NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

चितवन छोडेर गोरखा पुगेका प्रचण्डले जित्लान् चुनाव ? यस्तो छ अंकगणित

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको पूर्वासन्ध्यामा चितवन ३ क्षेत्र परित्याग गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ बाट उम्मेदवारी दर्ता गराएका छन् । आइतबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सँगै राखेर मनोनयन दर्ता गरेका हुन् । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले निर्वाचन क्षेत्र परिवर्तन गर्नेमा आफूले विश्व कीर्तिमान कायम राख्ने दाबी गरे ।

‘योपटक उम्मेदवारी दर्ता गर्न म गोरखा २ मा आएको छु । २०६४ देखि अहिलेसम्म हेर्ने हो भने मैले एउटापनि निर्वाचन क्षेत्र दोहोर्याएको छैन । पहाडदेखि तराईसम्म मैले उम्मेदवारी दिएँ’, उनले भने, ‘अघिल्लो निर्वाचनमा आफ्नै गृहजिल्ला चितावनमा निर्वाचन जितेको म योपटक गोरखा आएको छु । यसरी हेर्दा निर्वाचन क्षेत्र परिवर्तन गर्नेमा मैले विश्वकीर्तिमान नै राख्छु होला ।’

१० वर्षे सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्डले २०६४ को संविधानसभा निर्वाचनमा पहिलोपटक भाग लिएका थिए । त्यसबेला उनी काठमाडौं १० र रोल्पा २ बाट अत्याधिक मतसहित विजयी भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १० बाट लज्जास्पद हार व्योहोरेका उनी सिरहा ५ बाट झिनो मतान्तरले विजयी भए । २०७४ एमालेसँगको तालमेलमा गृहजिल्ला चितवन ३ बाट अत्याधिक मत ल्याइ विजयी भएका थिए । योपटक आफ्नै निर्वाचन क्षेत्रमा असुरक्षित देखिएपछि प्रचण्डले गोरखा २ बाट उम्मेदवारी दिएका हुन् ।

कांग्रेससहितको सहयोगमा निकै तामझामसाथ उम्मेदवारी दर्ता गराएका उनी जित्नेमा विश्वस्त देखिन्छन् । अस्थिर राजनीतिज्ञको छवि बनाएका प्रचण्ड निर्वाचन क्षेत्र परिवर्तन गर्नेमा पनि निकै अस्थिर देखिएका छन् ।

गोरखा २ प्रचण्डका लागि कति सहज ?

माओवादी युद्धको उद्गम स्थलसमेत रहेकाले गोरखा प्रचण्डका लागि आगामी निर्वाचन निकै सुरक्षित मानिएको छ । मंसिर ४ को निर्वाचन गोरखा २ बाट प्रचण्डले अत्याधिक मतसहित जित्ने गण्डकी प्रदेशका इन्चार्ज हितराज पाण्डेको दाबी छ ।

‘गोरखा माओवादी युद्धको आधारभूमि भएको क्षेत्र हो । प्रचण्ड राष्ट्रिय नेतासमेत भएकाले उहाँले अत्याधिक मतले विजयी हुनुहुनेछ’, उनले भने, ‘गोरखाली जनता र गोरखाको विकासका लागि प्रचण्डको आगमनले सार्थकता मिल्नेमा हाम्रो विश्वास छ ।’

२०७४ को निर्वाचनमा माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई भट्टराईले ६ हजार ८७२ मतले पराजित गरेका थिए । त्यतिबेला नयाँ शक्तिको अध्यक्षसमेत रहेका उनी ३१ हजार ८०७ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९३३ मत पाएका थिए । गत चुनावका जित्ने बाबुराम र निकटतम प्रतिद्वन्द्वी नारायणकाजीलाई दायाँबायाँ राख्दै प्रचण्डले यसपटक उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनमा कांग्रेसकोसमेत प्रचण्डलाई साथ छ ।

२०६४ को संविधानसभा निर्वाचनमा दुवै क्षेत्रमा अत्याधिक मतसहित माओवादी उम्मेदवार विजयी भएका थिए । भट्टराई सोही क्षेत्रबाट ४८ हाजार मतान्तरले विजयी भएका थिए । २०७० को निर्वाचनमा देशभर माओवादीको शर्मनाक हार हुँदा उनी गोरखा २ बाटै विजयी भए । २०७४ को निर्वाचनमा एमाले–माओवादीबीच गठबन्धन भए पनि उनी कांग्रेसको सहयोगमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यस्तो छ स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ११ पालिकामध्ये ९ पालिका प्रमुख माओवादीले जितेको थियो । अघिल्लो निर्वाचनमा ९ पालिका जितेको कांग्रेस योपटक २ पालिकामा सीमित हुन पुग्यो । एमाले वडाध्यक्षमा मात्रै चित्त बुझाउन बाध्य भयो । स्थानीय तह निर्वाचनमा गोरखा २ का वडाध्यक्षमा माओवादीले २२ हजार २५० भोट पाएको छ । कांग्रेसको २१ हजार १३६, एमालेको ७ हजार ९२६, जसपाको ७ हजार ५०४ र राप्रपाको जम्मा ८७८ मत रहको छ ।

यस क्षेत्रमा गठबन्धनको जम्मा मत ५० हजार ८९० रहेको छ । तेस्रो स्थानमा रहेको एमालेको मत जम्मा ७ हजार ९२६ रहेको छ । एमालेसँग गठबन्धनको मतान्तर ४२ हजार ९६४ रहेको छ । आगामी निर्वाचनमा एमालेले भर्खर एमाले प्रवेश गरेका अब्दुष मियाँलाई उम्मेदवार बनाएको छ । भूगोलको राजनीतिमा नयाँ अनुहार देखिएका मियाँले प्रचण्डलाई चुनौति दिन सक्ने देखिँदैन । यद्यपि एमालेको संगठित भोट भएकाले अघिल्लो निर्वाचनको मतपरिणामको तुलनामा केही तलमाथि पर्न सक्ने देखिन्छ ।

सोही क्षेत्रबाट प्रचण्डविरुद्ध कांग्रेसका बागी उम्मेदवार माधवी भट्ट पराजुलीले उम्मेदवारी दिएकाले कांग्रेसको जनमत भने केही प्रभावित हुन सक्छ । यो क्षेत्रमा माओवादीको बलियो जनमत भएपनि केही भोटको अदलबदलले प्रचण्डलाई अप्ठ्यारो नपर्ने अकंगणितले देखाएको छ । यसअघि तीन वटै निर्वाचन जितेका भट्टराई प्रचण्डका बलिया खम्बा भएर उभिएका छन् । उनलाई वरिष्ठ उपाध्यक्ष श्रेष्ठले साथ दिएका छन् । ७ वर्षपछि प्रचण्ड र बाबुरामबीचको पुनर्मिलनले माओवादी कार्यकर्तालाई थप उत्साही बनाएको छ । प्रचण्ड–बाबुरामको गठबन्धनलाई आम जनताले पनि सहज रुपमा लिएकाले प्रचण्डको जित्ने सम्भावना धेरै देखिन्छ ।

योपटक पनि चितवन ३ बाट नै निर्वाचन लड्ने दाबी गरेका थिए । तर गठबन्धन नेतृत्व दल कांग्रेसभित्र देखिएको आन्तरिक किचलो, विपक्षी एमालेले राप्रपा र जसपासँग चुनावी तालमेलका कारण असुरक्षित देखिएपछि उनी पछि हटेका हुन् । यसअघि तीनपटक निर्वाचनमा भाग लिएका प्रचण्डले योपटक पनि निर्वाचन क्षेत्र परिवर्तन गरेर नयाँ कीर्तिमान राखेका छन् ।