NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सत्ता गठबन्धन बैठकमा जसपा अनुपस्थित, एमालेसँग सहमति गर्ने तयारी

काठमाडौं । भागबण्डा नमिलेपछि सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी अनुपस्थित भएको छ ।

शुक्रबार बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा जसपाका नेताहरू अनुपस्थित भएको सहभागी एक नेताले जानकारी दिए ।

पछिल्लो समय एमालेसँग नजिकिएको जसपाका अध्यक्ष उपेन्द्र यादव गठबन्धनको बिहीबारको बैठकबीच बाटै उठेर ओली निवास बालकोट गएका थिए । स्रोतका अनुसार एमालेसँग २५ सिट मागेको जसपाले मधेशमा १६ र अन्य प्रदेशमा ७ सिटसहित २२ सिटमा सहमति नजिक रहेको छ ।

बालकोटमा राति अबेरसम्म भएको छलफलमा सहमति गर्ने भनिएपनि केही निर्वाचन क्षेत्रमा भागबण्डा मिलाउनुपर्ने भएकाले शुक्रबार सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको एमालेका एक नेताले बताए ।

‘लगभग हामी सिट बाँडफाँटमा सहमति नजिक पुगिसकेका छौं । शुक्रबारसम्ममा सहमतिपत्रमा हस्ताक्षर हुन्छ’, ती नेताले भने ।
अघिल्लो निर्वाचनमा १२ सिट जितेको जसपाले १५ सिटसम्म पाउने भएपछि यादव एमालेसँग नजिकिएका हुन् । एमालेसँग चुनावी तालमेल भएमा मधेश प्रदेश र तराईका केही जिल्लामा गठबन्धनलाई धक्का लाग्नेछ ।

सिट बाँडफाँडमा गठबन्धनका अर्को घटक नेकपा एसपनि असन्तुष्ट रहेको छ । उम्मेदवार मनोनयन दर्ता गर्ने समय दुई दिन बाँकी रहँदा सत्ता गठबन्धनमा अहिलेसम्म कुरा मिल्न सकेको छैन ।