NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

प्रचण्डले चितवन छाड्ने हल्लासँगै गठबन्धनमा खैलाबैला, जारी गरे तीन बुँदे अपिल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नं. ३ छोड्न लागेको हल्लासँगै राजनीतिक तरङ्ग उत्पन्न भएको छ । सोमबार मात्रै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।

भट्टराईले निर्वाचनमा उम्मेदवारी नदिने र प्रचण्डले चितवन छाड्न लागेको हल्लाबीच गठबन्धनको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी र आशंका उत्पन्न भएको छ ।
यसअघि प्रचण्डले चितवन ३ बाट नै निर्वाचनमा भाग लिने बताउँदै आएका थिए । गत हप्तामात्र भरतपुर–१४ मा बनाएको नवनिर्मित घरमा प्रवेश गरेर आफू चितवनबाट नै निर्वाचनमा भाग लिन चाहेको संदेश उनले दिएका थिए । तर सत्ता नेतृत्व दल कांग्रेसभित्रको आन्तरिक किचलो र सिट बाँडफाँटलाई लिएर गठबन्धन दलहरूबीच नै सहमति हुन नसकेपछि प्रचण्ड बिच्किएको हुन सक्ने धेरैले अनुमान गरेका छन् । यसै विषयलाई लिएर चितवन गठबन्धन दलहरूको आकस्मिक बैठकले प्रचण्डलाई चितवन नछाड्न संयुक्त आह्वान गरेका छन् ।

चितवन कांग्रेसका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले ३ बुँदे निर्णय गर्दै चितवन ३ नछाड्न संयुक्त अपिल गरेका हुन् । संयुक्त अपिल गर्नेमा माओवादी केन्द्रका नेता रामचन्द्र अधिकारी, एकीकृत समाजवादी नेता कृष्णराज न्यौपाने, राजमोका नेता विष्णु पौडेल र जसपाका नेता प्रेमराज भुजेल रहेका छन् । जारी विज्ञप्तिमा उनीहरूले गठबन्धन उम्मेदवारहरूलाई विजय गराउने प्रतिबद्धता व्यक्त गर्दै अभिभावकीय भूमिका निर्वाह गरिदिन प्रचण्डसँग अपिल गरेका छन् ।

‘गठबन्धन दलका शीर्ष नेतृत्व नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र चितवन क्षेत्र ३ परिवर्तन गरी अन्य जिल्लाबाट उम्मेदवार बन्ने समचार सुन्नमा आएकोप्रति गम्भीर ध्यानाकृष्ट हुँदै मुलुक संविधान लोकतन्त्र शान्ति र विकासका खातिरसमेत उहाँले निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दार्भिक ठहर गर्दै मंसिर ४ गते सम्पन्न हुन गइरहेको संघीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन नगर्न र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनहुन अपिल गर्ने निर्णय गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

साथै बैठकले मुलुकमा राजनीतिक र शासकीय स्थिरता नचाहने र मुलुकलाई पश्चगमनतर्फ लैजान खोज्ने देशी तथा विदेशी शक्तिहरूका विरुद्ध लोकतन्त्र र संविधानका पक्षधर पाँचदलीय केन्द्रीय गठबन्धनमा आबद्ध रहेका उम्मेदवारहरूलाई विजय गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस विषयमा अध्यक्ष प्रचण्ड र माओवादी केन्द्रले अनौपचारिक निर्णय अहिलेसम्म केही गरेको छैन । केही दिनयता प्रचण्ड भट्टराईको निर्वाचन क्षेत्र गोरखा २ बाट निर्वाचनमा भाग लिन लागेको हल्ला फैलिएको थियो । भट्टराईले पनि आफ्नो विजय सुनिश्चित भएको क्षेत्र एकाएक परित्याग गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।