NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

यी प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं । अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको उक्त मौसमी प्रणालीका कारण बदली र वर्षा गराएको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ । राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेको छ । काठमाडौँको आकास सफा रहेको छ ।

महाशाखाका अनुसार गत २४ घण्टामा डडेलधुरामा ८८, दिपायलमा ६२, धनगढीमा ४८ र वीरेन्द्रनगरमा २८ मिलिमिटर वर्षा मापन गरिएको छ । आज काठमाडौँको न्यूनतम १७ र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष