NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

काभ्रे २ मा आलोपालोमा रोचक भिडन्त, यसपटक बाँस्कोटा र हुमागाईंमा कसले मार्ला बाजी ?

काठमाडौं । ४ मंसिरमा हुने निर्वाचनमा काभ्रे २ मा एमालेबाट गोकुल बाँस्कोटा र कांग्रेसबाट शिवप्रसाद हुमागाईंले उम्मेदवारी दर्ता गराएका छन् ।

२०७४ सालको निर्वाचनमा माओवादीसँग मिल्दा एमालेका गोकुल बाँस्कोटाले सहजै चुनाव जितेका थिए । तर यसपटक कांग्रेस, माओवादी, नेकपा एससहितको चुनावी गठबन्धन बनेको छ । तर पनि यिनै २ नेता मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

अघिल्लोपटक बाँस्कोटा १८७५३ मतान्तरले विजयी हुँदा कांग्रेसका मधु आचार्यले ३६७५३ मत ल्याएका थिए । बाँस्कोटाले ५५५२६ मत ल्याए ।

एमाले र माओवादी गठबन्धन बनेपछि बाँस्कोटा राज्यमन्त्री हुँदै केपी ओली नेतृत्वको सरकारका संचारमन्त्री भएका थिए । उनी सरकारको प्रवक्ता पनि बने । तर सेक्युरिटी प्रेस खरिदमा ७० करोड मोलमोलाइ गरेको अडियो बाहिरिएपछि उनले नैतिकताको आधारमा मन्त्रीबाट राजीनामा गरेका थिए ।

त्यसअघि नेता बाँस्कोटा २०७० सालको संविधानसभामामा भने काभ्रे २ मा कांग्रेसका कञ्चनचन्द्र बादेसँग पराजित हुन पुगेका थिए ।

यस्तो छ कांभ्रे २ को मतको अवस्था

स्थानीय तहमा एमालेलाई फेरि धक्का

काभ्रे २ यसपटकको स्थानीय तहमा एमालेले धक्का खाएको छ । यस अघि जितेका पनौती, बनेपा, मण्डन देउपुरजस्ता महत्वपूर्ण इलाका एमालेले गुमाउन पुग्यो । यी पालिकाका केही वडाबाहेक प्रायः गोकुलकै क्षेत्रमा पर्छन् ।

काभ्रे २ मा पाँचखाल, मण्डन देउपुर र बनेपा नगरपालिका पूरै पर्छन् । धुलिखेल नगरपालिकाका १ देखि ७ नम्बरसम्मका सबै वडा पर्छन् ।
पनौती नगरपालिकाका १, २, ३, ११ र १२ नम्बर वडा पर्छन । त्यस्तै, बेथानचोक गाउँपालिकाका १ देखि ५ सम्मका सबै वडा यो क्षेत्रमा पर्छन् ।
स्थानीय तहको यसपटकको निर्वाचनमा गोकुलले आफ्नै गृहनगर देउपुरमा एमालेलाई जिताउन सकेनन् । नेकपा एसका नेता टोकबहादुर वाइबा निर्वाचित हुन पुगे । अघिल्लोपटक पनि एमालेबाटै उनी निर्वाचित भएका थिए । यीमध्ये बनेपा र पनौती नगरपालिकामा एमालेलाई यसपटक कांग्रेसले पराजित गर्यो । पाँचखालमा अघिल्लोपटक जस्तै कांग्रेसकै महेश खरेल विजयी भए । बेथानचोकमा पनि कांग्रेस नै विजयी भएको छ ।

स्थानीय तहको यसपटकको निर्वाचनमा काभ्रे २ वडाध्यक्षतर्फ एमालेले ४५ हजार ५१४ मत ल्याएको छ । कांग्रेसले ४५४५६ मत ल्याएको छ । यहाँ एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

नेकपा एसले ८६७६, माओवादीले ६३७० र राप्रपाले २३५४ मत ल्याएको छ । माओवादी र नेकपा एस निर्णायक देखिन्छन् । अहिलेको परिस्थिति अनुसार काभ्रे २ मा एमालेले एक्लै सत्ता गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।

जहाँ गठबन्धनको मत ६० हजार ५०२ छ । तर एमाले १४९८८ मतले पछाडि परेको छ । राप्रपासँग एमाले मिले पनि गठबन्धनलाई पराजित गर्न सक्ने मत नआउने यो तथ्यांकले देखाउँछ । तर स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनमा खस्ने मतको स्वरुपमा निक्कै अदलबदल आएमात्रै गोकुललाई यसपटक सहज हुन सक्ने देखिन्छ ।

अब के होला ?

२०७४ सालमा माओवादीले साथ दिंदा गोकुलले सानदार जित दर्ता गरेका थिए । तर सोही चुनावको समानुपातिक मतबाट माओवादीलाई अहिलेको कांग्रेसको गठबन्धनमा राख्दा गोकुल त्यतिखेरैको मतको लेखाजोखामा थोरै मतले पछाडि पर्ने देखाउँछ । यसपटक वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदा यो क्षेत्रका सबै एमाले वडाध्यक्षले पाएको मत हेर्दा गठबन्धनभन्दा एमाले झण्डै १५ हजार मतले पछि परेको देखिन्छ ।

गठबन्धनमा आवद्ध सबै दलले केही वडामा तालमेल पनि गरेका थिए । तर एमाले सबै ठाउँमा एक्लै भिडेको थियो । यो एमालेको लगभग मिल्ने मत हो । बढेको मतदाताले थोरै अंक माथि पुर्याउन सक्छन् । यही मतको लेखाजोखा गर्दा गोकुल आफैं उम्मेदवार बन्दा जित्न धेरै नै मेहनत गर्नुपर्ने देखिन्छ ।

पहिले कसले जितेका थिए ?

काभ्रे २ का ६ वटा चुनावमा निक्कै रोमाञ्चकता देखिएको छ । यो क्षेत्रमा २०४८ र २०५१ मा एमालेले कब्जा जमाएको थियो । तर निर्वाचन क्षेत्र बढी थिए । यी चुनावमा केशव बडाल विजयी भएका थिए । २०५६ मा कांग्रेसका शिव हुमागाईं विजयी भए । २०६४ को पहिलो संविधानसभामा एमालेका कृष्णप्रसाद सापकोटा यो क्षेत्रबाट जिते । कांग्रेसका कञ्चनचन्द्र बादेले २०७० सालमा गोकुललाई पराजित गरे । तर

२०७४ मा गोकुलले कमब्याक गरेर मधु आचार्यलाई पराजित गरे । यसरी ६ मध्ये लगातार २ चुनाव एमालेले जितेपछि कांग्रेस र एमालेबीच आलोपालो जितहार हुँदै आएको छ । यस्तो आलोपालोमा यसपटक कांग्रेसले जित्ने देखिन्छ ।

राष्ट्रिय राजनीतिमा छोटो समयमै चर्चित बाँस्कोटा

राष्ट्रिय राजनीतिमा शक्ति र चर्चाको शिखरमा गोकुल छिट्टै चढे । तर माथि धेरैसमय टिक्न सकेनन्, माथि लामो समय नअडिंदा एक्कासी ढल्न पुगे । मन्त्री भएकै बेला सेक्युरिटी प्रेस खरिदमा ७० करोडको बार्गेनिङ गरेको अडियोले गोकुलको जबर्जस्त प्रभाव एकाएक खस्किएको थियो । शक्तिशाली दुई तिहाई हाराहारीका केपी ओली प्रधानमन्त्री भए पनि त्यही अडियोले गर्दा नैतिकताको आधारमा उनले राजीनामा दिनुपर्यो ।

गोकुलमाथि लागेको बार्गेनिङ आरोपको स्वतन्त्र पुष्टि अहिलेसम्म भएको छैन । तर ओली निकट भएर छोटो समयमा अत्याधिक शक्ति र सामथ्र्य प्राप्त गरेका गोकुललाई ठूलो राजनीतिक क्षति हुन पुग्यो । विरोधी र आलोचकलाई यही ७० करोडको विषयले उनीविरुद्ध बोल्ने ठाउँ दिएको छ । यही आरोपकाबीच बाँस्कोटा ४ मंसिरमा हुने चुनावमा फेरि एमाले काभ्रेबाट सर्वसम्मत भएर आएका हुन् ।

अब गोकुलसँग भिड्ने कांग्रेसको उम्मेदवार हुमागाईं को हुन् ?

एमालेबाट गोकुल नै उम्मेदवार बन्दा सत्ता गठबन्धनतर्फ कांग्रेसका शिव हुमागाईं उम्मेदवार बनेका छन् । मधु आचार्य र कञ्चनचन्द्र बादेले इच्छा देखाए पनि हुमागाईं यसपटक उम्मेदवार बन्न सफल भएका हुन् । बादे प्रदेशसभामा गएका छन् । हुमागाईं कृष्णप्रसाद सिटौला नजिकका नेता हुन् । यसपटक चुनावी तालमेलको लागि सिट बाँडफाँटका लागि बनेको सत्ता गठबन्धनको कार्यदलको संयोजकसमेत सिटौला हुन् । यसैले हुमागाईंलाई यसपटक टिकट पाउन गाह्रो देखिएन । हुमागाईंको सभापति शेरबहादुर देउवासँगसमेत विशेष सम्बन्ध भएको बताइन्छ ।

यस अघि केशव बडाललाई हराएर चर्चामा आएका हुमागाईं भूगोलमा पनि उत्तिकै सक्रिय र परिचित छन् । पछिल्लो समयमा उनको केन्द्रीय राजनीतिमा पनि सभापति शेरबहादुर देउवासहित कृष्णप्रसाद सिटौलासँग गहिरो सम्बन्ध छ । टिकटका लागि कांग्रेसबाट आचार्य र बादेले पनि अन्तिमसम्म प्रयास भने जारी राखे पनि हुमागाईंले टिकट पाएका हुन् ।

कमजोर छैनन् गोकुल

यता प्रभावशाली मन्त्रालय चलाएर मात्रै होइन अध्यक्ष ओलीसँग विशेष सम्बन्ध बनाएका बाँस्कोटा पनि कमजोर उम्मेदवार भने होइनन् । आफू मन्त्री बन्दा अर्बौका योजना आफ्नो निर्वाचन क्षेत्रमा पारेको दाबी उनको छ । यही आधारमा नै आफूलाई काभ्रेलीले जिताएर देखाउने जिकिर बाँस्कोटाको रहँदै आएको छ । मन्त्री भएपछि गोकुलले सडक, खानेपानीसहितका पूर्वाधारमा अर्बौ बजेट आफ्नो निर्वाचन क्षेत्रमा खन्याएको पटकपटक दाबी गर्दै आएका छन् । तर पनि खरो, निर्मम र कटाक्ष गर्ने शैलीका कारण गोकुल आलोचित पनि हुने गरेका छन् ।

एमाले विभाजनको असर कति ?

एमाले विभाजन हुनुको असर गोकुललाई पर्ने देखिन्छ । माधव नेपालको नेकपा एकीकृत समाजवादीको बलियो प्रभाव यो क्षेत्रमा छैन । तर वसुन्धरा हुमागाईंसहितका एसका नेतालाई रुचाउने पनि धेरै छन् । जसले गोकुलको मत काट्नमा सहयोग पुर्याउने बताइन्छ । नेता हुमागाईं प्रदेशमा मन्त्री छन् । यसैले यो पटकको निर्वाचन रोचक हुने अनुमान छ ।

प्रतिनिधिसभामा कांग्रेसलाई दिएर प्रदेशसभामा नेकपा एसका उम्मेदवार गठबन्धनबाट उठ्दैछन् । यो क्षेत्रको जितहारमा प्रभाव पार्ने बनेपा नगरपालिकाको मेयरमा भने यसपटक कांग्रेसले बाजी मारेको छ । किनकी धेरै मतदाता भएको यो नगरको मतले जितहारमा महत्वपूर्ण भूमिका खेल्छ । यसैले पनि एमालेलाई कांग्रेसले यो क्षेत्रमा गाह्रो पार्ने आकलन भएका छन् ।

स्वतन्त्रको पनि चुनौती

यसपटक यो क्षेत्रबाट चलचित्रकर्मी मनोज पण्डितले पनि उम्मेदवारी दिएका छन् । मुख्यगरी उनको निशानामा गोकुल नै छन् । तर जित्ने गरी मत नल्याए मनोज उठ्दाको फाइदा अन्ततः गोकुलले नै पनि उठाउन सक्ने देखिन्छ । उनले निर्वाचन क्षेत्रमा महिनौं डुलेर स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । पण्डितले पारदर्शिता र इमान्दारपूर्ण राजनीतिका लागि आफू उठेको भन्दै जित्ने दाबी गर्दै आएका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष