NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

काठमाडौंमा एमालेले टुंग्यायो उम्मेदवार : ८ नम्बरमा अष्टलक्ष्मी, पूर्वआइजिपी खनालले ६ मा मारे बाजी

काठमाडौं । एमालेले मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंबाट दुई क्षेत्रबाहेक अन्यको उम्मेदवार टुंगो लगाएको छ ।

प्रतिनिधिसभातर्फ १० निर्वाचन क्षेत्र रहेको काठमाडौं १ मा किरण पौडेलले टिकट पाएका छन् । यो क्षेत्रमा राप्रपाको वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

राप्रपासँग पनि चुनावी तालमेल गर्न लागेका ओलीले मिश्रलाई मैदान खाली गर्ने/नगर्नेबारे टुंगो लागेको छैन । चुनावी तालमेलबारे छलफल गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन शुक्रबार ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । छलफल सकारात्मक रहेकाले शनिबार भागबण्डाबारे टुंगो लगाउने बताइएको छ ।

यसैगरी एमालेका पूर्वमहासचिव माधवकुमार नेपालको निर्वाचन क्षेत्र रहेको क्षेत्र नम्बर २ मा एमालेले मणिराम फुयाललाई टिकट दिएको छ । नेपाल एमालेबाट अलग भएपछि उनको ठाउँमा फुयालले टिकट पाएका हुन् ।

त्यस्तै काठमाडौं ३ बाट कृष्णकुमार राईलाई टिकट दिएको छ । उनी अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । ४ नम्बर क्षेत्रमा एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले टिकट पाएका छन् । अघिल्लो निर्वाचनमा उनी कांग्रेसका महामन्त्री गगन थापासँग पराजित भएका थिए ।

काठमाडौं ५ बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टिकट पाएका छन् । २०७४ को निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यस्तै ६ नम्बर क्षेत्रमा जिल्लाबाट सिफारिस भएका उम्मेदवारलाई पाखा लगाउँदै नेपाल प्रहरीका पूर्वमहानिरिक्षक सर्वेन्द्र खनालले टिकट पाउन सफल भएका छन् । उनी असोज ६ गतेमात्र एमाले प्रवेश गरेका थिए ।

यसैगरी ७ नम्बरमा एमालेले उम्मेदवारको टुंगो लगाएको छैन । जसपासँग चुनावी तालमेलको विषय अघि बढेकाले सो क्षेत्र खाली राखिएको एमालेका स्रोतले बताएको छ । जसपाले सो क्षेत्रबाट सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई उठाउन चाहेको छ ।

क्षेत्र नम्बर ८ बाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई टिकट दिएको छ । जिल्लाबाट राजेश शाक्य सर्वसम्मत उम्मेदवार सिफारिस भएपछि उनी समानुपातिक र प्रत्यक्ष दुवैतर्फ उम्मेदवार नबन्ने घोषणा गरेकी थिइन् । तर अध्यक्ष ओलीले उम्मेदवार बन्न दबाब दिएपछि उम्मेदवार बन्न राजी भएको बुझिएको छ । वाग्मती प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत रहेकी उनी अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर ८ ख बाट निर्वाचित भएकी थिइन् ।

यसैगरी ९ नम्बर क्षेत्रबाट कृष्णगोपाल श्रेष्ठ नै दोहोरिएका छन् । काठमाडौं १० बाट एमालेले कसैलाई पनि टिकट दिएको छैन । स्रोतका अनुसार उपाध्यक्ष रामबहादुर थापालाई सो क्षेत्रबाट टिकट दिने तयारी गरिएको छ । अध्यक्ष ओलीले बादललाई सो क्षेत्रबाट उम्मेदवार बन्न आग्रह गरिएको बुझिएको छ । ओलीको आग्रहलाई बादलले सकारात्मक रुपमा लिएको बुझिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष