NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

को–को हुन् सात प्रदेशमा भावी मुख्यमन्त्रीका मुख्य दाबेदार ?

काठमाडौं । ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेससभा निर्वाचन एकैपटक हुँदैछ । तर धेरै चर्चा भने १६५ प्रतिनिधिसभाका क्षेत्रमा देखिएको छ । देशको केन्द्रीय शासक छान्ने भएकोले पनि प्रतिनिधिसभामा धेरैको चासो हुनु स्वभाविक हो । तर प्रतिनिधिसभाभन्दा बढी अर्थात् ३३० सदस्य प्रदेशसभा चुनावबाट सीधै चुनिन्छन् । प्रतिनिधिसभामा ११० र प्रदेशसभामा १२० समानुपातिकबाट छानिन्छन् ।

धेरै चासो प्रतिनिधिसभाको उम्मेदवारमा देखिए पनि प्रदेशसभा सदस्यले पनि उत्तिकै महत्व राख्छन् । प्रदेशसभामा दोस्रोपटक चुनाव हुन लागेको हो । प्रदेशको अभ्यास नयाँ भएकोले यसलाई संस्थागत गरेर जनतामा भरोसा दिलाउनुपर्ने अवस्था छ । तर यसपटक राजनीतिको केन्द्रमा रहने नेताहरूको चासो यसमा कम परेको देखिन्छ ।

२०७४ सालमा केन्द्रीय राजनीतिमा चर्चित बनिसकेका शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ प्रदेशमा झर्दै मुख्यमन्त्रीसम्म बन्न सफल भएका थिए । तर यसपटक उनीहरूले केन्द्र ताकेका छन् । यी दुवै नेता प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् ।

सात प्रदेशमध्ये बहालवाला तीन मुख्यमन्त्री कर्णालीका जीवनबहादुर शाही, मधेसका लालबाबु राउत र प्रदेश १ का राजेन्द्र राई भने यसपटक पनि प्रदेशसभामै भिड्दैछन् । बहालवाला तीन मुख्यमन्त्रीमा वाग्मतीका राजेन्द्र पाण्डे धादिङबाट प्रतिनिधिसभामा उम्मेदवार बन्दैछन् । लुम्बिनीका कुलप्रसाद केसी सोनम र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले यसपटक कतै पनि टिकट पाएका छैनन् ।

प्रदेश १ मा अघिल्लोपटक एमालेबाट शेरधन राई र भीम आचार्य मुख्यमन्त्री भएका थिए । यसपटक शेरधन राई एमालेबाट भोजपुरमा प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् । आचार्य सुनसरी २ मा एमालेबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

कुन प्रदेशमा को छन् मुख्यमन्त्रीका दाबेदार ?

केन्द्रीय अनुहारका नेताको आकर्षण प्रदेशसभामा नभए पनि लामो समय भूगोलमै बसेर राजनीति गरेका नेता यसपटक पनि प्रदेशसभामा उम्मेदवार बनेका छन् । यसपटक कांग्रेस, माओवादी, नेकपा एस, लोसपा र राष्ट्रिय जनमोर्चा मिलेर चुनाव लड्दैछन् । केन्द्रीय सरकारको नेतृत्व, मुख्य मन्त्रालयमा भागबण्डा र प्रदेशको नेतृत्व पनि आपसी भागबण्डामा तय गर्ने तयारी यी दलहरूको छ । गठबन्धनले देशैभर जित्दा जितेको हिस्सा र सम्भावित शक्ति सन्तुलनका आधारमा कुन प्रदेशम कसले सरकार बनाउने भन्ने टुंगो लाग्छ । अहिले नै कुन प्रदेशमा कसको सरकार बन्ने भन्ने टुंगो लागेको छैन । तर पनि मुख्यमन्त्रीमा दाबेदार देखिएका छन् ।

अहिलेका सात प्रदेशमा कांग्रेसको भागमा गण्डकी र लुम्बिनी परेका छन् । प्रदेश १ र वागमती नेकपा एसको भागमा पर्दा, लुम्बिनी र सुदूरपश्चिम माओवादीको भागमा छन् । मधेस प्रदेशस नेकपा एसको भागमा छ । निर्वाचनपछि यस्ताे भागबण्डा फेरिन सक्नेछ ।

प्रदेश १ का दाबेदार

अघिल्लोपटक केन्द्रीय राजनीतिमा समेत परिचित अनुहार प्रदेश १ मा उम्मेदवार बनेका थिए । यसपटक प्रदेश १ मा सबै दलबाट युवा नेता मुख्यमन्त्रीका दाबेदार देखिएका छन् । अहिलेकै मुख्यमन्त्री राजेन्द्र राई पहिलो दाबेदार देखिएका छन् ।

कांग्रेसबाट युवा नेता गुरु घिमिरे प्रमुख दाबेदार हुन् । उनी मोरङ ४ (क)बाट प्रदेशसभामा उम्मेदवार बनेका छन् । कांग्रेसकाे प्रदेश अधिवेशनमा घिमिरे २ मतले प्रदेश सभापति हुनबाट चुकेका थिए । उनी नेविसंघको सभापति हुँदै कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गरेका नेता हुन् ।

उनीबाहेक लामो समयदेखि भूगोलमै बसेर राजनीति गरेका कांग्रेसका अमृत अर्याल, उद्धव थापा, राजीव कोइराला, भीम पराजुली र केदार कार्की कांग्रेसबाट मुख्यमन्त्रीका मुख्य दाबेदार हुन् । एमालेबाट देवराज घिमिरे र हिक्मत कार्की मुख्य दाबेदार देखिन्छन् । माओवादीबाट भने इन्द्रबहादुर आङबोमात्रै मुख्य दाबेदार छन् ।

मधेस प्रदेश

मधेस प्रदेशमा जसपाका लालबाबु यादव फेरि पनि मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । सत्तापक्षसँग चुनावी गठबन्धन गर्ने तयारी भए पनि अन्ततः एमालेसँग जसपाले तालमेल गरेको थियो । यसैले बहालवाला मुख्यमन्त्री यादव नै यसपटक पनि यो पदका लागि मुख्य दाबेदार हुन् । उनीबाहेक जसपाबाट विजय यादव पनि मुख्यमन्त्रीका दाबेदार छन् । कांग्रेसबाट कृष्ण यादव र रामसरोज यादव मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । कृष्ण कांग्रेस मधेस कार्यसमितिका सभापति पनि हुन् । कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन देउवा पक्षका कृष्णले शेखर पक्षका रामसरोज यादवलाई पराजित गरेर सभापति जितेका थिए ।

वागमती

वागमतीको मुख्यमन्त्रीमा यसपटक मुख्य दुई दाबेदार देखिएका छन् । कांग्रेसका इन्द्र बानियाँ र माओवादीका शालिकराम जमकट्टेल मुख्य दाबेदार हुन् । पार्टीसँगको सहमतिमा मुख्यमन्त्री बन्ने शर्तमै यी दुवै दुवै जना यसपटक प्रतिनिनिधिसभामा नउठि प्रदेशसभामा उठेका हुन् । बानियाँ मकवानपुर र शालिकराम धादिङ १ बाट प्रतिनिधिसभामा मुख्य दाबेदार थिए । तर धादिङमा गठबन्धनको भागबण्डामा २ मा कांग्रेसका रामनाथ अधिकारी उठ्दा १ मा नेकपा एसका राजेन्द्र पाण्डे उम्मेदवार बनेका छन् । यसैले मुख्यमन्त्री बन्ने तयारीमा शालिकराम प्रदेशसभामै उठेका हुन् । एमालेबाट रामेश्वर फुयाँल मुख्यमन्त्रीका बलिया दाबेदार हुन् । अर्का नेता सानु श्रेष्ठको पनि मुख्यमन्त्रीमा दाबेदारी छ ।

गण्डकी

गण्डकीमा अघिल्लोपटक एमालेले केन्द्रीय नेता पृथ्वीसुब्बा गुरुङलाई प्रदेशसभामा उठाउँदै मुख्यमन्त्री बनाएको थियो । यसपटक उनको प्रदेशमा लड्ने इच्छा हुँदाहुँदै पार्टीले प्रतिनिधिसभाको टिकट लमजुङबाट थमाएको छ । यता यसपटक नेता खगराज अधिकारी भने प्रदेशसभामा उम्मेदवार बनेका छन् । एमालेबाट मुख्यमन्त्रीका लागि सबैभन्दा ठूला दाबेदार उनै हुन् ।

कांग्रेसबाट व्यापारिक पृष्ठभूमिका नेता बिन्दुकुमार थापा सबैभन्दा बलिया दाबेदार रहेका छन् । प्रदेश कांग्रेस सभापति शुक्रराज शर्मा पनि अर्का दाबेदार हुन् । उनी प्रत्यक्षमा नभई समानुपातिक उम्मेदवार हुन् । माओवादीबाट हरिबहादुर चुमान दाबेदार छन् ।

लुम्बिनी

लुम्बिनी प्रदेशमा यसपटक कांग्रेस र माओवादीले मुख्यमन्त्रीका लागि दाबेदारी बढाएका छन् । कांग्रेस प्रदेश सभापति अमरसिंह पुनः मुख्यमन्त्रीका लागि बलिया दाबेदार हुन् । त्यस्तै सभापति देउवा निकटका अब्दुल रज्जाक, विरेन्द्र कनौडिया र डिल्ली चौधरी पनि कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार छन् ।

माओवादीबाट जोखबहादुर महरा प्रमुख दाबेदार छन् । महरा रोल्पा खबाट उम्मेदवार बनेका छन् । वामदेव क्षेत्री र सुदर्शन बराल पनि मुख्यमन्त्रीका दाबेदार हुन् । एमालेबाट लिला गिरी, भोजप्रसाद श्रेष्ठ र दधिराम न्यौपाने मुख्यमन्त्रीका दाबेदार हुन् ।

कर्णाली

कर्णालीमा फेरि मुख्यमन्त्री बन्नैका लागि कांग्रेसका जीवनबहादुर शाही फेरि हुम्लाबाट प्रदेशसभामा उठेका छन् । उनी बहालवाला मुख्यमन्त्री हुन् । तर प्रतिनिधिसभामा टिकट पाउँने सम्भावना भए पनि उनी मुख्यमन्त्री बन्नका लागि फेरि प्रदेशसभामा दोहोरिएका हुन् । प्रदेशसभामा उनलाई एमालेका दल रावलले चुनौती दिएका छन ।  एमालेका दाबेदारमा यामलाल कँडेल छन् । माओवादीबाट राजकुमार शर्मा पनि मुख्यमन्त्रीका दाबेदार हुन् ।

सुदूरपश्चिम

सुदुरपश्चिममा २०७४ पछि निरन्तर त्रिलोचन भट्ट नै निरन्तर मुख्यमन्त्री भए । मधेस र सुदूरपश्चिमबाहेक अरु प्रदेशमा मुख्यमन्त्री फेरिएका थिए । तर यसपटक भट्टले टिकट पाएनन् । माओवादीबाट यो प्रदेशमा खगराज भट्ट मुख्यमन्त्रीका बलिया दाबेदार हुन् । एमालेबाट राजेन्द्र रावल र कांग्रेसबाट रणबहादुर रावल दाबेदार देखिन्छन् ।

केन्द्रीय राजनीतिमा चर्चा बटुलेका नेताको आकर्षण यसपटक प्रदेशसभामा देखिएको छैन । कांग्रेसबाट वीरबहादुर बलायर प्रदेशसमा जाने आशा गरिए पनि उनी कैलाली ४ बाट लेखराज भट्टविरुद्ध प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् ।