NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सातौंपटक सांसद बन्ने दाउमा देउवा र गच्छादार : तोडिएला त विरासत ?

काठमाडौं । नेपालको संविधान २०७२ जारी भएपछि मंसिर ४ मा दोस्रोपटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । यी दुवै निर्वाचनमा प्रत्यक्षतर्फ ४९५ सदस्यका लागि ५ हजार ६३६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

समानुपातिकतर्फ ३३० सदस्यका लागि दलहरूले बन्दसूची आयोगमा बुझाइसकेका छन् । योपटक पनि चुनावी मैदाना उत्रिएका शीर्ष नेताहरूमा अधिकांश २०४८ सालमै उम्मेदवार बनिसकेका छन् । त्यसयता संसदीय र संविधानसभा गरी ६ पटक निर्वाचन भइसकेको छ । उम्मेदवारी दिने शीर्ष नेताहरूमध्ये अधिकांश पुराना अनुहार दोहोरिएका छन् । राज्यसत्तामा पनि २०४८ देखि अहिलेसम्म ती नै नेता हाबी भएका छन् ।
२०६२/६३ को १९ दिने जनआन्दोलनले २४० वर्षलामो एक वंशीय राजतन्त्रको अन्त्य भइ संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । त्यसयता पुस्तान्तरण र समावेशी प्रतिनिधित्वको बहस धेरै भए । राजनीति शुद्धिकरण र पुस्तान्तरणका लागि अपिल गर्दै योपटक पनि स्वतन्त्र उम्मेदवारी दिनेको होडबाजी नै चलेको छ ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार प्रतिनिधिसभातर्फ ८६७ र प्रदेशसभातर्फ १२७८ स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा दलबाट टिकट नपाएका, पाएर पनि खोसिएका र पार्टीबाट निष्कासनमा परेकासमेत छन् ।

सातौंपटक निर्वाचन जित्ने दाउमा देउवा

पुस्तान्तरणको जतिसुकै बहस तथा छलफल भएपनि एकै व्यक्ति र प्रवृत्ति बारम्बार दोहोरिँदा आसन्न निर्वाचन पनि कर्मकाण्डी मात्र हुनेमा कुनै शंका छैन । २०४६ को राजनीतिक परिवर्तनपछि २०४८ मा पहिलोपटक भएको संसदीय निर्वाचनमा उम्मेदवार रहेका प्रधामन्त्री शेरबहादुर देउवा सातौंपटक चुनावी प्रतिस्पर्धामा भिड्दैछन् । उमेरले ७७ वर्ष लागेका उनी पहिलोपटक निर्वाचनमा भाग लिँदा ४४ वर्षका थिए । संसदीय इतिहासमा गिरिजाप्रसाद काेइरालापछि सबैभन्दा बढी प्रधानमन्त्री हुने नेतामा देउवा पर्छन् ।

सुदूरपश्चिमको विकट जिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ मा २००३ साल जेठ ३१ गते देउवाको जन्म भएको थियो । संसदीय राजनीतिका चतुर खेलाडी रहेका उनी ४४ वर्षकै उमेरमा गृहमन्त्री बन्न सफल भएका थिए । २०५३ मा पहिलोपटक प्रधानमन्त्री हुँदा उनी ४९ वर्षका थिए । देउवाले ०५१, ०५६ को प्रतिनिधिसभा निर्वाचन डडेलधुरा १ बाट जितेका थिए । २०६४ र ०७० को संविधानभा निर्वाचन पनि उनी सोही क्षेत्रबाट निर्वाचित भए ।

२०७४ मा दुई ठूला वामपन्थी दल एमाले र माओवादीको गठबन्धन हुँदासमेत उनलाई पराजित गर्न सकेनन् । अघिल्लो निर्वाचनमा ६ हजार ९४८ मतान्तरसहित देउवाले वाम गठन्धनका उम्मेदवार खगराज भट्टलाई पराजित गरेका थिए । उनी २८ हजार ४४६ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी भट्टले २१ हजार ४९८ मत पाएका थिए । उनी ०५३, ०५८, ०६१, ०७४ र ०७८ गरी पाँचपटक प्रधानमन्त्री भइसकेका छन् । निर्वाचनपछि पनि उनी गठबन्धनको सहयोगमा छैटौंपटक प्रधानमन्त्री बन्ने दाउमा छन् ।

योपटक देउवाकै स्वकीय सचिव कर्ण मल्ल र स्वतन्त्र उम्मेदवर सागर ढकालले उनलाई चुनौती दिएका छन् । बीपी कांग्रेसबाट उम्मेदवार रहेका मल्लले स्थानीय तह निर्वाचनमा एमालेसँग तालमेल गरी देउवाका वडामा कांग्रेसलाई हराएका थिए । आसन्न निर्वाचनमा आफ्ना उम्मेदवारलाई फिर्ता बोलाएर मल्ललाई सहयोग गर्ने निर्णय गरेको एमालेले आफ्नो निर्णय फिर्ता लिएको छ । मल्ललाई गठबन्धकै दल एकीकृत समाजवादीले समर्थन गर्ने निर्णय गरेको छ ।

त्यस्तै २०७४ मा बिबिसीको साझा सवाल कार्यक्रममा नेपालले अक्सफोर्ड विश्वविद्यालयमा पढेका प्रधानमन्त्री कहिले पाउँछ भनेर देउवालाई प्रश्न गरी चर्चामा आएका ईन्जिनियर सागर ढकाल उनलाई चुनौती दिन डडेलधुरा पुगेका छन् । सोही विश्वविद्यालयमा अध्ययन गरेका ३१ वर्षीय ढकाल योपटक देउवालाई राजनीतिक विश्राम गराउने दाबी गर्छन् । स्थायी घर गुल्मी रहेको उनले देउवालाई हराउन भने त्यति सजिलो देखिएको छैन । उनलाई अहिलेसम्म कुनै सत्ता बाहिरका कुनै राजनीतिक दलले पनि समर्थन गरेको छैन । कांग्रेसको सांगठनिक भोट निकै बलियो रहेको डडेलधुरामा योपटक देउवालाई माओवादीलेसमेत साथ दिएको छ ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतपरिणाम हेर्दा डडेलधुरा कांग्रेसको २१ हजार ७३५, माओवादीको १२ हजा ८७८, एमालेको १० हजार ४४९, नेकपा एसको ५ हजार ४१ र राप्रपाको ७१४ रहेको छ । कांग्रेस र माओवादीको मात्रै जम्मा मत ३४ हजार ६१३ रहेको छ ।

१२ पटकमन्त्री र चारपटक उपप्रधानमन्त्री बनेका गच्छदार साताैंपटक भिड्दै

संसदीय राजनीतिका अर्का चतुर खेलाडी विजयकुमार गच्छदार २०४८ देखि लगातार निर्वाचित सांसद हुन् । २०४८ मा गिरिजा नेतृत्वको सरकारमा सञ्चारराज्यमन्त्री भएका उनी त्यसयता १२ पटक मन्त्री र चारपटक उपप्रधानमन्त्री भइसेका छन् । २०१० साल माघ १९ गते सुनसरी–८ पचरामा जन्मेका उनी पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा ३७ वर्षका थिए । उनले २०४८, ०५१, ०५६ को संसदीय निर्वाचन सुनसरी ३ बाट जितेका थिए ।

२०६४ को निर्वाचनम तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसादले उनी निकट केही व्यक्तिलाई टिकट नदिएपछि मधेशी जनअधिकार फोरम प्रवेश गरेका थिए । त्यस्तै २०६४ र २०७० को संविधानसभा निर्वाचन सोही क्षेत्रबाट निर्वाचित भए । त्यसपछि फोरम लोकतान्त्रिक हुँदै उनी २०७४ मा पुरानै घर कांग्रेस फर्किए । अघिल्लो निर्वाचनमा गच्छदारले एमालेका उम्मेदवार भगवती चौधरीलाई ३२१ मतले पराजित गरेका थिए । ३८ हजार ९७२ मतसहित उनी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ३८ हजार ६५१ मत पाएकी थिइन् ।

योपटक पनि उनी सोही क्षेत्रबाट चौधरीसँगै प्रतिस्पर्धा गर्दैछन् । चौधरीलाई जसपाले साथ दिएको छ । गच्छदारलाई गठबन्धनको साथ रहेको छ । यद्यपि उनको उम्मेदवारी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । सर्वोच्चबाट सफाइ पाए सातौंपटक निर्वाचन जित्ने दाउनमा गच्छदार छन् ।

ललिता निवास प्रकरणमा अर्बौ भ्रष्टाचार गरेको आरोपमा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष आदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर भएपछि अघिल्लोपटक निलम्बित अवस्थामै उनको सांसद पद गुमेको थियो । मुद्दा विचाराधीन रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाइएको भन्दै उनको उम्मेदवारी खारेजीको माग दाबीसहित सर्वोच्चमा मुद्दा दायर भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष