्ने केही विषय यहाँ हामीले प्रस्तुत गरेका छौं :

१. सामान्यतया स्वस्थ खसी बोका, भेडा काट्नुअघि कम्तीमा १२ घण्टा पानी मात्र पिउन दिनुपर्छ । योबीचमा यी पशु स्वस्थ देखिएको खण्डमा मात्र बध गर्नुपर्छ । अन्यथा गर्न हुँदैन ।

२. भित्रास, रक्ति आदि स्वास्थ्यबद्र्धक नहुने भएकाले खान उपयुक्त हुँदैन । यद्यपि, भित्रासलाई सफासँग उसिनेर तथा रक्तिलाई पकाएर अलिकति भने खान सकिन्छ ।

३. कतिपय खसी बोका, भेडाको टाउकोमा पानी फोका आएका हुन्छन् । यदि पानी फोका आएका छन् भने तिनको टाउको नखानु उत्तम हुन्छ ।

४. कलेजो चम्किलो भए मात्र खान हुन्छ । पहेँलो, गनाएको छ भने सेवन गर्न हुँदैन ।

५. जन्डिस तथा पहेँलो भएको पशुको मासु पनि उपभोग गर्नु हुँदैन ।

६. नसामा रगत रहेको खण्डमा मासु चाँडै बिग्रिने खतरा हुन्छ । त्यसैले पशुपन्छीलाई वध गरिसकेपछि रगत निथारेर मात्र मासु बनाउनुपर्छ ।

७. भित्रास र रक्तिसँग अन्य मासु मिसाउनु हुँदैन ।

८. मासुलाई प्याकेटमा फ्रोजन गरी राख्नुपर्छ । यसरी प्याकेट बनाउँदा परिवारलाई एकपटक (एक छाक) लाई चाहिनेबराबर राख्नु उपयुक्त हुन्छ । एकैपटक पकाएर पछिसम्म खाइरहनु स्वास्थ्यका लागि लाभदायक हुँदैन । त्यसैले फ्रोजन गरिएका प्याकेट चाहिएको बेलामा निकालेर पकाउनुपर्छ ।

कुखुराको मासु खाँदा विचार गर्नुपर्ने कुराहरू यी त भए खसी, बोका र भेडाको मासु प्रयोग गर्दा उपभोक्ताले ध्यान दिनुपर्ने कुरा । हाम्रोमा कुखुराको मासुको माग पनि उच्च छ । खसी बोका, भेडा, च्यांग्रामा जस्तै कुखुराको मासुमा पनि विभिन्न रोगका संक्रमणसमेत हुनसक्छन् । मासुसँगै रोग खान सकिने भएकाले यसको उपभोग गर्दा पनि उत्तिकै चनाखो हुनुपर्छ । जसमध्ये केही मुख्य पाटो तल उल्लेख गरिएको छ ।

१. कुखुराको मासु सेतो हुनुपर्छ । यस्ता मासुको रंग वध गरिसकेपछि रातो हुनसक्छ । यसका विविध कारण छन् । कहिलेकाहीँ काटिसकेर राम्रोसँग रगत ननिथारे पनि यस्तो हुन्छ । जुन कारणले मासु रातो भए पनि त्यो सेवन गर्न हुँदैन ।

२. पन्छीको मांसपेशीमा रातो–रातो रक्तश्राव भएको हुनसक्छ । यदि त्यस्तो छ भने त्यो मासु पनि उपभोग गर्न उपयुक्त हुँदैन ।

३. पन्छीको कलेजो र शरीरको कुनै भागको मासु बिग्रिएको छ भने पनि प्रयोग गर्न सकिन्छ तर त्यसअघि बिग्रिएका भाग र अंग नष्ट गर्नुपर्छ ।

४. कुखुराको घाँटीको रंग गुलाबी हुनुपर्छ । घाँटी हरियो वा वैजनी भएमा त्यस्तो मासु खरिद गर्न हुँदैन ।

५. अस्वाभाविक गन्ध आएको कुखुराको मासु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

आफ्नै घरमा सञ्चित गरी राखिएको मासुमा उल्लिखित कैफियत देखिएको खण्डमा पनि सेवन गर्न हुँदैन । कसरी पहिचान गर्ने स्वस्थ र अस्वस्थ पशु ? हामीले सेवन गर्ने मासु स्वस्थ हुनैपर्छ । विभिन्न रोगका संक्रमण रहेका अस्वस्थ मासु प्रयोग गरेको खण्डमा त्यो मानव शरीरमा प्रवेश गर्ने भएकाले चनाखो हुनुपर्छ । स्वस्थ र अस्वस्थ पशु पहिचान कसरी गर्ने भन्ने ज्ञान तपाईं–हामीमध्ये कमैलाई छ । तर केही कुरा ख्याल गर्ने हो भने यस्ता कुरा सजिलै खुट्याउन सकिन्छ । यहाँ हामीले स्वस्थ र अस्वस्थ पशु पहिचान गर्ने केही आधार दिएका छौं :

स्वस्थ पशुका लक्षण

स्वस्छ पशु चञ्चल हुन्छ । पशु बथानमा बस्न रुचाउँछन् र कसैले समात्ने प्रयास गरेको खण्डमा भाग्छन् ।
घाँसपात, दाना खान रुचि राख्छन् । दिसा–पिसाब नियमित हुन्छ र उत्पादनमा पनि एकरूपता हुन्छ ।
उमेरअनुसार तौल हुन्छ ।
रौं, छाला चिल्लो र चम्किलो हुन्छ । शरीरको बनावट पनि मिलेको हुन्छ ।
आँखा तेजिलो हुन्छ । नाकमा सिँगान हुँदैन र थुतुनो पनि रसिलो हुन्छ ।
हिँडाइको चाल एकनास हुन्छ ।
शरीरिक तापक्रम, नाडीको चाल र श्वास–प्रश्वास दर सामान्य हुन्छ ।

अस्वस्थ पशुका लक्षण

अस्वस्थ पशु लोसे, एक्लै बस्ने र सजिलै समात्न सकिने हुन्छन् ।
घाँसपात,दाना खान अरुचि गर्छन् । छेर्ने, दुब्लाउँदै जाने, उत्पादन घट्ने हुन्छ ।
उमेरअनुसार तौल वृद्धि हुँदैन ।
दुब्ला, हाडछाला प्रष्ट देखिन्छ ।
आँखा रसिलो, सिँगान बगेको र थुतुनो सुक्खा हुन्छ ।
हिँडाइको चाल फरक हुन्छ ।
शरीरको तापक्रम, नाडीको चाल श्वास–प्रश्वास दरमा परिवर्तन आउँछ ।

(डा. शर्मा वरिष्ठ पशुपन्छी रोग विशेषज्ञ हुनुहुन्छ ।)