NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

कांग्रेस उम्मेदवारलाई हराउन सफल होलान् प्रहरीका तीन पूर्व ‘अफिसर’ ?

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबारदेखि उम्मेदवारहरू निर्वाचन चिन्ह लिएर आ–आफ्ना निर्वाचन क्षेत्रमा जाने भएका छन् । प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० सदस्यका लागि चुनावमा भाग लिने उम्मेदवारहरूको अन्तिम नामावली बुधबार प्रकाशन गरी उम्मेदवाहरूलाई निर्वाचन आयोगले चिन्ह प्रदान गरेको थियो ।

विगतमा जस्तै योपटक पनि चुनावी मैदानमा बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दिएका छन् । आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र एमालेबीच नै हुने देखिन्छ । योपटक परम्परागत राजनीतिक दलका उम्मेदवारहरूलाई चुनौती दिन स्वतन्त्र उम्मेदवारी दिने पनि उल्लेख्य छन् । विभिन्न सरकारी तथा गैरसरकारी पेशाव्यवसायबाट अवकास पाएकाहरू पनि राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिने उत्तिकै छन् ।

काठमाडौं उपत्यकाबाट मात्रै नेपाल प्रहरीबाट अवकास पाएका पूर्वमहानिरीक्षकसहित तीन जना अधिकारी चुनावी मैदानमा उत्रिएका छन् । चुनावी प्रतिस्पर्धामा उत्रिनेमा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल, पूर्वप्रहरी नायव महानिरिक्षकद्वय रमेश खरेल र नवराज सिलवाल रहेका छन् । खनाल ३० वर्षे सेवा अवधि पूरा गरी राजनीतिमा प्रवेश गरेका हुन् । खरेल र सिलवाल प्रहरी सेवाबाट राजीनामा दिएर राजनीतिमा हामफालेका हुन् । यी तीनै अधिकारीका मुख्य प्रतिस्पर्धी कांग्रेस र एमालेका उम्मेदवार रहेका छन् । खनाल र सिलवाल एमालेबाट चुनावी मैदानमा उत्रिएका छन् । खरेल नेपाल सुशासन पार्टीबाट मैदानमा उत्रिएका हुन् । खनाल काठमाडौं ६ र खरेल काठमाडौं १ बाट प्रतिस्पर्धा गर्दैछन् । सिलवाल ललिपुर १ बाट प्रतिस्पर्धा गर्दैछन् ।

आफू सँगैका अब्बल अधिकृत रमेश खरेल, उत्तम कार्की, पुष्कर कार्कीलगायतलाई पछि पार्दै कार्यक्षमता, कार्यसम्पादन मूल्याङ्कन र वरिष्ठताको आधारमा खनाल ०७४ मा प्रहरी महानिरीक्षक बन्न सफल भएका थिए । संगठनभित्र कुशल र व्यवसायिक अधिकृतको छवि बनाएका उनले प्रहरीमा झण्डै २२ महिना महानिरीक्षक भएर काम गरे ।

‘मोष्ट वान्टेड’ सूचीमा रहेका गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटे उनैले प्रहरीको नेतृत्व सम्हालेपछि इन्काउन्टरमा मारिएका थिए । फुटबलमा खेल मिलेमतो (म्याचफिक्सिङ) को आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालगायत ६ जनालाई कारबाही प्रक्रिया अघि बढाएको जस खनालले लिंदै आएका छन् ।

०७७ वैशाख १४ गते तत्कालीन समाजवादीका सांसद सुरेन्द्र यादव अपहरण काण्डमा खनाल जोडिएका थिए । जनकपुरबाट यादवलाई उनीसहित एमालेका नेता महेश बस्नेत, किसान श्रेष्ठले अपरहण गरेको आरोप लाग्दै आएको छ ।

उनै खनाल काठमाडौंबाट प्रतिनिधिसभा सदस्यको टिकट पाउने शर्तमा असोज ६ मा एमाले प्रवेश गरेका थिए । उनले रोजेकै क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका खनालको मुख्य प्रतिस्पर्धी कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान रहेका छन् । अघिल्लो निर्वाचनमा १३०० मतान्तरले माओवादीका झक्कुप्रसाद सुवेदीलाई प्रधानले पराजित गरेका थिए ।

योपटक प्रधानलाई गठबन्धनकासमेत साथ रहेकाले खनाललाई चुनाव जित्न चुनौतीपूर्ण देखिन्छ । गत वैशाखमा भएका स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा काठमाडौं ६ बाट कांग्रेस १७ हजार २७७ मतसहित पहिलो स्थानमा रहेको छ । एमालेको १४ हजार ३०३, माओवादीको २ हजार ४६२, नकपा एसको १ हजार ८५९ र राप्रपाको १ हजार ८१६ मत रहेको छ । यहाँ गठबन्धनको जम्मा मत २१ हजार ५९८ रहेको छ । यो क्षेत्रमा एमाले ७ हजार २९५ मतले पछाडि रहेको छ ।

राणाविरुद्ध सिलवाल

३० वर्षे सेवा अवधि पूरा नगरी पदबाट राजीनामा दिएका प्रहरीका पूर्वनायव महानिरीक्षक नवराज सिलवालले अवकासपछि एमालेबाट नै राजनीति सुरु गरेका हुन् । कार्यसम्पादन मूल्याङकनमा तेस्रो स्थानमा रहेका सहब्याजी जयबहादुर चन्दलाई सरकारले महानिरीक्षक बनाएको आरोप लगाउँदै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । चन्दलाई महानिरीक्षक बनाउने १ फागुन २०७३ को मन्त्रिपरिषदको निर्णयलाई चुनौती दिँदै उनले सर्वोच्चमा रिट दायर गरेका थिए । चन्दलाई महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय आदलतले खारेज गरेपछि सरकारले दोस्रो वरियतामा रहेका प्रकाश अर्याललाई महानिरीक्षक बनाएका थिए ।

अर्यालको नियुक्तिलाई चुनौती दिँदै सिलवालले पुनः सर्वोच्चमा रिट दायर गरे । तर २७ भदौमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासले उनको रिट खारेज गर्यो । अदालतको फैसला आएलगत्तै उनले पदबाट राजीनामा दिएका थिए ।
कार्य सम्पादन मूल्याङ्कनमा तत्कालीन डीआईजी प्रकाश अर्याल नै अगाडि रहेको उल्लेख गर्दै सर्वोच्चले सिलवालको रिट खारेज गरेको थियो ।

२०७४ को निर्वाचनको पूर्वासन्ध्यामा उनी एमाले प्रवेश गरेका थिए । उनलाई एमालेले ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको थियो । अघिल्लो निर्वाचनमा सिलवालले ६ हजार २२२ मतान्तरले कांग्रेसका उम्मेदवार उदयशमशेर राणालाई हराएका थिए । उनले २६ हजार ९५१ मत ल्याउँदा प्रतिद्वन्द्वी राणाले २० हजार ७२९ मत ल्याएका थिए । योपटक पनि एमालेबाट उनैले टिकट पाएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका पुरानै अनुहार राणा रहेका छन् । राणासँग यो उनको दोस्रो भिडन्त हो । अघिल्लोपटक राणालाई योपटक गठबन्धनले साथ दिएको छ । स्थानीय तहको मतपरिणाम अनुसार सिलवालको विजयी यात्रा पनि चुनौतीपूर्ण देखिन्छ । स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार ललितपुर १ मा कांग्रेसको २३ हजार ८५४, एमालेको १८ हजार ९९३, माओवादीको ६ हजार १३३ र राप्रपाको १ हजार ७५७ मत रहेको छ । यहाँ गठबन्धनको जम्मा मत २९ हजार ९८७ रहेको छ । एमाले १० हजार ९९४ मतले पछाडि देखिन्छ ।

प्रकाशमानविरुद्ध खरेल

रमेश खरेलले २०७४ चैत २८ मा पदबाट राजीनामा दिएका थिए । आफ्ना सहब्याजी प्रहरी नायव महानिरीक्षक खनाललाई सरकारले महानिरीक्षक बनाएपछि पदबाट राजीनामा दिएका पूर्वप्रहरी नायव महानिरीक्षक रमेश खरेल पनि चुनावी मैदानमा उत्रिएका छन् । भ्रष्टाचारविरुद्ध अभियानै चलाएका उनले आफ्नै नेतृत्वका नेपाल सुशासन पार्टी खोलेका छन् । कार्यसम्पादन मुल्याङकनमा आफूभन्दा कमजोर रहेका अधिकृतलाई सरकारले महानिरीक्षक बनाएकोमा उनले असन्तुष्टि पोखेका थिए । तर उनले सरकारको निर्णयविरुद्धमा अदालत नगई पदबाट राजीनामा दिएका थिए । काठमाडौं १ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका खरेलको मुख्य प्रतिस्पर्धी कांग्रेस, एमाले र राप्रपाका उम्मेदवार रहेका छन् ।

कांग्रेसबाट निवर्तमान सांसद प्रकाशमान सिंह रहेका छन् । एमालेबाट राष्ट्रिय युवासंघका अध्यक्षसमेत रहेका किरण पौडेल उठेका छन् । पार्टी फेरेर राप्रपाबाट रवीन्द्र मिश्र दोहोरिएका छन् । खरेलको पार्टीको काठमाडौंमा बलियो संगठन नभएकाले बलिया प्रतिस्पर्धीलाई रहेको पुरान दलका उम्मेदवारलाई पराजित गर्न उनलाई निकै कठिन देखिन्छ । अघिल्लो निर्वाचनमा बलियो प्रतिस्पर्धी रहेका सिंह र मिश्र योपटक पनि एकअर्का विरुद्ध मैदानमा उत्रिएका छन् । २०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार रहेका अनिल शर्मा तेस्रो स्थानमा खुम्चिएका थिए । विवेकशील साझाका अध्यक्षसमेत रहेका मिश्रलाई सिंहलाई ८१८ मतान्तरले हराएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष