NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

बलिया प्रतिस्पर्धीसँग भिड्दै कांग्रेसका ५ महिला नेता, को छन् उनीहरूका प्रतिस्पर्धी ?

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले सत्तारुढ दलको भागबण्डामा ८९ सिट पाएको छ । १६५ मा ८९ सिट पाउँदा प्रतिनिधिसभाको प्रत्यक्षमा टिकट पाउँने महिला नेता भने जम्मा पाँच जना छन् ।

कांग्रेसका ५ महिला नेताका प्रतिस्पर्धी सबै पुरुष रहेका छन् । जसमा तीन एमाले, एक जसपा र एक राप्रपाका उम्मेदवार छन् । कांग्रेस, एमाले, माओवादीका शीर्ष नेताका प्रतिस्पर्धी कमजोर देखिंदै गर्दा कांग्रेसका महिला नेताका प्रतिस्पर्धी भने बलिया देखिएका छन् ।

महिलालाई थोरै उम्मेदवार बनाएको कांग्रेसले प्रतिस्पर्धा हुने ठाउँमा नै महिलालाई उम्मेदवार बनाएको छ । जसमा तेह्रथुममा सीता गुरुङ, मोरङ २ मा सुजाता कोइराला, सिरहा २ मा चित्रलेखा यादव, मकवानपुर १ मा महालक्ष्मी उपाध्याय डिना र अर्घाखाँचीमा पुष्पा भुसालले मात्रै टिकट पाएका छन् ।

अन्य कुनै पनि क्षेत्रमा कांग्रेसले प्रत्यक्षमा महिलालाई उम्मेदवार नबनाएको हो । मोरङमा टिकट पाउँने सुजाताबाहेकका चार नेता नै संस्थापन शेरबहादुर देउवा निकटका नेता हुन् ।

मकवानपुर १ : महालक्ष्मी उपाध्याय डिनाविरुद्ध कमल थापा

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना यसपटक मकवानपुर १ बाट चुनाव लड्दैछिन् । २०७४ सालमा डिना मकवानपुर २ बाट एमालेका विरोध खतिवडासँग १२३९१ मतान्तरले पराजित भएकी थिइन् । तर उनलाई हराउने विरोध यसपटक नेकपा एसबाट मकवानपुर २ मा फेरि उम्मेदवार बनेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रभरका वडाध्यक्षतर्फ एमालेले ३८०५६, कांग्रेसले ३४०७२, माओवादीले १६५४२, राप्रपाले ४०७० र नेकपा एसले ३२८३ मत ल्याएको छ । सत्ता गठबन्धनको मत ५३८९७ छ । एमाले र राप्रपा मिल्दा पनि गठबन्धन अझै ११७११ मतान्तरले अगाडि देखिन्छ ।

योपटक डिनाविरुद्ध राप्रपाका कमल थापा एमालेसँग तालमेल गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सूर्य चिन्हबाट उठेका थापाले यसपटक डिनालाई हराउन निक्कै मेहनत गर्नुपर्ने देखिन्छ । किनकी स्थानीय तहको निर्वाचनमा राप्रपाको जम्मा चार हजार मत यो क्षेत्रमा देखिन्छ । यसैले एमालेको गतिलो साथविना थापालाई चुनाव जित्न कठिन छ । तर डिनालाई सत्ता गठबन्धनको सहयोगमा चुनाव जित्न सहज देखिएको छ ।

अर्घाखाँची : पुष्पा भुसालविरुद्ध टोपबहादुर रायमाझी

अर्घाखाँचीमा यसपटक सत्ता गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल उठेकी छिन् । यो क्षेत्रमा २०७४ सालमा एमालेको सहयोगमा माओवादीका टोपबहादुर रायमाझी १८२९३ मतान्तरले विजयी भएका थिए । जहाँ कांग्रेसका डा. रामबहादुर बिसीले ३२५४४ र माओवादीका रायमाझीले ५०८३७ मत ल्याएका थिए ।

गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा यो क्षेत्रका वडाध्यक्षतर्फ एमालेले ४८२६०, कांग्रेसले ३७९२५, माओवादीले ७७९०, राजमोले ४२९४ र नेकपा एसले ३७६३ मत ल्याएका थिए । स्थानीय तहमा सत्ता गठबन्धनको मत ४९९७२ देखिन्छ । एमाले १७१२ मतान्तरले पछाडि देखिन्छ ।

यो क्षेत्रबाट यसपटक भुसालसँग उनै रायमाझीले प्रतिस्पर्धा गर्दैछन् । गठबन्धनका चार दल मिल्दा पनि रायमाझी १७१२ मतले मात्रै पछाडि देखिएका छन् । यसैले यो क्षेत्रमा पनि भुसाल र रायमाझीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

सिरहा २ : चित्रलेखा यादवविरुद्ध राजकिशोर यादव

कांग्रेसले यसपटक सिरहा २ बाट चित्रलेखा यादवलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा २०७४ सालमा माओवादी केन्द्र विजयी भएको थियो । माओवादीका सुरेशचन्द्र दासले संघीय समाजवादी फोरमका शत्रुधनप्रसाद सिंहलाई २८८८ मतान्तरले पराजित गरेका थिए ।

दासले २०१४८, सिंहले १७२६० मत ल्याउँदा तेस्रो भएका कांग्रेस उम्मेदवार रामचन्द्र यादवले १५५९७ मत ल्याएका थिए । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा यो क्षेत्रभरका वडाध्यक्षतर्फ जसपाले २१०९७, कांग्रेसले १९४७४, एमालेले १८३५८, माओवादीले ११६५८, जनमत पार्टीले ५१०१, नेकपा एसले ३९२३ र लोसपाले ९७९ मत ल्याएका थिए ।

जसमा गठबन्धनको मत ३२१११ देखिन्छ । यसपटक एमालेको सहयोगमा जसपाले राजकिशोर यादवलाई उम्मेदवारमा अघि सारेको छ । स्थानीय तहमा एमाले र जसपाले पाएको मत जोड्दा ३९४५५ हुन्छ । जुन गठबन्धनकोभन्दा ७३४४ ले बढी हो । यसैले कांग्रेस उम्मेदवार चित्रलेखालाई यसपटक सिरहा २ मा चुनाव जित्न कठिन हुने देखिएको छ ।

मोरङ २ : सुजाता कोइरालाविरुद्ध ऋषिकेश पोखरेल

मोरङ २ मा यसपटक कांग्रेसले सुजाता कोइरालालाई टिकट दिएको छ । अघिल्लोपटक जितेका डा. मीनेन्द्र रिजाललाई रोक्दै कांग्रेसले सुजातालाई टिकट दिएको हो । परम्परागत रुपमा यो कांग्रेसको बलियो क्षेत्र मानिन्छ ।

२०७४ सालमा रिजाल यो क्षेत्रबाट १८०५ मतान्तरले विजयी भएका थिए । रिजालले ३५८१९ र पराजित एमालेका ऋषिकेश पोखरेलले ३४०१४ मत ल्याएका थिए ।

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा यो क्षेत्रभरका वडाध्क्षमा एमालेले एमालेले ३१३३०, कांग्रेसले २८६१७, माओवादीले ७२७१, राप्रपाले २०६९, लोसपाले ५६६ मत ल्याएका थिए । गठबन्धनले ३६४५४ मत ल्याएको छ । एमाले ५१२४ मतान्तरले पछाडि देखिन्छ । सत्ता गठबन्धनका दल मिल्दा पनि एमाले धेरै मतान्तरले पछाडि देखिएको छैन । यसैले सुजाताको क्षेत्रमा पनि यसपटक प्रतिस्पर्धा हुने देखिन्छ । एमालेले मोरङ २ मा फेरि ऋषिकेश पोखरेललाई नै टिकट दिएको छ ।

तेह्रथुम : सीता गुरुङविरुद्ध विजय सुब्बा

तेह्रथुममा कांग्रेसले केन्द्रीय सदस्य सीता गुरुङलाई टिकट दिएको छ । तेह्रथुममा २०७४ सालमा पनि गुरुङ पराजित भएकी थिइन् । एमालेका भवानीप्रसाद खापुङसँग गुरुङ २०२१ मतान्तरले पराजित भएकी थिइन् । खापुङको २१३३५ र गुरुङको १९३१४ मत आएको थियो ।

गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा तेह्रथुमका सबै वडाध्यक्षमा एमालेले २२३१२, कांग्रेसले २१९११, माओवादीले ६६८ र नेकपा एसले ५४६ मत ल्याएका थिए । गटबन्धनको मत २३१२६ मत रहेको छ । एमाले ८१२ मतान्तरले पछाडि देखिन्छ । गठबन्धन दल मिले पनि यो क्षेत्रमा एमाले निक्कै प्रतिस्पर्धी देखिएको छ ।

योपटक तेह्रथुममा एमालेले विजय सुब्बालाई अघि सारेको छ । गठबन्धनसँग प्रतिस्पर्धी मत देखिएकोले गुरुङ र सुब्बाबीच रोचक भिडन्त हुने देखिएको छ ।