NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यस्तो छ सन्दीपले प्रहरीलाई दिएको बयान

काठमाडौं ।बालिका जबर्जस्ती करणी अभियोगमा हिरासतमा रहेका राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान सन्दीप लामिछानेसँग प्रहरीले बयान लिन सुरु गरेको छ । अदालतबाट म्याद थप भएलगत्तै प्रहरीले उनीसँग बयान लिन सुरु गरेको हो ।

सन्दीपविरुद्ध प्रहरीले सोमबार बिहान २० असोजबाट लागू हुने गरी सात दिनका म्याद थप गरेको छ । त्यसलगत्तै प्रहरी वृत्त गौशाला लगिएका उनीविरुद्ध प्रहरीको अनुसन्धान टोलीले बयान लिन थालेको हो । बयानका क्रममा सन्दीपले ‘घटना झुटो भएको र फसाउने नियतले षड्यन्त्र रचिएको’ बताएका छन् । तर, जाहेरीकर्ता बालिकासँग ५ भदौको साँझ भेट भएको विषय भने स्वीकार गरेका छन् । बालिकाकै अनुरोधमा बानेश्वरस्थित होस्टलमा भेट्न गएको, सोही ठाउँबाट गाडीमा बसेर नगरकोट पुगेको र फर्किएर गौशालास्थित ‘काठमाडौं इन’ होटेल पुगेको पनि स्वीकार गरेका छन् । तर, राति बस्दा भने होटेलको फरक–फरक कोठामा बसेको र बालिकासँग शारीरिक सम्बन्ध नभएको बताएका छन् ।

सन्दीपको बयान उद्धृत गर्दै अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने, ‘जाहेरीकर्ता बालिकासँग भेट भएको सन्दीपले स्वीकार गरेका छन् । तर, जबर्जस्ती करणीको विषयमा भने उनले ‘इन्कारी बयान’ दिएका छन् । उनीसँगको बयान अझै सकिएको छैन । भोलि थप बयान लिने काम हुन्छ । सकिएपछि बयानको प्रमाणीकरण हुनेछ । र, अनुसन्धानका बाँकी काम अघि बढ्नेछन् ।’

प्रहरीका अनुसार सन्दीपले घटनामा हालसम्म कसैलाई मुछेका छैनन् । बयानका क्रममा कसैको नाम जोडिएर आए प्रहरीले उनीहरूसँग पनि बयान लिनेछ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले सन्दीपसँग बयान लिन सुरु भएको र यस क्रममा कसैको नाम जोडिएर आए उनीहरूसँग पनि बयान लिन सकिने बताए ।

उनले भने, ‘सन्दीपविरुद्ध सात दिनको म्याद थप भएको छ । त्यसपछि मैले यसमा अपडेट लिन सकेको छैन । यस क्रममा कसैको नाम जोडिएर आए उनीहरूसँग पनि सोधपुछ हुनेछ । यो अनुसन्धानको नियमित प्रक्रिया हो ।’

सन्दीपले म्याद थपका क्रममा काठमाडौं जिल्ला अदालतका न्यायाधीशसँग पनि जाहेरीकर्तासँग भेट भएको, घुम्न नगरकोट गएको, फर्किएर आएर होटेलमा बसे पनि शारीरिक सम्पर्क नभएको भन्दै ‘इन्कारी बयान’ दिएका थिए । सन्दीपको पक्षबाट वकालतमा उत्रिएका अधिवक्ता सुवास पाठकले म्याद थपका क्रममा सन्दीपले ‘इन्कारी बयान’ दिएको बताए ।

उनले भने, ‘म्याद थपका क्रममा सन्दीपलाई अदालतमा पेस गरिएको थियो । यस क्रममा उनले आफू निर्दोष भएको र कसैलाई करणी नगरेको बयान दिए । बालिकाकै अनुरोधमा भेट भएको र घुम्न पनि गएको उनले श्रीमान्सँग भने ।’

सन्दीपले यसअघि हिरासतमा भेट्न पुगेका आफ्ना कानुनी परामर्शदातासँग पटक–पटक बालिका १९ वर्ष पुगेको जिकिर गर्दै आएका छन् । यस विषयमा उनको पक्षबाट वकालत गर्दै आएका कानुन व्यवसायीबीच समेत मत बाझिएका छन् । तर, अदालतले प्रमाणका रूपमा सरकारी कागजातलाई नै आधार मान्छ ।

प्रहरीले संकलन गरेको कागजातअनुसार उनको नागरिकतामा जन्ममिति ०६२ उल्लेख छ । जसअनुसार उनी अहिले १७ वर्ष मात्रै पुगेको देखिन्छ । कानुनले १८ वर्षभन्दा कम उमेरकाहरूलाई बालबालिका मानेको छ । बालिकासँग सहमतिमै शारीरिक सम्पर्क भए पनि कानुनी नजरमा त्यो जबर्जस्ती करणी हुने कानुनी प्रावधान छ । त्यसो हुँदा कसुर प्रमाणित भए सन्दीपविरुद्ध कम्तीमा १० देखि १२ वर्ष कैद सजाय हुने देखिन्छ । तर, सन्दीप पक्षका कानुन व्यवसायी पाठक घटना नभए–नभएको प्रमाणित नभएको हुँदा बालिकाको उमेर बहसको विषय नभएको जिकिर गर्छन् ।

उनी भन्छन्, ‘यो केसमा पहिला त घटना भएको हो या होइन, त्यो मुख्य विषय हो । सन्दीपसँगको बयान बुझ्दा घटना भएकै छैन । घटना नै नभएको हुँदा उमेर ‘माइनर’ हो या ‘मेजर’ त्यो बहसको विषय नै होइन । यद्यपि, अनुसन्धान गर्ने प्रहरीले हो । यो अझै सकिएको छैन । यस क्रममा प्रमाण पेस होलान् । त्यसपछि मात्रै यो बहसको विषय हो ।’

१७ वर्षीया बालिकाले बलात्कृत भएको भन्दै सन्दीपविरुद्ध गत २१ भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन् । त्यसलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यस क्रममा प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज, बेडरुमका तन्ना, सिरक, त्यस समय बेडरुममा प्रयोग भएको डस्बिन, पीडितले लगाएको कपडा, पीडितको भेजाइना परीक्षण, सिडिआर (कलडिटेल रिपोर्ट), सामाजिक सञ्जाललगायतका सामग्री संकलन गरिसकेको छ ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा लामिछानेविरुद्ध थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरी वृत्त गौशालाले जिल्ला अदालत काठमाडौंमा पक्राउ पुर्जीका लागि अनुमति मागेको थियो । सोही निवेदनपछि अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष