NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

जी७ का नेताको प्रतिबद्धता– युक्रेनलाई आवश्यक भएसम्म मद्दत गर्छौं

काठमाडौं (एजेन्सी) । विश्वका धनी देशहरूको समूह जी७ का नेताहरूले ‘युक्रेनलाई गर्दै आएको समर्थन आवश्यक भएसम्म जारी राख्ने प्रतिबद्धता जाहेर गरेका छन् । रुसले युक्रेनमाथि मिसाइल आक्रमण तीव्र पारिरहेका बेला जी७ का नेताहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

आपतकालीन भर्चुअल बैठकमा बोल्दै जी७ का नेताहरूले युक्रेनलाई सैन्य र मानवीय सहायता जारी राख्ने बताए ।

नाटोले पनि युक्रेनलाई आवश्यक परेसम्म साथ दिने बताएको छ ।

आफ्नो विज्ञप्तिमा जी७ ले भनेको छ, ‘हामी युक्रेनलाई आर्थिक, मानवीय, सैन्य, कूटनीतिक र कानुनी सहयोग जारी राख्नेछौं र आवश्यक परेसम्म युक्रेनको साथमा उभिनेछौं।’

सोमबार युक्रेनको राजधानी किभमा एकपछि अर्को मिसाइल आक्रमणमा १९ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

यी आक्रमणहरू मंगलबार पनि जारी रह्यो । रुसले आक्रमण तीव्र पारेपछि सर्वसाधारणलाई बंकरहरू र हवाई हमलाहरूबाट बच्ने ठाउँमा आश्रय लिन सल्लाह दिइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रुसलाई क्रिमियासँग जोड्ने महत्त्वपूर्ण पुलमा आगजनी गरेको बदलामा प्रतिआक्रमण गरेको बताएका छन् ।