NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

प्रतिनिधिसभा निर्वाचन २०७४ : यी हुन् माओवादीका सबैभन्दा बढी र सबैभन्दा कम मतान्तरले जित्ने नेताहरू

काठमाडौं । सत्तारूढ दल माओवादी केन्द्रले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग चुनावी तालमेल गरी ३७ सिट जित्न सफल भएको थियो । समानुपातिकतर्फ १७ गरी माओवादी जम्मा ५४ सिट जितेर संसदमा तेस्रो ठूलो दल भयो ।

एमालेसँग ६३/३६ को भागबण्डा गरी निर्वाचनमा होमिएको तत्कालीन वामपन्थी गठबन्धनले १६५ निर्वाचन क्षेत्रमध्ये ११७ सिट जितेको थियो । त्यतिबेला माओवादीको तर्फबाट ६० जनाले उम्मेदवारी दिएका थिए । एमालेकोतर्फबाट १०४ जनाले उम्मेदवारी दिएकोमा ८० जना विजयी भएका थिए ।

नेकपा विघटनसँगै अघिल्लो निर्वाचनमा माओवादीबाट निर्वाचित सांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी एमाले पुगेका छन् । योपटक पाँचदलीय गठबन्धनबाट चुनावमा होमिन लागेको माओवादीका लागि अघिल्लो विरासत जोगाउनैपर्ने बाध्यता रहेको छ ।

यद्यपि सिट बाँडफाँटमा अघिल्लो निर्वाचनमा दलहरूले प्राप्त गरेको मत र स्थानीय तह निर्वाच–२०७९ मा पाएको मतको आधार भागबण्डालाई अन्तिम रूप दिन गठबन्धनले अन्तिम तयारीमा जुटेका छन् । अहिलेसम्म कांग्रेसले ८५, माओवादी केन्द्रले ४८, एकीकृत समाजवादीले १७, जसपाले १३ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने लगभग सहमति जुटेको छ । केही निर्वाचन क्षेत्रमा दोहोरो तेहोरो दाबी कायमै रहेकाले सहमति जुट्न सकेको छैन । सिट बाँडफाँटलाई लिएर एकीकृत समाजवादी र जसपाका नेताहरू असन्तुष्ट रहेका छन् । शनिबार बसेको जसपा केन्द्रीय कार्यकारणी बैठकले चुनावी तालमेलमा सत्ता गठबन्धनको विकल्प खोज्ने धम्की दिएको छ ।

कांग्रेसबाहेक माओवादी, बाबुराम नेतृत्वको नेसपा, वामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान माओवादीकै चुनाव चिन्हबाट चुनाव लड्ने यसअघि नै गरिसकेका छन् । नेकपा एससँग एकता संयोजक समिति बनाएर संयुक्त रूपमा चुनावमा जाने सहमति गरेको थियो । तर उदयपुर २, धादिङ १, सल्यान, अछाम १, बारा ४ मा माओवादी केन्द्रलेसमेत दाबी नछोडेपछि दुई पार्टीबीचको सम्बन्ध पछिल्लो समय चिसिएको छ ।

माओवादीकातर्फबाट २०७४ मा निर्वाचित ३७ मध्ये भट्ट, रायमाझी, साह र चौधरीबाहेक अन्य नेताहरू माओवादी केन्द्रमै रहेका छन् । आगामी निर्वाचनमा अधिकांश उम्मेदवार दोहोरिन चाहेका छन् । तर एउटै क्षेत्रमा गठबन्धन दलका अन्य प्रभावशाली नेताहरूकै दाबी रहेकाले उम्मेदवार व्यवस्थापनका लागि गठबन्धनमा सकस देखिएको छ ।

यी हुन् २०७४ मा ओवादीका सबैभन्दा धेरै र थोरै मतान्तरले जित्ने ३७ सांसद

प्रतिनिधिसभाका सभामुखसमेत रहेका अग्निप्रसाद सापकोटा अघिल्लो निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट निर्वाचित भएका थिए । सापकोटा ४० हजार ५०४ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेतले २९ हजार ७९८ मत पाएका थिए । मतान्तर १०७०६ रहेको छ ।

अघिल्लोपटक कांग्रेसका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यलाई पराजित गरेका अमनलाल मोदी योपटक पनि मोरङ–४ बाट उठ्न चाहेका छन् । मोदी ३३ हजार ५२९ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका महेश आचार्यले २६ हजार ८०० मत पाएका थिए । जहाँ मतान्तर ६७२९ रहेको छ ।

पूर्वमन्त्री कमला रोक्का योपटक पनि रुकुमपूर्व–१ बाट निर्वाचनमा भाग लिने तयारीमा छिन् । अघिल्लो निर्वाचनमा १० हजार ४३४ मत ल्याइ विजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी कांग्रेसका हरिशंकर घर्ती मगरले ४ हजार ४०६ पाएका थिए । उनको मतान्तर ६०२८ रहेको छ ।

पूर्वसभामुखसमेत रहेका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा योपटक पनि दाङ–२ बाट उठ्न चाहेका छन् । एमालेका महासचिव शंखर पोखरेलकोसमेत २०७४ अघि यही क्षेत्रबाट चुनाव लड्ने गरेका थिए । प्रदेशसभा छोडेर योपटक पोखरेल यही क्षेत्रबाट चुनावमा उठ्ने तयारीमा छन् । यसैले यो क्षेत्रमा महरा र पोखरेलबीच कडा टक्कर हुने देखिन्छ ।
२०७४ को निर्वाचनमा एमालेसँग तालमेल गर्दा महरालाई छोड्नु परेकाले पोखरेल मुख्यमन्त्री बन्नेगरी प्रदेशसभा सदस्यमा गएका थिए । महरा ४० हजार ४२ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजु खनालले २५ हजार ८९७ मत पाएका थिए । महराको मतान्तर १४ हजार १४५ रहेको छ । महरा २०६४ देखि सोही क्षेत्रबाट लगातार निर्वाचित सदस्य हुन् ।

प्रतिनिधिसभामा सँधै रसिक व्यंग्यात्मक शैलीमा प्रस्तुत हुने गजेन्द्रबहादुर महत अघिल्लो निर्वाचनमा जुम्ला–१ बाट निर्वाचित भएका थिए । उनी २२ हजार १७३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका देवेन्द्रबहादुर शाहीले १४ हजार १४९ मत पाएका थिए । उनको मतान्तर ८०२४ रहेको छ ।

माओवादी उपमहसचिव गिरिराजमणि पोखरेल महोत्तरी–१ बाट निरन्तर निर्वाचन जित्ने नेतामा पर्छन् । अघिल्लो निर्वाचनमा २३ हजार ७७६ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका लक्ष्मी महतोले १९ हजार ४९२ मत पाएका थिए । उनको मतान्तर ४२८४ रहेको छ ।

अघिल्लो निर्वाचनमा वाम गठबन्धन हुँदा काभ्रे–१ माओवादीको भागमा परेको थियो । माओवादीका उम्मेदवार गंगाबहादुर तामाङले ४३ हजार ६३१ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेस तीर्थबहादुर लामाले ३९ हजार ६०५ मत पाएका थिए । तामाङको मतान्तर ४०२६ रहेको छ ।

पूर्वमन्त्री चक्रपाणि खनाल अघिल्लोपटक कपिलवस्तु–१ बाट निर्वाचित भएका थिए । उनी २९ हजार ७९९ ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत पाएका थिए । उनको मतान्तर ९४६ रहेको छ ।

अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा अघिल्लोपटक रुकुमपश्चिम–१ निर्वाचित भएका थिए । उनले ३४ हजार ४०२ ल्याइ विजयी भए । उनको प्रतिस्पर्धी कांग्रेसका गोपालजंग शाह १५ हजार ६५९ मत पाए । उनको मतान्तर १८ हजार ७४३ रहेको छ । उनी अहिले पनि सोही क्षेत्रबाट निर्वाचनमा भाग लिने तयारी गरेका छन् ।

अघिल्लो निर्वाचनमा भागबण्डा हुँदा सल्यान–१ मा माओवादीका नेता टेकबहादुर बस्नेतको भागमा परेको थियो । एमालेका चर्चित नेता प्रकाश ज्वाला प्रदेशसभामा गएका थिए । बस्नेतले ४० हजार ८९७ मत ल्याइ विजयी हुँदा कांग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत पाएका थिए । उनको मतान्तर १११३० रहेको छ ।

माओवादीका दुर्गाबहादुर राउत अघिल्लो निर्वाचनमा कालिकोट–१ बाट निर्वाचित भएका थिए । उनले २१ हजार ११२ मत ल्याइ विजयी हुँदा कांग्रेसका भुपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत पाएका थिए । राउतको मतान्तर ४७०५ रहेको छ ।

माओवादीका महासचिव देव गुरुङ २०७४ को निर्वाचनमा लमजुङ–१ बाट निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका दिलबहादुर घर्तीले ३१ हजार ३७ मत पाए । उनको मतान्तर ८४३२ रहेको छ । २०६४ को संविधानसभा निर्वाचनमा मनाङ–१ बाट गुरुङ २९ हजार ४६८ मत ल्याएर विजयी भएका थिए ।

शिक्षामन्त्री तथा सचिव देवेन्द्र पौडेल अघिल्लो निर्वाचनमा बाग्लुङ–२ निर्वाचित भएका थिए । पौडेलले २८ हजार ८२७ मत ल्याइ विजयी हुँदा कांग्रेसका नरबहादुर पुनले १९ हजार ९०५ मत पाएका थिए । उनको मतान्तर ८९२२ रहेको छ ।

धनबहादुर बुढा डोल्पा–१ बाट निर्वाचित सांसद हुन् । २०७४ को निर्वाचनमा ११ हजार ७६१ मत ल्याइ विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार अंगदकुमार बुढाले ३ हजार १६७ मत ल्याएका थिए । उनको मतान्तर ८ हजार ५९४ रहेको छ ।

उर्जामन्त्री तथा उपमहासचिव पम्फा भुसालले अघिल्लो निर्वाचनमा ललितपुर–३ बाट २४ हजार ३६ मत पाएर विजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी कांग्रेसका मदन अमात्यले २२ हजार ३२८ मत पाएका थिए । उनको मतान्तर १७०८ रहेको छ ।

प्रत्येकपटक निर्वाचन क्षेत्र फेर्दै आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड योपटक पनि चितवन–३ बाट नै उम्मेदवारी दिने तयारीमा छन् । उनले योपटक पनि निर्वाचन क्षेत्र फेर्ने चर्चा अझै हटेको छैन । तर निर्वाचन क्षेत्र फेरबदल नगर्ने दाबी प्रचण्डले गरेका छन् ।

अघिल्लोपटक ४८ हजार २७६ मत ल्याएर उनी विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९३५ मत पाए । उनको मतान्तर ९३३८ रहेको छ ।
पूर्वअर्थमन्त्री तथा उपमहासचिव वर्षमान पुन रोल्पा–१ बाट विजयी भएका थिए । उनी ४२ हजार ८४ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अमरसिंह पुनले २० हजार ३३७ मत पाएका थिए । उनको मतान्तर २१ हजार ७४७ रहेको छ ।

प्रचण्डकी बुहारीसमेत रहेकी विना मगर २०७४ मा कञ्चनपुर–१ बाट विजयी भएकी थिइन् । योपटक पनि सोही क्षेत्रबाट निर्वाचनमा भाग लिने उनको तयारी छ । उनी ३८ हजार ४६७ मतसहित विजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी कांग्रेसका दिवानसिंह विष्टले १९ हजार २१९ मत पाएका थिए । उनको मतान्तर १९ हजार २४८ रहेको छ ।

युवा तथा खेलकुदमन्त्रीसमेत रहेका महेश्वर गहतराज अघिल्लो निर्वाचनमा बाँके–१ बाट निर्वाचित भएका थिए । उनले ३१ हजार १७३ मत ल्याइ कांग्रेसका माधवराम खत्रीलाई हराएका थिए । उनका प्रतिस्पर्धी खत्रीले २८ हजार २१७ मत पाएका थिए । उनको मतान्तर २९५६ रहेको छ ।

उपमहासचिव मातृका यादव अघिल्लो निर्वाचनमा धनुषा–१ बाट निर्वाचित भएका थिए । उनी २६ हजार ४१८ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी संघीय फोरमका दीपक कार्कीले १७ हजार २९६ मत पाएका थिए । यादवको मतान्तर ९१२२ रहेको छ ।

रामेश्वर राय यादव २०७४ को निर्वाचनमा सर्लाही–३ बाट २२ हजार ३६७ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार हरेशप्रसाद महतोले १४ हजार ९२९ पाएका थिए । उनको मतान्तर ७४३८ रहेको छ ।

उपमहासचिव शक्तिबहादुर बस्नेत अघिल्लो निर्वाचनमा जाजरकोट–१ बाट ३२ हजार २८१ मत ल्याइ विजयी भएका थिए । कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत पाए । उनले अहिले सोही क्षेत्रबाट उठ्ने तयारी गरेका छन् । बस्नेतको मतान्तर ८९९२ रहेको छ ।

शिवकुमार मण्डल अघिल्लो निर्वाचनमा मोरङ–५ बाट २२ हजार ९४५ मत ल्याइ विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अमृतकुमार अर्यालले १९ हजार १५३ मत पाएका थिए । उनको मतान्तर ३७९२ रहेको छ ।

२०७४ को निर्वाचनमा रामेछाप–१ बाट श्यामकुमार श्रेष्ठ विजयी भएका थिए । उनले ४२ हजार ११७ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका पूर्णबहादुर तामाङ ३५ हजार ७७१ मत पाएका थिए उनको मतान्तर ६३४६ रहेको छ ।

सुदन किराँती अघिल्लो निर्वाचनमा भोजपुर–१ बाट निर्वाचित भएका थिए । उनले ३४ हजार ३९४ मत ल्याइ विजयी हुँदा उनका प्रतस्पर्धी कांग्रेसका उमेशजंग रायमाझीले २१ हजार ६९६ मत पाए । उनको मतान्तर १२६९८ रहेको छ ।

उपमहासचिव सुरेन्द्र कार्की उर्फ राम कार्कीले अघिल्लो निर्वाचनमा झापा–१ बाट ३६ हजार १७३ ल्याइ कांग्रेसका चर्चित नेता विश्वप्रकाश शर्मालाई हराएका थिए । शर्माले ३३ हजार ३१० मत पाएका थिए । कार्कीको मतान्तर २८६३ रहेको छ । योपटक दुई नेतालाई व्यवस्थापन गर्न गठबन्धनलाई निकै सकस पर्ने देखिन्छ ।

सुरेशकुमार राई २०७४ को निर्वाचनमा उदयपुर–२ निर्वाचित सांसद हुन् । उनले २२ हजार ५५१ मत पाउँदा कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीले १५ हजार ४५५ मत पाए । उनको मतान्तर ७०९६ रहेको छ ।
सुरेशचन्द्र दास सिराह–२ बाट २० हजार १४८ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी संघीय समाजवादीका उम्मेदवार शत्रुधनप्रसाद सिंहले १७ हजार २६० मत पाए । उनको मतान्तर २८८८ रहेको छ ।
अघिल्लो निर्वाचनमा हरिबोल गजुरेल सिन्धुली–२ बाट निर्वाचित भएका थिए । उनले ३० हजार १७९ मत पाएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका नरेन्द्रजंग थापाले १८ हजार १२७ मत पाएका थिए । उनको मतान्तर १२०५२ रहेको छ । माओवादीमा २०६४ देखि निरन्तर विजयी हुनेमा उनी पनि पर्छन् । योपटक पनि सोही क्षेत्रबाट उठ्ने तयारी गरेका छन् ।
तीनपटकको प्रयासमा कांग्रेसका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतविरुद्ध जित निकालेर हितबहादुर तामाङ चर्चामा आएका थिए । योपटक पनि सोही क्षेत्रबाट उठ्ने तयारी गरेका छन् । अघिल्लोपटक तामाङले नुवाकोट–१ ३६ हजार ४७३ मत ल्याइ जितेका थिए । कांग्रेसका उम्मेदवार महतले २७ हजार ९२० मत पाएका थिए । उनको मतान्तर ८५५३ रहेको छ । योपटक सोही क्षेत्रबाट महतकै भाइ डा. प्रकाशशरण महतले उठ्ने इच्छा देखाएका छन् । गठबन्धनका लागि यो क्षेत्रमा पनि भागबण्डा गर्न निकै पेचिलो देखिन्छ ।

हेमकुमार राई अघिल्लो पटक सोलुखुम्बु–१ बाट निर्वाचित भएका थिए । उनले २० हजार ७४७ मत ल्याएर कांग्रेसका चर्चित नेता बलबहादुर केसीलाई हराएका थिए । केसीले १७ हजार २९४ मत पाएका थिए । उनको मतान्तर ३४५३ रहेको छ ।

अघिल्लो निर्वाचनमा गोरखा–२ बाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पराजित हुँदा गोरखा–१ मा हरिराज अधिकारी विजयी भएका थिए । उनले २९ हजार ८६० ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चिनकाजी श्रेष्ठले २६ हजार ६४३ मत पाएका थिए उनको मतान्तर ३२१७ रहेको छ ।

अघिल्लो निर्वाचनमा ५० हजार मत कटाउने भाग्यमानीमा सन्तकुमार थारु एक हुन् । उनले बर्दिया– २ बाट ५० हजार ५५५ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका गोपाल दहितले ३६ हजार ७३५ मत ल्याए । उनको मतान्तर १३८२० रहेको छ । त्यतिबेला ५० हजार बढी मत कटाउनेमा माओवादीभित्र टोपबहादुर रायमाझीपछि चौधरीमात्र हुन् ।

माओवादीबाट ह्याट्रिक गरेका नेता, जो अहिले एमालेबाट प्रतिस्पर्धा गर्दैछन्

२०६४ देखि लगातार रौतहट–३ बाट माओवादीलाई जित दिलाएका प्रभु साह योपटक एमालेबाट प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो निर्वाचनमा उनी २७ हजार ७९९ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका सुनिलकुमार यादवले १८ हजार २०६ मत ल्याएका थिए । उनको मतान्तर ९५९३ रहेको छ । योपटक उनलै आफ्नै पूर्वसहकर्मीसँग रोचक प्रतिस्पर्धा हुनेछ ।

अघिल्लो निर्वाचनमा सर्वाधिक मत ल्याएर अर्घाखाँची–१ विजयी भएका टोबहादुर रायमाझी योपटक एमालेबाट प्रतिस्पर्धा गर्दैछन् । उनले ५० हजार ८३७ मत ल्याइ विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका डा. रामबहादुर बिसीले ३२ हजार ५४४ मत पाएका थिए । उनको मतान्तर १८ हजार २९३ रहेको छ । उनी पनि २०६४ देखि निरन्तर सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् । एमालेमा उनी अहिले सचिव रहेका छन् ।

एमालेका सचिव लेखराज भट्ट अघिल्लो निर्वाचनमा कैलाली–४ बाट माओवादीलाई जित दिलाएका थिए । उनी ३१ हजार ३५९ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका सुनिलकुमार भण्डारीले २० हजार ९६० मत पाए । उनको मतान्तर १०३९९ रहेको छ ।

अघिल्लोपटक कैलाली–२ बाट माओवादीलाई विजयी गराउने गौरीशंकर चौधरी योपटक एमालेबाट प्रतिस्पर्धा गर्दैछन् । उनी २४ हजार ८७९ मत ल्याइ विजयी भएका थिए । कांग्रेसका रामजनम चौधरीले २० हजार ४९४ मत पाएका थिए । उनको मतान्तर ४३८५ रहेको छ ।