NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

कांग्रेसका लोकप्रिय ४ युवा नेतालाई सहजै चुनाव जित्न कठिन ! यस्तो छ उनीहरूको क्षेत्रको अंकगणित

काठमाडौं । कांग्रेसका प्रभावशाली ४ युवा नेताले ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा एकैपटक टिकट पाएका छन् ।

यस अघि गगन थापा र विश्वप्रकाश शर्माले मात्रै प्रतिनिधिसभामा एकैपटकट टिकट पाएका थिए । तर यपटक अर्का नेता प्रदीप पौडेलले पनि काठमाडौं ५ बाट टिकट पाएका हुन् ।

अर्का नेता गुरू घिमिरेले प्रदेशसभाकाे टिकट पाएका छन् ।  यसैले सत्ता गठबन्धनका कांग्रेस, माओवादी, नेकपा एस, राष्ट्रिय जनमोर्चा र लोसपा मिलेर लड्न लागेको चुनावमा यी तीन नेता एकैपटक प्रतिनिधिसभामा भिड्न लागेका हुन् ।

तीनमध्ये महामन्त्रीद्वय गगन थापा काठडमाडौं ४ र विश्वप्रकाश शर्मा झापा १ बाट उम्मेदवार बनेका हुन् । अर्का युवा नेता पौडेलले यसपटक काठमाडौं ५ मा टिकट पाएका छन् ।

यीसहित युवा नेता गुरु घिमिरेले पनि प्रतिनिधिसभाको टिकट चाहेकोमा मोरङ ४ (क)बाट टिकट पाएका छन् । यी चारैजना नेविसंघबाट उदाउँदै कांग्रेसको राजनीतिमा चर्चित बनेका हुन् ।

गगन थापा

नेविसंघका पूर्व महामन्त्री हुन् थापा । तर सभापति नबनी महामन्त्रीबाट कांग्रेस राजनीतिमा छिरेका उनी छोटो समयमा धेरै चर्चा बटुल्ने नेतामध्येमा पर्छन् । १३ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भए पनि १४ औं मा भने थापाले महामन्त्री जिते ।

उनी २०६४ सालमा समानुपातिक सांसद बनेयता प्रतिनिधिसभामा काठमाडौं ४ बाट २०७० र २०७४ सालको निर्वाचन जित्न सफल भए । यसपटक यही क्षेत्रबाट उठेका छन् । थापा स्वास्थ्यमन्त्री भइसकेका छन् ।

थापाले अघिल्लोपटक यो क्षेत्रबाट एमालेका राजन भट्टराईलाई ३४१८ मतले पराजित गरेका थिए । यसपटक फेरि पनि काठमाडौं ४ बाटै उम्मेदवार बनेका छन् । प्रतिस्पर्धी पुरानै भट्टराई छन् ।

स्थानीय तहमा यस्तो छ थापाको क्षेत्रमा वडाध्यक्षले पाएको मत

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं ४ का वडाध्यक्षले पाएको मतमा एमालेको १६५०७, कांग्रेसको १५७६३, नेकपा एसको २४१४, राप्रपाको २२९३, माओवादीको ८४४ र जसपाको ३१७ मत छ । गठबन्धनको मत १९०२१ छ । एमालेको १६५०७ छ । एमालेभन्दा गठबन्धन तीन हजार हाराहारी मतले अगाडि छ ।

तर राप्रपाले एमालेलाई यो क्षेत्रमा समर्थन गरेर गठबन्धन र एमालेको मत बराबरी जस्तै देखिन्छ । यसैले गगन थापालाई यसपटक एमालेका राजन भट्टराईविरुद्ध जित निकाल्न सहज छैन । अघिल्लोपटक पनि राजनलाई गगनले ३४१८ को झिनो अन्तरले पराजित गरेका थिए । एमालेको राम्रो प्रभावलाई तोड्न सकेमात्रै गगनले यसपटक चुनाव जित्नेछन् । कांग्रेसमा सबैभन्दा लाेकप्रिय नेता हुनुकाे फाइदा गगनलाई छ । यसकाे फाइदा उनले उठाउन सक्नेछन् । लगातार हारेकाेले राजनलाई यसपटक थप दबाब छ । यद्यपी संगठित भाेटमा एमाले पनि उत्तिकै बलियाे छ । यसैले यसपटककाे चुनाव राेचक हुने अनुमान गरिएकाे छ ।

थापा काठमाडौं ४ डा. स्वर्णिम वाग्लेलाई छोडेर सर्लाही ४ मा चुनाव लड्न जाने तयारीमा थिए । तर गगनले यो क्षेत्र छोडे पनि देउवाले वाग्लेलाई नभई नैनसिंह महरलाई उम्मेदवार बनाउन खोजेपछि थापाले पनि काठमाडौं ४ छोड्न अस्वीकार गरेका थिए । थापा सर्लाही ४ जाने भनेपछि देउवाले नैनसिंहलाई टिकट नै थमाइसकेका थिए । तर वाग्लेले टिकट नपाउने भएपछि थापाले पनि काठमाडौं ४ छोडेनन् । निर्वाचनका मुखैमा सभापतिसँग थापाले लिएको अडानबाट उनी असन्तुष्ट रहेको बताइन्छ ।

विश्वप्रकाश शर्मा

युवा नेता विश्वप्रकाश शर्मा पनि नेविसंघका पूर्व सभापति हुन् । उनी पनि उत्तिकै चर्चित युवा नेता हुन् । शर्मा १३ औं महाधिवेशनपछि पार्टी प्रवक्ता बने । १४ औं महाधिवेशनमा भने प्रकाशमान सिंहको टिमबाट महामन्त्रीको उम्मेदवार बन्दै जित्न सफल भए । ठूला गुटबाट नपरे पनि आफ्नो लोकप्रियताको आधारमा शर्मा महामन्त्रीमा चुनिन सफल भएका हुन् । यस क्रममा उनले डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल र प्रदीप पौडेललाई पछाडि छोडे ।

पार्टीको आन्तरिक राजनीतिमा सफलताको खुट्किलो चढ्दै आए पनि शर्मा अहिलेसम्म सांसद हुन सकेका छैनन् । यसअघि दुईपटक उम्मेदवार बनेका उनी दुवैमा झापाबाट पराजित हुन पुगे । अघिल्लोपटक झापा १ बाट शर्मा माओवादीका राम कार्कीसँग २८६३ मतले पराजित हुन पुगेका थिए । यसपटक झापा १ बाटै सर्वसम्मत रुपमा सिफारिसमा परेर उम्मेदवार बन्न सफल भएका हुन् ।

अघिल्लोपटक जितेका ठाउँमा सोही दलले उम्मेदवारी दिने सत्तारुढ दलको सैद्धान्तिक सहमति अन्तिम समयसमम्म पनि कायम भए विश्वप्रकाशलाई यसपटक टिकट पाउन अन्य क्षेत्र जानुपर्ने दबाब थियो । तर उनलाई हराएका राम कार्कीले यसपटक टिकट नपाएपछि शर्मालाई सहज भयो ।

स्थानीय तहमा वडाध्यक्षले पाएको मत

वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा वडाध्यक्षतर्फ एमालेले ३१२३२, कांग्रेसले २४०५९, राप्रपाले ५९२२, माओवादीले ३९०५, नेकपा एसले १२५२ प्राप्त गरेका थिए । एमालेभन्दा गठबन्धन वडाको मतको आधारमा ४ हजारले अगाडि देखिन्छ । यस्तोमा टिकट पाएका युवा नेता शर्मालाई जित्न गाह्रो देखिंदैन । तर धेरै दल मिल्दा पनि यो मत एमालेलाई सहजै हराउन पुग्ने मत होइन । राप्रपा एमालेसँग मिल्दा कठिन हुन सक्छ ।

एमालेले यसपटक झापा १ मा अग्नी खरेलललाई उम्मेदवार बनाएको छ । वडाध्यक्षले पाएको गठबन्धनको मत चार हजारमात्रै बढी भएकोले शर्मालाई पनि सहजै चुनाव जित्न गाह्रो छ ।

प्रदीप पौडेल

पौडेल पनि नेविसंघको अध्यक्ष भइसकेका छन् । उनी कांग्रेसको केन्द्रीय सदस्य पनि लगातार भइसकेका छन् । १४ औं महाधिवेशनमा महामन्त्रीमा उठेका पौडेल पराजित भएका थिए । सिटौला पक्षका उनलाई पार्टी संस्थापन देउवा पक्षले आफ्नो टिममा ल्याएर महामन्त्रीको उम्मेदवार बनाएको थियो । तर पराजित हुन पुगे ।

२०७४ सालमा पौडेल तनहुँ २ क मा लड्दा ५ मतले पराजित भएका थिए । यसपटक उनी तनहुँ २ बाट उम्मेदवारी दिने तयारीमा थिए । तर पार्टीले उनलाई काठमाडौं ५ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।

पौडेल यसपटक उठेको क्षेत्रमा २०७४ सालमा एमालेका ईश्वर पोखरेल विजयी भएका थिए । पोखरेलले कांग्रेसकै डा. प्रकाशशरण महतलाई ९८६० मतान्तरले पराजित गर्न सफल भएका थिए । यसपटक उनै पोखरेल र पौडेल चुनावी मैदानमा छन् । यस अघि विवेकशील साझामा रहेकी रञ्जु दर्शनाले पनि यसपटक स्वतन्त्रबाट काठमाडौं ५ मा उम्मेदवारी दिएकी छिन् । यसैले यो क्षेत्रमा यसपटक त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

वडाध्यक्षतर्फ कसको मत कति ? 

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं ५ का वडाध्यक्षभरमा एमालेले १९७०३, कांग्रेसले १४८५३, राप्रपाले २८२२, नेकपा एसले १८२७ र माओवादीले ११६८ मत प्राप्त गरेको थियो ।

जसमा गठबन्धन मत १८८४३ रहेको छ । तर एमाले एक्लैको मत १९७०३ छ । अर्थात् एमाले गठबन्धनका सबै दलभन्दा पनि ८६० मतान्तरले अगाडि देखिन्छ । यसैले काठमाडौं ५ बाट पहिलोपटक चुनाव लड्न लागेका पौडेललाई सहजै जित्न कठिन छ । कांग्रेसमा अहिलेसम्म कुनै लाभको पद नलिएका, लोकप्रिय, इमान्दार र युवा नेताको बलमा भने पौडेल यसपटक हावी हुन सक्छन् । संगठित बलियाे मतकाे फाइदा पाेखरेलले उठाउन सक्नेछन् ।

पटकपटक हारेपछि माओवादीका साथमा अघिल्लोपटक पोखरेलले कांग्रेसका महतलाई पराजित गरेका थिए । त्यस अघि २०७० मा यो क्षेत्रबाट कांग्रेसका नरहरि आचार्य विजयी भएका थिए ।

प्रदेशसभामा बलिया गुरु

घिमिरे पनि नेविसंघका पूर्व सभापति हुन् । कांग्रेस युवा नेतामा वैचारिक बहस गर्ने र इमान्दार नेताको रुपमा उनी परिचित छन् । कांग्रेसमा केन्द्रीय सदस्य भइसकेका उनी अहिलेसम्म सांसद हुन पाएका छैनन् । उनलाई पार्टीले अहिलेसम्म चुनावमा टिकट दिएको छैन । तर यसपटक मोरङ ४ बाट चुनाव लड्न उनले पार्टीमा निवेदन हालेका थिए ।

यो क्षेत्रमा २०७४ सालमा माओवादीका अमनलाल मोदीले कांग्रेसका महेश आचार्यलाई ६७२९ मतान्तरले पराजित गरेका थिए । यो क्षेत्रबाट यसपटक घिमिरेसहित अघिल्लोपटक पराजित भएका आचार्य र दिलीप खवास गच्छदारले पनि निवेदन हालेका थिए । सत्ता गठबन्धनबीच अघिल्लोपटक जितेका उम्मेदवार नै दोहोरिने सैद्धान्तिक सहमतिअनुसार माओवादीका मोदीले नै टिकट पाएका छन् । लाभको पद नलिएको, वैचारिक र इमान्दार नेता भएकोले गुरुलाई टिकट दिनुपर्ने दबाब यसपटक कांग्रेसलाई थियो । तर उनलाई प्रदेशसभाको टिकट दिइएको छ ।

यो प्रदेशसभामा २०७४ सालमा मोरङ ४ कमा माओवादीका विजयकुमार विश्वास विजयी भएका थिए । कांग्रेसका भक्तिनाथ माझी थारु तीन हजार मतान्तरले पराजित भएका थिए । यसपटक कांग्रेस र माओवादी मिलेकोले गुरुलाई चुनाव जित्न सहजै देखिन्छ ।
गुरु यसपटक प्रदेश १ को मुख्यमन्त्रीका बलिया दाबेदारसमेत हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष