NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

टीकापुरमा बाढीबाट सात सय परिवार विस्थापित

टीकापुर । लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् । यस्तै जानकी गाउँपालिकामा ३६ परिवार विस्थापित भएका छन् । यीमध्ये ४७ घर पूर्णरुपमा क्षति भएको छ । विस्थापितका घरमा बाढीले क्षति पु¥याएपछि खानेपानी तथा शौचालयको समेत समस्या भएको छ ।

बाढी प्रभावित हुनेमा टीकापुरमा एक सय बढी गर्भवती र सुत्केरी, तीन सय २० पाँच वर्षमुनिका बालबालिका, चार सय पाँच वर्षमाथिका बालबालिका, ५५ ज्येष्ठ नागरिक, २० अपाङ्गता भएका व्यक्ति र नौ अन्य बिरामी रहेका नगरपालिकाले जनाएको छ । बाढीका कारण नागरिक समस्यामा परेकाले विपद् व्यवस्थापन समितिको बैठकले बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्राथमिकताका आधारमा राहत दिने निर्णय गरेको छ ।

नगरपालिकालाई बाढीपीडितका लागि तत्काल टेन्ट, त्रिपाल, खाद्यान्न, भाँडाकुँडा, खानेपानी, तयारी खाना, गुन्द्रीलगायतका सामान आवश्यक पर्ने भएकाले त्यसको जोहोका लागि सरोकारवालासँग छलफल गरिएको छ ।

बाढीका कारण टीकापुर नगरपालिका सबै वडा प्रभावित भएका छन् । बाढीले बढी क्षति वडा नं ५, ६, ७, ८ मा पुर्याएको छ । कर्णाली नदीमा पानीको बहाव बढेपछि कतिपय ठाउँमा नदी ओभरफ्लो भएर बस्तीमा पसेको छ भने कतिपय ठाउँमा नदी फुटेर बस्तीमा पसेको हो । टीकापुर–८ को वनगाउँमा कर्णाली नदी फुटेर बस्तीमा पस्दा त्यहाँ ठूलो क्षति भएको छ ।

बाढीले नागरिक प्रभावित मात्र नभई धानबाली सडेर बोटमै उम्रन थालेको छ । फुल्न थालेको धान पनि सखाप भएको वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । “पाकेको धानबाली सबै हावा तथा पानीले ढलेर नास भइसकेको छ । फुलिरहेको धान पनि डुबान तथा पटानले सकियो, नदी बस्तीमा पसेपछि धानबाली रहने त कुरै भएन,” उन भने, “प्रभावित नागरिक राहतभन्दा पनि दीर्घकालीन समाधानको माग गर्छन् । त्यहाँ भोकमरी सुरु हुने भएको छ ।”

वडा नं ५ का वडाध्यक्ष बलवीर चौधरी पनि आफ्नो वडामा धानबाली खेतमै उम्रिसकेको बताउँछन् । “अझै जलमग्न छ । धान खेतमै सडिसक्यो,” उनले भने, “घरमा पानी पस्यो, घरका सबै सामान नोक्सान भए, खेतमा रहेको धानबाली पनि सखाप भयो । हामीले कसरी स्थानीयवासीलाई सान्तवना दिनु ?”

बाढी प्रभावितलाई नगद सहायता

कैलालीका यी दुई पालिकामा विपद् पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यक्रमअन्तर्गत विश्व खाद्य कार्यक्रमले बाढीको जोखिममा रहेका परिवारलाई नगद सहायता गरेको छ । पूर्वानुमानमा आधारित सूचनाअनुसार गत वर्षको बाढीपछि सङ्कलन भएको तथ्याङ्कका आधारमा प्रभावित क्षेत्रका नागरिकलाई प्रतिपरिवार रु १५ हजारका दरले नगद सहायता गरिएको छ ।

विश्व खाद्य कार्यक्रमअन्तर्गत टीकापुरका दुई हजार नौ सय १६ र जानकीका एक हजार दुई सय परिवारलाई नगद सहयोग प्रतिपरिवार रु १५ हजारका दरले वितरण भइरहेको नेपाल रेडक्रस कैलालीका हेमराज उप्रेतीले जानकारी दिए । “प्रभावित क्षेत्रका नागरिकको खातामा नगद सहायता पठाउने काम भइरहेको छ । उहाँहरूको नाममा रकम गएको छ । रकम झिक्नका लागि हामी विभिन्न ठाउँमा सहायता कक्ष बनाएर बसिरहेका छौँ”, उनले भने, “नगद सहायता अहिले ८० प्रतिशत प्रभावितले पाउनुभएको छ । बाँकी २० प्रतिशतले एक महिनाभित्र पाइसक्नु हुनेछ ।”

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी नगद सहायता बाढीकै समयमा दिँदा र पछि दिँदाको प्रभावबारे जानकारी पाउन र विपद्मा परेकालाई सहयोग हुने भएकाले गत वर्षको तथ्याङ्कानुसार नगद पाइरहेका बताए ।