NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बिवाइडी एटो-३ नेपाली बजारमा,यस्ता छन् मूल्य र विशेषता

काठमाडाैं । बिवाइडीको विद्युतीय गाडी एटो-३ लञ्च भएको छ । कम्पनीले सोमबार (आज) एक कार्यक्रम गरी एटो-३ लञ्च गरेको छ । एटो-३ लञ्चसँगै कम्पनीले बिवाइडीको शोरूमको पनि उद्घाटन गरेको छ ।

ई-प्लेटफर्म ३.० र ब्लेड ब्याट्री प्रविधिमा आधारित एटो-३ ले एक पटकको पूरा चार्जमा ४२० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ । यो गाडीलाई ८० किलोवाटको चार्जरको मद्दतमा जम्मा ५० मिनेटमा शून्यदेखि ८० प्रतिशतसम्‍म चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

एटो-३ को लम्बाई ४ हजार ४५५ एमएम, चौढाई १,८७५ एमएम र उचाई १,६१५ एमएम छ । गाडीमा २,७२० ह्विलबेस दिइएको छ भने १७५ एमएम ग्राउन्ड क्लेरेन्स दिइएको छ। यसले गर्दा यो गाडी नेपाली बजारको लागि उपयुक्त मान्न सकिन्छ ।

एटो-३ मा जडित विद्युतीय मोटरले अधिकतम १५० किलोवाट पावर र ३१० एनएम टर्क जेनेरेट गर्छ । गाडी जम्‍मा ७.३ सेकेन्डमा शून्यदखि एक सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा चल्छ । यसमा ६०.४८ किलोवाट क्षमताको ब्याट्री जडित छ।

एटो-३ मा थोरैमा ४४० र धेरैमा १,३४० लिटरको बुट क्षमता दिइएको छ । यसमा १७ इन्चको टायर दिइएको छ।

गाडीमा ५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल दिइएको छ भने फ्लोटिङ डिस्प्ले पाउन सकिन्छ। कम्पनीले यो गाडीको सुरक्षामा पनि विशेष ध्यान दिएको छ। एटो-३ ले युरो एनक्याप परिक्षणमा पाँच स्टार रेटिङ पाएको छ।

एट-३ मा सुरक्षाको लागि ७ वटा एयरब्याग पाउन सकिन्छ । यसलाई तीन ड्राइभिङ मोडमा चलाउन सकिन्छ। त्यस्तै, गाडीमा विद्युतीय पार्किङ ब्रेक प्रविधि, एन्टी-लक ब्रेकिङ प्रविधि, ट्र्याक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, ब्लाइन्ड स्पोट डिटेक्सन, डोर ओपन वार्निङ, ३६० डिग्री भ्यू मिरर लगायत विशेषताहरू पाउन सकिन्छ ।

गाडीमा पुरै एलइडी हेडलाइट, एलइडी रिअर लाइट, एलइडी डे टाइम रनिङ लाइट पाउन सकिन्छ।

नेपाली बजारमा एटो-३ निलो, हरियो, रातो, ग्रे र सेतो गरी पाँच विभिन्न रंग विकल्पमा उपलब्ध छन्। कम्पनीले यो गाडीको सुरुआती बजार मूल्य ८९ लाख ९० हजार रूपैयाँ तोकेको छ ।

चिनियाँ कम्पनी बिवाइडी १९९५ मा स्थापित कम्पनी हो । नेपालमा बिवाइडी गाडीको लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालि हो ।

कम्पनीका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले पनि नयाँ मोडलको विद्युतीय गाडी सार्वजनिक गर्न पाउँदा खुशी व्यक्त गरिन् । ‘आज एटो-३ सार्वजनिक गर्न पाउँदा निकै हर्षित छौं। नेपाली बजारमा यसको उपस्थितिले सकारात्मक भूमिका निर्वाह गर्नेमा हामी सकारात्मक छौं,’ उनले कार्यक्रममा भनिन्।

उनले विद्युतीय सवारी साधन अहिले नेपाली बजारको आवश्यकता समेत बताइन्। साथै नेपाललाई विद्युतीय गाडीयुक्त बनाउनु पर्ने विषयमा जोड दिइन् । हाल बिवाइडीले नेपालको १० भन्दा बढी ठाउँमा चार्जिङ स्टेसन जडान गरिसकेको छ ।

कार्यक्रममा बिवाइडीका एम्बास्टर हास्यं कलाकार हरिवंश आचार्यले नेपालमा विद्युतीय सवारी साधनको ठूलो आवश्यकता औँल्याए ।

उनले गाडी किनेर चढ्न सक्नेलाई गाडी र नसक्नेलाई सुविधासम्पन्न विद्युती बस नेपालमा आइसकेको भएपनि नेपालले चलाउन नसकेको उल्लेख गर्दै त्यसतर्फ ध्यान जान आग्रह गरे ।