NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नवराज सिलवालविरुद्ध ललितपुरमा कति बलिया छन् उदयशमशेर ?

काठमाडौं । २३ असोजमा उम्मेदवारी मनोनयनसँगै देशैभर चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ४ मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवारको टुंगो लागेसँगै देशैभर चुनावी माहोल तातेको हो ।

२०७४ सालमा एमाले र माओवादी मिलेर चुनाव लड्दा कांग्रेस कमजोर देखिएको थियो । २०७० सालमा बलियो देखिएको कांग्रेस २०७४ सालमा २३ सिटमा खस्किएको थियो । तर यसपटक कांग्रेस, माओवादी, नेकपा एस, लोसपा र राष्ट्रिय जनमोर्चा एक ठाउँमा उभिएर एमालेविरुद्ध चुनाव लड्दैछन् । यसैले यसपटकको चुनाव फरक हुँदैछ ।

अघिल्लोपटक एमालेले जितेको ललितपुर १ मा यसपटक कांग्रेसका उदयशमशेर राणा र एमालेका नवराज सिलवालबीच प्रतिस्पर्धा हुँदैछ । सिलवाल अघिल्लोपटक यही क्षेत्रबाट विजयी भएका थिए । राणाले भने २०७० सालमा यही निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए ।

अघिल्लोपटक पूर्व डिआइजी सिलवालले राणालाई ६२२२ मतान्तरले पराजित गरेका थिए । राणाले २०७२९ मत ल्याउँदा सिलवालले २६९५१ मत प्राप्त गरेका थिए । तर अघिल्लोपटक एमालेलाई साथ दिएको माओवादी अहिले कांग्रसको कित्तामा छ । यो क्षेत्र २०६४ सालमा माओवादीका वर्षमान पुनले जितेको क्षेत्रसमेत हो । यसैले माओवादीको पनि यो क्षेत्रमा प्रभाव राम्रै छ । यसपटक माओवादीको साथ कांग्रेसलाई हुने भएपछि राणालाई चुनाव जित्न सहज हुने बताइन्छ । यद्यपी एमालेकाे संगठित भाेट पनि कम छैन ।

स्थानीय तहको निर्वाचनमा गोदावरी नगरपालिका, वागमती, र महांकाल गाउँपालिका जितेपछि कांग्रेस यसपटक उत्साही छ ।

के छ स्थानीय तहको मत परिणाम ?

ललितपुर १ का वडाध्यक्षतर्फ ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन मतमा अगाडि देखिएको छ । यो क्षेत्रभित्रका सबै वडाध्यक्षले पाएको मतमा गठबन्धन अगाडि देखिएको हो । वडाध्यक्षतर्फ कांग्रेसले २३८५४, एमालेले १८९९३, माओवादीले ६१३३ र राप्रपाले १७५७ मत पाएको छ ।

गठबन्धनको मत २९९८७ छ । एमाले १०९९४ अर्थात झण्डै ११ हजार मतले पछाडि देखिन्छ । यसमा राप्रपाको झण्डै दुई हजार मत एमालेतिर खसे पनि सत्ता गठबन्धन अझै ९ हजार मतले अगाडि देखिन्छ । कांग्रेस र माओवादीले सबै वडामा आफ्ना उम्मेदवार खडा गरेका थिएनन । तर एमालेले सबै वडामा उम्मेदवार उठाएको थियो । यसैले एमालेले पाउने वास्तविक मत यसै हाराहारी भए कांग्रेसलाई यो क्षेत्रबाट जित्न सहज देखिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष