NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

देउवालाई हराउन डडेल्धुरामा एमालेको समर्थन मल्ललाई, देउवालाई चुनाव जित्न कति कठिन ?

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई हराउन डडेल्धुरामा एमालेले उम्मेदवारी फिर्ता लिएको छ ।

बिपी कांग्रेसबाट उम्मेदवारी दिएका कर्ण मल्ललाई समर्थन गर्दै एमालेले उम्मेदवारी फिर्ता लिएको हो । प्रदेशसभामा कांग्रेस बिपीले एमालेलाई सघाउने र संघमा देउवाविरुद्ध एमालेले कांग्रेस बिपीलाई सघाउने सहमति भएको हो । यसै सहमतिपछि एमालेबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका चक्र स्नेहीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

डडेल्धुरामा कांग्रेसबाट बागी उम्मेदवारी दिएका दानबहादुर पालले पनि फिर्ता लिएका छन् । साथै राप्रपा नेपालका कालीप्रसाद जोशीको उम्मेदवारी पनि फिर्ता भएको छ ।

को को छन् देउवाको क्षेत्रमा प्रतिस्पर्धी ?

तीन जना उम्मेदवारी फिर्ता लिएसँगै अब देउवाले ४ मंसिरमा हुने निर्वाचनमा सात उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । ३० वैशाखमा पनि एमाले र बिपी कांग्रेस मिले पनि कांग्रेसलाई चुनाव हराउन सकेका थिएनन् ।

देउवासँगै एमालेको सहयोगमा कांग्रेस बिपीबाट कर्ण मल्ल, एमालेका बागी विक्रम शाही, राप्रपाका गोविन्द खडायत र जसपाका श्याम सिनाल प्रतिस्पर्धामा छन् ।

स्वतन्त्र उम्मेदवारमा सागर ढकाल, लालबहादुर कठायत र कर्णसिह रावल प्रतिस्पर्धामा छन् ।

के छ देउवाको मतको अवस्था ?

२०७४ सालमा देउवा डडेल्धुरा १ बाट उठेका थिए । देउवा २८ हजार चार सय ४६ मत ल्याएर विजयी भएका थिए । एमाले र माओवादी केन्द्रले गठबन्धन गरेर लडेको चुनावमा देउवाविरुद्ध माओवादीका खगराज भट्टले २१ हजार चार सय ९८ मत ल्याएका थिए । निर्वाचनमा दुई दल मिल्दा देउवाले ६९४८ मत अन्तरले जितेका हुन् । एमाले र माओवादी मिल्दा पनि देउवाले जितेको यो अन्तर कम भने होइन । तर देउवाले झण्डै सात हजारको यो अन्तरलाई पनि बालबाल भनेका छन् ।

देउवाको क्षेत्रमा राष्ट्रिय मुक्ति आन्दोलन नेपालका लक्ष्मीदत्त भट्टले ८५७, स्वतन्त्रका कर्णसिंह रावलले १४०, राष्ट्रिय जनमोर्चाका लालबहादुर जाग्रीले १०३, नेपाल दलित पार्टीका रमेश टमाटाले ८३ मत ल्याएका थिए ।

देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सबै निर्वाचन जित्ने नेतासमेत हुन् । उनी पाँचपटक प्रधानमन्त्री भइसकेका छन् । गठबन्धनकाे बलमा चुनाव जिते फेरि उनी प्रधानमन्त्रीका दाबेदार हुन् ।

स्थानीय तहमा के छ मतको अवस्था ?

३० वैशाखमा भएको चुनावमा डडेल्धुराका वडाध्यक्षतर्फ कांग्रेसले २१७३५, माओवादीले १२८७८, एमालेले १०४४९, नेकपा एसले ५०४१, राप्रपाले ७१४ र जसपाले १५६ मत ल्याएका थिए ।

देउवाको क्षेत्रमा गठबन्धनको मत ३९६५४ छ । एमाले यो क्षेत्रमा २९२०५ मतान्तरले पछाडि छ । सत्ता गठबन्धन एक ठाउँमा उभिंदा एमाले, कांग्रेस, बिपी र राप्रपासहितका दल एक ठाउँमा उभिए पनि देउवालाई हराउन कठिन पर्ने देखिन्छ ।

अघिल्लोपटक एमाले र माओवादी मिल्दा पनि देउवा जित्न पुगेका थिए । एमालेकोभन्दा राम्रो मत भएको माओवादी यसपटक कांग्रेससँगै छ । जिल्ला सभापति हुँदाको प्रभाव र एमालेको साथले देउवालाई जाने केही मत प्रभावित भए पनि हराउने गरी मत बटुल्न मल्ललाई कठिन हुने देखिन्छ ।

राष्ट्रिय रुपमा चर्चा बटुलेका सागर ढकालले देउवालाई जाने धेरै मत काट्दा भने मल्लले देउवालाई चुनौती दिन सक्छन् ।

को हुन् एमालेको समर्थन पाएका मल्ल ?

कर्ण मल्ल डडेल्धुराका कांग्रेस सभापति भइसकेका नेता हुन् । उनले देउवाको स्वकीय सचिव भएरसमेत काम गरिसकेका छन् । देउवाका नजिकका विश्वासपात्र मल्लको क्रियाशील सदस्यता वितरणमा देउवासँग दुरी बढेको थियो । यही दुरी बढ्दा उनी कांग्रेसबाट अलग भई बिपी कांग्रेसको वरिष्ठ उपसभापति बन्न पुगे । उनी देउवाविरुद्ध लागेपछि एमालेले उनलाई हराउन समर्थन गरेको हो । २०७४ सालमा देउवाले नै हस्ताक्षर गरेको टिकट लिएर मल्ल सुदूरपश्चिमबाट प्रदेशसभा सदस्य चुनिएका थिए । तर उनै मल्ल यतिखेर देउवाविरूद्द नै उत्रिएका छन् ।