NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सत्ता गठबन्धनको बैठक बस्दै, जसपाबाट सहभागी मन्त्रीहरूको पद धरापमा

काठमाडौं । जसपाको तर्फबाट सरकारमा सहभागी भएका मन्त्री हटाउने र बागी उम्मेदवारको विषयमा छलफल गर्न प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाएका छन् ।

मंगलबार दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सिट बाँडफाँट कार्यदलका सदस्यहरूसमेत सहभागी हुने एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । भुसालका अनुसार गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध परेको बागी उम्मेदवारी र जसपाबाट सहभागी मन्त्रीलाई हटाउने विषयमा छलफल केन्द्रित रहनेछ ।

‘प्रधानमन्त्रीज्यूले गठबन्धनको बैठक दिउँसो बोलाएका छन् । बैठकमा कार्यदलका सदस्यहरूलाईसमेत बोलाइएको छ’, उनले भने, ‘बैठकमा बागी उम्मेदवार, मन्त्री हटाउनेलगायत विषयमा छलफल केन्द्रित रहनेछ ।’

सुरुदेखि गठबन्धनलाई साथ दिएको जसपाले निर्वाचनको पूर्वासन्ध्यामा एमालेसँग सहकार्य गरी चुनावी तालमेल गरेपछि गठबन्धनका नेताहरू उपन्द्र यादवसँग असन्तुष्ट रहेका छन् । ओली सरकार ढलेपछि बनेकाे देउवा नेतृत्वको सरकारमा जसपाका ४ जना मन्त्री सहभागी रहेका छन् । जसपाबाट सरकारमा सहभागी सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री महम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपंक्षीमन्त्री मृगेन्द्रकुमार सिंहको पद धरापमा परेको छ ।

त्यस्तै आधिकारिक उम्मेदवारविरुद्ध विभिन्न निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी परेपछि उनहरूलाई सहमतिमै उम्मेदवारी फिर्ता लिन लगाउने तयारी भएको छ । बैठकले निर्वाचन क्षेत्रलाई लिएर कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाट दोहोरोतेहोरो उम्मेदवारी दर्ता भएको विषयमा पनि निष्कर्ष निकाल्ने भुसालले जानकारी दिए ।