NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

तनहुँमा आठ सयलाई ज्येष्ठ नागरिक परिचय पत्र वितरण

तनहुँ । म्याग्दे गाउँपालिकाले आठ सय बढीलाई ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरेको छ । गाउँपालिका कार्यालयले असोज १ गतेदेखि थालेको एकीकृत घुम्ती शिविरमार्फत आठ सय २५ जनालाई उक्त परिचय पत्र वितरण गरेको हो ।

त्यसैगरी शिविरबाट दश जना अपाङ्गता भएकालाई अपाङ्गता परिपचपत्र वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । वडासम्म गएर सेवा लिन असर्मथ भएको अवस्थामा अपाङ्गतालाई घरमा नै गएर परिचयपत्र प्रदान गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

म्याग्दे–७ समिभञ्ज्याङ्गका रामबहादुर थापाले टोल र घरसम्म आएर ज्येष्ठ नागरिक परिचयपत्र पाउँदा असाध्यै खुुसी लागेको बताए । वडा कार्यालय टाढा पर्ने र वृद्धावस्थामा हिँडेर जान नसक्ने भएको हुँदा यो शिविरले धेरै ठूलो राहत दिएको उनले उल्लेख गरे । शिविरमा महिला स्वास्थ्य सेवाअन्तर्गत महिलाको पाठेघर परीक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन प्रेशण एवं परामर्श सेवा प्रदान गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

परिवार नियोजन परामर्श सेवा, कोभिड–१९ विरुद्धको पहिलो, दोस्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुर्वेद सेवा, स्वास्थ्य बीमा सेवा घुम्ती शिविरवाट उपलब्ध गराइएको छ । त्यसैगरी घुम्ती शिविरमा बहिरङ सेवाअन्तर्गत बिरामीको स्वास्थ्य परीक्षण, उपचार तथा औषधि वितरण गरिएको छ ।

प्रयोगशाला सेवाअन्तर्गत रगतमा ग्लुकोजको परीक्षण, खकार परीक्षणका लागि नमूना सङ्कलन, औलो रोगको परीक्षण हुनेछ । जन्म, मृत्यृ, बसाइँसराइ, एवं सम्बन्धविच्छेद लगायतका दर्ता गरिएको छ । प्रशासन शाखाअन्तर्गत व्यवसाय दर्ता, राजस्व सङ्कलन, मालपोत तथा भूमिकर सङ्कलन तथा विभिन्न सिफारिस गरिएको छ ।

किसानलाई बीउबिजन वितरण एवं कृषि अनुदान माग सङ्कलन, पशु सेवा शाखाअन्तर्गत गोबर परीक्षण र नतिजाका आधारमा पशुपक्षीलाई औषधि वितरण, बाख्रा, पाठा एवं बहर बन्ध्याकरण एवं बिरामी पशुको उपचार व्यवस्थापन, योजना शाखाअन्तर्गत उपभोक्तासँग योजना सम्झौता गरिएको छ ।

असोज ३० गते देखि कात्तिक ४ गतेसम्म हुने दोस्रो चरणको एकीकृत घुम्ती शिविरमा गाउँपालिकाका वडा नं ५, ६ र ७ मा सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।