NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

नेकपा एसका उम्मेदवार : को कति सुरक्षित ?

काठमाडौं ।  सत्ता गठबन्धनमा प्रतिनिधिसभाको १९ सिट पाएको एकीकृत समाजवादीले ७ क्षेत्रमा कांग्रेसका बागी उम्मेदवार सामना गरिरहेको छ । स्थानीय निर्वाचनमा जनमत कमजोर रहेकाले एकीकृत समाजवादीका झन्डै आधा उम्मेदवार बागीका कारण ‘रेड जोन’ मा छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता झलनाथ खनाल उम्मेदवार रहेको इलाम–१ मा कांग्रेसका पुराना नेता विक्रम पाण्डे बागी उठेका छन् । स्थानीय तह निर्वाचनमा वडाध्यक्ष उम्मेदवारले पाएको मतअनुसार एकीकृत समाजवादी तेस्रो स्थानमा छ । पहिलो शक्तिको रूपमा रहेको एमालेको मत २६ हजार २ सय ३३ छ भने कांग्रेसको २५ हजार ७ सय ७२, एकीकृत समाजवादीको ९ हजार ४ सय ८१, जसपाको १ हजार ८ सय २९, माओवादीको १ हजार २ सय ३५ र राप्रपाको १ हजार १ सय ६९ मत छ ।

प्रतिनिधिसभामा एमालेले जिल्ला अध्यक्ष महेश बस्नतेलाई उठाएको छ । सत्ता गठबन्धनको मत करिब १० हजारले बढी भए पनि स्थानीय निर्वाचनपछि इलाममा कांग्रेस र एकीकृत समाजवादीबीच सम्बन्ध राम्रो छैन । इलामका राजनीतिक विश्लेषक धर्म गौतम कांग्रेसले आफ्ना मतदातालाई कसरी ‘ट्रिट’ गर्छ, त्यसमै चुनावी परिणाम निर्भर हुने बताउँछन् । ‘जेनएन (खनाल) ले स्थानीय चुनावपछि कांग्रेसलाई धेरै गाली गर्नुभयो, त्यसैले कांग्रेस कार्यकर्तालाई गाली खाईखाई किन भोट हाल्ने भन्ने पनि होला,’ उनले भने, ‘तर जेएनलाई जिताएमा अर्को पटक जित्न सकिन्छ, बस्नेत (महेश) लाई जिताएमा वर्षौंसम्म एमालेले प्रभाव जमाउँछ भन्ने हिसाबले कार्यकर्तालाई मनोवैज्ञानिक रूपमा कन्भिन्स गरेमा केही सहज हुन सक्छ ।’

समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा उम्मेदवार रहेको उदयपुर–२ मा पनि एमाले पहिलो शक्ति छ । स्थानीय निर्वाचनमा वडाध्यक्ष उम्मेदवारले पाएको मत एमालेको १८ हजार ५ सय ७३, कांग्रेसको ११ हजार ३ सय ४४, माओवादीको ८ हजार २ सय २, एकीकृत समाजवादीको ३ हजार ४ सय २७ र जसपाको १ हजार ४ सय ३४ छ । त्यहाँ कांग्रेसका पूर्वक्षेत्रीय सभापति रामकुमार राई बागी उम्मेदवार छन् । उदयपुरमा पनि कांग्रेसले स्थानीय तह निर्वाचनमा खतिवडाले गठबन्धनलाई धोका दिएको आरोप लगाउँदै आएको छ । एमालेबाट अम्मरबहादुर रायमाझी उम्मेदवार छन् ।

गठबन्धन दलका स्थानीय नेताहरू कांग्रेसका बागी उम्मेदवार राई र ०७४ मा सोही क्षेत्रमा माओवादीबाट निर्वाचित सांसद सुरेशकुमार राईबीच साँठगाँठ भएको शंका गर्छन् । ०७४ को निर्वाचनमा प्रदेशसभा २ (२) मा टिकटका दाबेदार रहेका राई टिकट नपाएपछि कांग्रेस परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए । ‘पार्टी प्रवेशको एकमात्र उद्देश्य सुरेशलाई चुनावमा सहयोग गर्नु थियो, उहाँकै सहयोगमा चुनाव पनि जित्नुभयो,’ कांग्रेसका एक स्थानीय नेताले भने, ‘अहिले बागी उठेका रामकुमारलाई उतिबेलाको गुन तिर्ने हल्ला भित्रभित्र सुनिन्छ ।’

माओवादी प्रवेश गरेका राई कांग्रेसको १३ औं महाधिवेशनका क्रममा पुनः फर्किएर क्षेत्रीय सभापति निर्वाचित भएका थिए । निवर्तमान सांसद सुरेश संघ र प्रदेश कुनै पनि ठाउँमा टिकट नपाएपछि असन्तुष्ट छन् । कांग्रेसको बागी र माओवादीभित्रको असन्तुष्टिले एकीकृत समाजवादीका खतिवडालाई जोखिम बढाएको ती नेताले बताए ।

स्थानीय तह निर्वाचनको अंकगणितीय लेखाजोखा गर्ने हो भने गुल्मी–२ मा पूर्वमन्त्री एवं पार्टी सचिव रामकुमारी झाँक्री ‘रेड जोन’मा देखिन्छन् । यो क्षेत्रमा स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारको मत ६ सय ५८ मात्र छ । पहिलो शक्ति एमालेको मत ३१ हजार २ सय ५३ छ । कांग्रेसको २९ हजार ८ सय २१, माओवादीको १ हजार ८ सय ४१ र राप्रपाको मत १ सय १ छ । झाँक्रीका लागि कांग्रेसका पूर्वक्षेत्रीय सभापति दामोदर भुसाल चुनौती बनेका छन् । लुम्बिनी प्रदेश योजना आयोगको सदस्यबाट राजीनामा दिएर उम्मेदवार बनेका भुसाललाई उनका बुवा सुरेशचन्द्र भुसालको साथ छ । सुरेश गुल्मीमा दुई कार्यकाल कांग्रेस जिल्ला सभापति र ०६४ मा संविधानसभा सदस्य उम्मेदवार हुन् । उक्त क्षेत्रमा एमालेबाट पूर्वमन्त्री एवं पार्टी सचिव गोकर्ण बिष्ट उम्मेदवार छन् । कांग्रेसमा राम्रो जनमत भएको व्यक्ति बागी उठ्नु र प्रमुख प्रतिस्पर्धी एमालेबाट समेत बलियो उम्मेदवार रहेकाले झाँक्रीका लागि आगामी चुनाव निकै चुनौतीपूर्ण हुने स्थानीयको आकलन छ ।

कास्की–२ मा पनि श्रीनाथ बरालविरुद्ध कांग्रेसका प्रभावशाली प्रोफाइल भएका महादेव गुरुङ बागी उठेका छन् । ०४९ मा तत्कालीन जिल्ला विकास समितिका सभापति भएका गुरुङ ०५६ मा प्रतिनिधिसभा सदस्य हुँदै पर्यटन राज्यमन्त्री भएका थिए । उनी नेपाल तरुण दलका पूर्वअध्यक्षसमेत हुन् । उक्त क्षेत्रमा एमालेबाट विद्या भट्टराई उम्मेदवार छिन् । कास्की–२ मा एकीकृत समाजवादी चौथो स्थानमा छ । स्थानीय तह निर्वाचनमा एमालेको २१ हजार १ सय ६४, कांग्रेसको १९ हजार ८, राप्रपाको २ हजार ७९, एकीकृत समाजवादीको २ हजार ५३, माओवादीको १ हजार १ सय ९८ र जसपाको १ सय ५३ मत छ ।

एकमात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा पार्टी उपमहासचिव प्रकाश ज्वालाविरुद्ध कांग्रेसका राजेन्द्रबहादुर शाह बागी उम्मेदवार छन् । ०४८ र ०५१ मा सांसद निर्वाचित भएका उनी एक पटक शिक्षा राज्यमन्त्री भएका थिए । एमालेले राजेन्द्रवीर रायलाई उठाएको छ । सल्यानमा तुलनात्मक रूपमा एकीकृत समाजवादीको मत राम्रो छ । स्थानीय तह निर्वाचनमा तेस्रो ठूलो दल रहेको उक्त पार्टीका वडाध्यक्ष उम्मेदवारले ९ हजार ४ सय ६७ मत पाएका थिए । कांग्रेसको ३३ हजार ६ सय १६, माओवादीको २६ हजार ७ सय १३, एमालेको २६ हजार ६ सय २८ र राप्रपाको २ हजार १ सय १७ मते छ । गठबन्धनका तीन दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीको मत एमालेको भन्दा करिब ६० प्रतिशत बढी छ ।

सिट बाँडफाँटका क्रममा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चर्को प्रतिस्पर्धा भएको डोटीमा अन्ततः एकीकृत समाजवादीको तर्फबाट पूर्वमन्त्री प्रेमबहादुर आले उम्मेदवार बनेका छन् । आलेका लागि कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर कैलाली–४ मा झरे भने माओवादी पोलिटब्युरो सदस्यसमेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्ट टिकटबाट वञ्चित भए । तर कांग्रेस नेता नरेन्द्रबहादुर खड्काको बागी उम्मेदवारी आलेका लागि चुनौती बनेको छ । उद्योग वाणिज्य संघ डोटीका पूर्वअध्यक्ष खड्का ‘डोटीमा प्रदेश राजधानी स्थापना’ अभियानका अगुवा हुन् । स्थानीय तह निर्वाचनको परिणामअनुसार डोटीमा चौथो शक्ति रहेको एकीकृत समाजवादीको मत ३ हजार २ सय ५ मात्र छ । कांग्रेसको ३४ हजार ४७, एमालेको २४ हजार ९ सय १६, माओवादीको ७ हजार ७ सय ८९ र राप्रपाको ९ सय ८७ मत छ । उक्त क्षेत्रमा एमालेका गौरी मल्ल उम्मेदवार छिन् ।

एकीकृत समाजवादीबाट उम्मेदवार शेरबहादुर कुँवरले अछाम–१ मा गठबन्धनबाट कांग्रेसका राजन कुँवरको सामना गरिरहेका छन् । कांग्रेस महासमिति सदस्य रहेका राजन सामाजिक क्षेत्रमा पनि सक्रिय युवा हुन् । त्यहाँ एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई पाखा लगाउँदै माओवादी केन्द्रबाट पार्टी प्रवेश गरेका झपट बोहोरालाई उम्मेदवार बनाएको छ । स्थानीय तह निर्वाचन परिणामअनुसार अछाम–१ मा कांग्रेस १६ हजार ७ सय २८ मतका साथ पहिलो पार्टी छ । एमालेको १६ हजार ५ सय ६७, माओवादीको ६ हजार ७ सय ९० र एकीकृत माओवादीको २ हजार ७ सय ५२ मत छ । यद्यपि उक्त क्षेत्रमा एमाले नेता रावलको भूमिकाले केही हदसम्म परिणाम प्रभावित गर्ने एमालेकै स्थानीय नेताहरू बताउँछन् । ‘कांग्रेसबाट बागी नै रहे पनि भीम रावल मौनमात्र बस्नुभयो भने एमाले उम्मेदवारका लागि कठिन हुन सक्छ,’ ती नेताले भने ।

प्रतिस्पर्धा गर्ने भनिएको धनुषा–२ मा पनि एकीकृत समाजवादीका लागि जित निकाल्न निकै मुस्किल देखिन्छ । उक्त क्षेत्रमा कांग्रेसले रामकृष्ण यादवलाई र एकीकृत समाजवादीले रामचन्द्र झालाई उम्मेदवार बनाएको छ । स्थानीय तह निर्वाचन परिणामअनुसार धनुषा–२ मा कांग्रेस पहिलो र एकीकृत समाजवादी पाँचौं दल हो । त्यहाँ कांग्रेसले २१ हजार २ सय ३२, जसपाले १३ हजार ८ सय ८९, एमालेले ११ हजार ५ सय ८३, माओवादीले १० हजार ७ सय ९४, एकीकृत समाजवादीले ८ हजार ९ सय ९७, लोसपाले ६ हजार ७ सय १३, जनमत पार्टीले ४ हजार २ सय ८३ र राप्रपाले २ सय १३ मत पाएका थिए ।

धनुषा–२ मा त्यहाँ एमालेबाट पूर्वमन्त्री उमाशंकर अरगरिया उम्मेदवार रहेका छन् । उनलाई जसपाको समर्थन रहेको छ । सत्ता गठबन्धनमा रहेका माओवादी र लोसपा कसलाई समर्थन गर्ने भन्नेमा खुलेका छैनन् । गठबन्धनका यी दुई दलको निर्णयले धनुषा–२ मा चुनावी परिणामको फैसला गर्नेछ । जनमत पार्टीले उम्मेदवार नउठाएकाले कांग्रेस, एमाले र एकीकृत समाजवादीका उम्मेदवारले जनमत पार्टीलाई आफूतिर तान्ने प्रयास गरिरहेका छन् ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले उम्मेदवारी फिर्ता लिने समय सकिए पनि कांग्रेसले बागी उम्मेदवारलाई राजनीतिक रूपमा फिर्ता गर्ने अपेक्षा व्यक्त गरे । गठबन्धनविरुद्ध बागी उठेकालाई बसाल्ने वा राजनीतिक रूपमा उम्मेदवारी फिर्ता गराउने जिम्मेवारी सोही दलको हुने भएकाले कांग्रेस नेतृत्व यसमा गम्भीर हुनुपर्ने उनले बताए । ‘उम्मेदवारी फिर्ता नभए पार्टीले निष्कासन गर्ने कुरा सुनिएको छ, त्यसपछि पार्टीको भोट गठबन्धनमै जाने अवस्था आउला,’ उनले भने ।

कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक रहेका गोपालमान श्रेष्ठले बागी उम्मेदवारका कारण समग्र गठबन्धनलाई असर पर्ने हुँदा उनीहरूको उम्मेदवारी निस्तेज पार्ने प्रयास भइरहेको बताए । ‘कांग्रेसका बागीको कारण सहयात्री दललाई मात्र होइन, स्वयं कांग्रेसलाई पनि हानि हुन्छ भन्ने कुरा हामीले मनन गरेका छौं,’ उनले भने, ‘त्यसैले निर्वाचन परिचालन समिति संयोजकको हैसियतले मैले र पार्टी नेतृत्वले पनि पहल गरिरहेका छौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।