NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

सधैं जवान कसरी रहने ?

बितेको कुरामा अल्झनुभन्दा नबितेको जीवन कसरी बाँच्ने भन्ने कुराले बढी महत्त्व राख्छ । जीवनलाई बुझ्न आफ्नै शरीर अध्ययन गर्नुपर्छ । मानिसको शरीर अनगिन्ती कोषबाट बनेको हुन्छ । निश्चित प्रक्रियाबाट यिनीहरू शरीरमा टुट्ने, नयाँ बन्ने र मर्ने गर्छन् । एक दिन जन्मने, एक दिन मर्ने भने पनि हामीभित्र मर्ने र जन्मिने प्रक्रिया निरन्तर चलिरहेको हुन्छ । जब बन्नेभन्दा मर्ने क्रम बढ्न थाल्छ, तब बुढयौली (एजिङ) देखापर्छ । कोषको विभाजन वा मृत्यु कसरी हुन्छ, त्यसमा हाम्रो स्वास्थ्य जीवन टिकेको हुन्छ । त्यसैले आन्तरिक जीवनलाई व्यवस्थित बनाउनु सधैं तन्नेरी रहने राम्रो तरिका हो । त्यसका लागि उमेर अनुसारको पोषण र जीवनशैली आवश्यक हुन्छ ।

कोही पनि एक्कासि बुढो वा रोगी हुँदैन । त्यसमा लामो प्रक्रिया जोडिएको हुन्छ र समयमा बुढो वा रोगी हुने कारक तत्त्वलाई इन्टरभेन्सन गर्न सकियो भने बुढेसकालसम्म सापेक्षित रूपमा जवान भएर बाँच्न सकिन्छ । विशेषगरी हानिकारक फ्रि-याडिकल अधिक उत्पादनमा नियन्त्रण गर्न सके एजिङ प्रक्रियालाई कम गर्न सकिन्छ (Prasai, 2016) । यसका लागि शरीरभित्र एन्टी–अक्सिडेन्टको अवस्था बलियो रहनुपर्छ । हरेक कुराको आफ्नो महत्त्व हुन्छ र त्यसको अस्तित्त्व निश्चित समयसम्म हुने भएकाले प्राथमिकताका साथ उपयोग गर्न सक्नुपर्छ ।

आवश्यकताले प्राथमिकता पायो भने जीवनमा जोखिम धेरै घट्छ, जीवन सहज बन्छ । जस्तो कि बुढेसकालमा मासुले भन्दा सागपातले प्राथमिकता पाउनुपर्छ । हातमा रक्सीको बोतल नभएर दूध दहीको हुनुपर्छ । जीवनशैली पनि स्वास्थ्यमैत्री हुनुपर्छ । अबेरसम्म फेसबुक वा टिभी होइन, दैनिक आठ घण्टा निन्द्राले प्राथमिकता पाउनुपर्छ । किनकि, ननिदाई न मनमा शान्ति हुन्छ न, पेटमा पाचन । निदाउने बेला थाहा नपाउनु अर्थात् अचेतन हुन सक्नु सबैभन्दा ठूलो प्राथमिकता हो ।

कोही पनि एक्कासि बुढो वा रोगी हुँदैन । त्यसमा लामो प्रक्रिया जोडिएको हुन्छ र समयमा बुढो वा रोगी हुने कारक तत्त्वलाई इन्टरभेन्सन गर्न सकियो भने बुढेसकालसम्म सापेक्षित रूपमा जवान भएर बाँच्न सकिन्छ

भनाइ छ, बुढो उमेरमा युवा भएर मर्न (टू डाई यङ एट भेरी ओल्ड एज) अर्थात् जवान हुँदाहुँदै मर्न पाइयोस्, सोभन्दा मीठो सपना के हुन सक्छ ? यो सपनालाई सार्थक बनाउन प्रयत्न गर्नुपर्छ । कतिपय मानिस युवा अवस्थामा ज्यादै स्वस्थ र सुन्दर हुन्छन् तर अधबैँसे उमेरमै बुढो देखिन थाल्छन् । बुढेसकालको स्वास्थ्य अधबैँसे उमेरको स्वास्थ्यमा धेरै भर पर्छ (Prasai, 2016) । अधबैँसे उमेरमा शरीर हर्मोन परिवर्तन र तनाव (स्ट्रेस) बाट बढी प्रभावित हुन्छ । जसको असर शारीरिक र मानसिक स्वास्थ्यमा पर्छ । यी समस्या देखिनुका पछाडि धेरै कारण हुन सक्छन्– जिन, खानपिन, वातावरण र जीवनशैलीको सामूहिक अन्तक्र्रिया । यी सबै कुरामा स्वास्थ्य चेतना जोडिएको छ । त्यसैले बुढेसकालमा रोगी हुने प्रक्रियालाई युवा अवस्थादेखि रोकौं । भोलि आजको परिणाम हो, त्यसैले आफूलाई कुन अवस्थामा देख्न चाहने हो, त्यसका लागि आजैबाट प्रयत्न गर्नुपर्छ । बुढेसकालमा बिरामी पर्नु स्वाभाविक हो तर छिटै तङग्रिन सक्नु (हेल्थ रिजिलेन्स) स्वस्थ रहने सबैभन्दा ठूलो कुरा हो ।

मानिसको आयु निर्धारण गर्ने कारक तत्त्वहरूमा जिन वातावरण, जीवनशैली र चिकित्सा सुविधा प्रमुख हुन् । वयस्क मानिसको आयुको भिन्नता करिब २० देखि ३० प्रतिशत जिनमा निर्धर हुन्छ (Willcox et.al, 2006) । यसको अर्थ करिब ७५ प्रतिशत जिन इत्तर वातावरण, जीवनशैली अनि चिकित्सा सुविधा आदिमा आयु निर्भर हुन्छ । त्यसमा पनि जिनको जिउने आयुमा प्रभाव ६० वर्ष उमेर पार गरिसकेपछि बढ्छ । यसको अर्थ पाको उमेर पुगेपछि जिनको प्रभाव आयुमा बढी पर्ने रहेछ (Hjelmborg, et.al., 2006) । यसरी हेर्दा जीवनमा जोखिम घटाउने हो भने अल्पायु हुने कम सम्भावना हुँदोरहेछ ।

साधारतया बुढो हुदै जाँदा वजन बढ्छ तर उचाइ घट्छ । शरीरको उचाइ ३० वर्षपछि विस्तारै घट्छ । ४० वर्षपछि प्रत्येक १० वर्षमा करिव एक सेन्टिमिटर उचाइ घट्छ, ३० देखि ७० वर्षको बीचमा पुरुषको ३ सेन्टिमिटर र महिलाको ५ सेन्टिमिटर शरीरको उचाइ घट्छ (Sorkin, Muller, Andres, 1999) । पुरुषभन्दा महिलाको उचाइ बढी घट्ने गर्छ । जबकि, मोटोपन पुरुषमा भन्दा महिलामा ज्यादा हुन्छ । हुन त, कुनै पनि व्यक्तिको मोटो वा छरितोपन उसको जिन, खानेभोजन र अपनाएको जीवनशैलीको सामूहिक अन्र्तक्रियाबाट निर्धारित हुन्छ । तर पनि साधरणतया एकैचोटि अधिक क्यालोरियुक्त खानेकुरा खाने र लामो समय बसिराख्ने बानी हुनेको शरीर छरितो अनि स्वस्थकर हुँदैन । छरितो शरीर चाहनेले सानै उमेरदेखि ठिक्क खाने व्यायाम गर्ने वा शारीरीक कार्यमा व्यस्त हुने बानी बसाल्नुु पर्छ ।

भनाइ छ, बुढो उमेरमा युवा भएर मर्न (टू डाई यङ एट भेरी ओल्ड एज) अर्थात् जवान हुँदाहुँदै मर्न पाइयोस्, सोभन्दा मीठो सपना के हुन सक्छ ? यो सपनालाई सार्थक बनाउन प्रयत्न गर्नुपर्छ ।

वयस्क मानिसको शरीरको ३५ देखि ४० प्रतिशत भाग मांसपेशीले बनेको हुन्छ । ४० वर्ष पुगेपछि ०.५ देखि १ प्रतिशत अस्थिपञ्चर मांसपेशी स्केलेटर मसल घट्न थाल्छ र यो समस्या ६० वर्ष पुगेका करिब ३० प्रतिशत मानिसमा हुन्छ  (Padon, et, al, 2008) । सार्कोपेनिया उमेरसँग मांसपेशी क्षय हुने बुढेसकालको प्रमुख स्वास्थ्य समस्या हो । मांसपेशीले शरीरलाई गति दिन मद्दत गर्छ । व्यायामको महत्त्व बुझेर यसलाई औषधिका रूपमा लिन थालिएको छ किनकि, यसरी केही रोगको उपचार पनि हुन्छ । त्यसैले डाक्टरले बिरामीलाई औषधिका साथसाथै ‘यति समय यस्तो व्यायाम पनि गर’ भनेर लिखित प्रेस्क्रिप्सन दिनुपर्छ । खाएर मात्र मान्छे तन्दुरुस्त हुँदैन, व्यायाम पनि गर्नुपर्छ । खानपिन र व्यायाम दुवैबाट मात्र शरीर स्वस्थ हुन्छ ।

खाएर मात्र हुँदैन, के खान्छ, कति खान्छ र कसरी खान्छ, त्यसको पनि महत्त्व छ । कुन उमेरमा कुन चिज खान बढी ध्यान दिनुपर्छ, त्यो पनि महत्त्वपूर्ण छ । बुढेसकालमा तन्दुरुस्त रहन कार्बोहाइड्रेड, प्रोटिन र चिल्लो पदार्थ मात्र होइन, भिटामिन खनिज र एन्टिअक्सिडेन्टको सेवन अति आवश्यक हुन्छ । जस्तो कि, भिटामिन डी हड्डी बलियो बनाउन मात्र होइन, प्रतिरोधात्मक प्रणालीलाई सक्रिय बनाउन पनि ज्यादै जरुरी हुन्छ । यसको कमी हुँदा “टी सेल” भनिने किलर सेल थाइमस ग्लान्डमा विकास भएका सेता रक्तकणले संक्रमणविरुद्ध लड्न सक्दैन । एकै मानिसको पनि कुन अंग वा प्रणाली कति छिटो बुढो हुन्छ, त्यो इम्युन सिस्टममा पनि भर पर्छ इम्युन, इन्डोक्रेन, हर्मोन उत्पादन गर्ने प्रणाली र स्नायु प्रणाली जब निर्भर वा निस्प्रभावी बन्दै जान्छ, रोगीहरूको संक्रमण शरीरमा बढ्न थाल्छ । बुढेसकालमा इम्युन कोषलाई तन्दुरुस्त राख्न एन्टिअक्सिडेन्टको महत्त्वपूर्ण भूमिका हुन्छ (Prasai, 2016) । यसका लागि खानेकुरामा आवश्यक मात्रामा भिटामिन सी, ई, बेटा–क्यारोटिन हुन आवश्यक हुन्छ । बेटा–क्यारोटिन हाम्रा घर वरिपरि फल्ने गाँजर, मेवा, पाकेको फर्सीजस्ता रंगीन तरकारी वा फलफूलमा पाइन्छ भने भिटामिन सी कागती, सुन्तला, अमला अनि हरियो सागपातमा प्रशस्त पाइन्छ ।

भोलि आजको परिणाम हो, त्यसैले आफूलाई कुन अवस्थामा देख्न चाहने हो, त्यसका लागि आजैबाट प्रयत्न गर्नुपर्छ

आजभोलि कोलेस्टेरोल घटाउन बढी प्राथमिकता दिइन्छ । कोलेस्टेरोल पनि हाम्रा लागि आवश्यक छ, किनकि, यसबाट इस्टेरोइट हर्मोन जस्तै– टेस्टोस्टेरोन बन्छ । यो पुरुषत्वका लागि मात्र नभएर मांसपेशी, हड्डीको विकास र समग्र स्वास्थ्यमा महत्त्वपूर्ण हुन्छ (Freedman, 1991) तर अधिक खराब कोलेस्टेरोल एल्डिएल कोलेस्टेरोल चिन्ताको विषय हो । एलडिएलले कोलेस्टेरोनलाई कलेजोबाट शरीरको अरू भागमा पु-याउँछ । जब यसको अनावश्यक मात्रा बढ्छ, तब रगत बग्ने धमनीमा यो जम्मा भएर प्लाक बनाउँछ , जसबाट हृदयरोग हुन सक्छ (Prasai, 2016) ।

मानिसलाई किन बढी गुलियो खान मनपर्छ, यो कौतुहलको विषय हुनसक्छ । गुलियो खाने बानी लागिसकेपछि कम गुलियो वा खल्लो खान गाह्रो हुन्छ । यससम्बन्धमा विज्ञहरूको भनाइ छ कि, चिनीको सम्बन्धमा मष्तिस्कको “डोपामिन रिसेप्टर” सँग हुन्छ (Rada, Avena, Hoebel, 2005) । डोपामिनले आनन्द अनुभव लेजर फिलिङ वा पुनः प्राप्त गर्ने इच्छा जगाउँछ । चिनीले डोपामिनको मात्रा बढाउँछ र आनन्द महसुस हुन्छ । त्यसैले अधिक गुलियो चिनी सेवन एक किसिमको लत हो, जुन बानी लागिसकेपछि जतिसक्दो धेरै खाने इच्छा हुन्छ (Prasai, 2016) । अधिक चिनी प्रयोगको नकरात्मक असर मिर्गौला तथा मुटु र मोटोपनदेखि क्यान्सरसम्म देखिन्छ । त्यसैले स्वस्थ अवस्थामा पनि दिनको ४ चिया चम्चाभन्दा बढी चिनी खान हुँदैन ।

बुढेसकालमा खानेकुरामा सोडियमको मात्रालाई पनि धेरै ध्यान दिनुपर्छ । अमेरिकन हार्टएसोसियसनका अनुसार यसको मात्रा प्रतिदिन १५०० मिलिग्राम ०.७५ या चम्चाभन्दा कम हुनुपर्छ जबकि एक चिया चम्चा नुनमा करिब २३०० मिलिग्राम सोडियम हुन्छ (Prasai, 2016) । अधिक सोडियमको नकारात्मक असर कम गर्न खानेकुरामा पोटासियमको मात्रा बढाउनु पर्छ । वास्तवमा हामीलाई नुन अति आवश्यक छ र शरीरमा सोडियम र पोटासियमको उचित अनुपात स्वस्थ मुटुका लागि ज्यादै महत्त्वपूर्ण हुन्छ । त्यसैले पोटासियमयुक्त खानेकुराहरू पालुंगो, एभोगाडो, केरा र मेवा प्रशस्त खाने गर्नुपर्छ ।

स्वस्थ रहने अर्को महत्त्वपूर्ण उपाय रगतमा ग्लुकोजको मात्रा सन्तुलनमा राख्नु हो । भोको पेटमा रगतको ग्लुकोज १०० मिलिग्राम प्रतिडेसिलिटरभन्दा माथि देखियो भने बुझ्नुस्, तपाईं मधुमेहका लागि तयारीमा हुनुहुन्छ अर्थात् यो प्रि–डाइबेटिक अवस्था हो । यो बढेर १२६ मिलिग्राम प्रतिडेसिलिटरभन्दा माथि गयो भने डाइबेटिक भइसकिएछ भनेर बुझ्नुपर्छ (Prasai, 2016) यो अवस्थामा खानपिनमा विशेष ध्यान दिनुपर्छ । भातको सट्टा जौ, फापर, कोदोको रोटी वा ढिडो खाँदा रगतमा ग्लुकोज नियन्त्रण हुन्छ । चिनी धेरै खानु भनेको छिटो बुढो देखिनु पनि हो । अधिक चिनीको पहुँच क्यान्सरदेखि अल्जाइमर्ससम्म हुन्छ ।

बुढेसकालमा भिटामिन १२ जस्ता भिटामिनको कमी हुनसक्छ । शरीरलाई दैनिक २.४ माइक्रोग्राम भिटामिन १२ प्राप्त गर्नुपर्छ । तर बुढाबुढीमा यसको पूर्ति खानेकुराबाट कम हुन्छ । उपयुक्त मात्रामा ‘बी’ भिटामिनहरू शरीरलाई उपलब्ध हुन आवश्यक छ । विशेषगरी भिटामिन १२ को सम्बन्ध मानसिक स्वास्थ्यसँग जोडिएको हुन्छ (Rayan, Aldoori, 2008) । यो भिटामिनको कमीले अल्जाइमर्सजस्ता रोग लाग्न सक्छन् । त्यसैले यसको आपूर्ति गर्न दूध, दही, सलगम, टुना आदि प्रशस्त खाने गर्नुपर्छ । त्यस्तै शरीरमा भिटामिन सीको कमि हुनु हुँदैन । हाम्रो शरीरले भिटामिन सी बनाउँदैन र प्राप्त गरेको जम्मा पनि गर्न सक्दैन । यसले शरीरमा फलाम (आइरन) शोषण गर्न मद्दत गर्छ, विशेषगरी तरकारी र फलफूलबाट प्राप्त हुने आइरन (नन–हिमआइरन) (Hallberg, Brune, Rossander, 1989) शरीरमा आइरनको उपयुक्त मात्रामा उपस्थिति हुनुपर्छ । आइरन हेमोग्लोबिनसँगै रहन्छ, जसले फोक्सोमा भएको अक्सिजन शरीरको अन्य भागमा पु-याउँछ (Prasai, 2015) । हेमोग्लिोबिन कम हुँदा एनिमिया हुन्छ । हरियो सागपात जस्तैः पालुंगोको साग कागतीका साथ खाँदा यी दुवै कुरा प्राप्त हुन्छन् । त्यसैले भिटामिन सी र फलाम प्रशस्त भएका खानेकुरा खानेगरौँ ।

शरीरको उचाइ ३० वर्षपछि विस्तारै घट्छ । ४० वर्षपछि प्रत्येक १० वर्षमा करिव एक सेन्टिमिटर उचाइ घट्छ, ३० देखि ७० वर्षको बीचमा पुरुषको ३ सेन्टिमिटर र महिलाको ५ सेन्टिमिटर शरीरको उचाइ घट्छ

बलियो हड्डीका लागि पोषणको ठूलो महत्त्व हुन्छ । क्याल्सिएम हाम्रो शरीरमा सबैभन्दा धेरै पाइने खनिज तत्त्व हो । दाँत, हड्डी यसैबाट बन्छ । यसको आवश्यकता अन्य कुरा (जस्तै–मांसपेशी खुम्चने) मा पर्छ । जब शरीरमा क्याल्सियम कम हुन थाल्छ, हड्डीको क्याल्सियम खर्च हुन थाल्छ । त्यसैले सबै उमेरका मानिसले उपयुक्त मात्रामा क्याल्सियम खानुपर्छ । ५० वर्षमाथिका मानिसले दैनिक १२ सय मिलिग्राम क्याल्सियम खाने गर्नुपर्छ । हाम्रो शरीरले आफैं क्याल्सियम बनाउन सक्दैन । यसको पूर्ति दुध, दही, चिजजस्ता पदार्थबाट हुन्छ । हरियो साग, काउली, कुरिलो, गेडागुडीजस्ता खानेकुराबाट पनि क्याल्सियम शरीरले प्राप्त गर्नसक्छ । भटमासबाट बन्ने तोफूमा, (आधा कप) २५८ मिलिग्राम, पकाएको पालुंगोमा (एक कप) २४५ मिलिग्राम क्याल्सियम पाइन्छ (Barrett, Chang, Edelstein, 1994) । सुन्तला र ओखरबाट पनि क्याल्सियम प्राप्त गर्न सकिन्छ ।

भिटामिन डी अर्को महत्त्वपूर्ण तत्त्व हो जसले क्याल्सियमको शोषण गर्न मद्दत गर्छ । भिटामिन डी सूर्यको किरण हाम्रो छालामा परेपछि बन्छ । यसको अलावा दूध, दही, र माछामा पनि यो पाइन्छ । क्याल्सियम र भिटामिन डी को प्रमुख स्रोत दूध भएकाले ल्याक्टोज इन्टोलेरेन्सको समस्या हुनेहरूको शरीरमा क्याल्सियमको मात्रा कम हुनसक्छ ।

अधिक चिनी प्रयोगको नकरात्मक असर मिर्गौला तथा मुटु र मोटोपनदेखि क्यान्सरसम्म देखिन्छ । त्यसैले स्वस्थ अवस्थामा पनि दिनको ४ चिया चम्चाभन्दा बढी चिनी खान हुँदैन

कतिपय खानेकुराले मुटुलाई रोगी बनाउँछ भने कतिपयले बलियो । भोजनमा अधिक नुन, गुलियो, चिल्लो (अस्वास्थ्यकर चिल्लो) र रेसादार तत्त्वको कमी हुनु हृदय कमजोर हुने वातावरण तयार गर्नु हो । मासुको अधिक सेवन हृदय रोगको प्रमुख कारण मानिन्छ ।

सामान्यतया इन्फ्लामेसन वयस्क उमेरमा लाभदायक हुनसक्छ । तर बुढो उमेरमा रोगका कारण बढ्न सक्छ । १०० वर्ष वा त्योभन्दा बढी बाँच्ने दीर्घजीवीको शरीरमा इन्फ्लामेसन कम हुने र रोग लागे पनि छिट्टै तङ्ग्रिन सक्ने क्षमता हुन्छ (Prasai, 2015)  । उमेरसँग कुन अंगले कति राम्ररी काम गर्छ वा तन्दुरुस्त रहन्छ भन्ने कुरा त्यसमा रहेका कोषहरूको कार्यसम्पादनमा भर पर्छ । बुढेसकालमा जिंक, सेलेनियम र भिटामिन बी–६ को कमी हुनेगर्छ । जसको असर इम्युन सिस्टममा पर्छ । रगतमा फोलेट र भिटामिन–१२ को मात्रा हाम्रो मस्तिष्कको अनुभूति (कग्निसन) सँग सम्बन्धित हुन्छ । अर्थात् भिटामिन बीको कमीले बुढेसकालमा स्मरण शक्ति कम हुने समस्या हुन्छ (Kim, et, al, 2014) । त्यसैले भिटामिन र खनिजको कमी हुन दिनु हुँदैन । अधिक चिनी र स्याचुरेटेड फ्याटले इन्फ्लामेसन बढाउँछ भने ओमेगा–३ भएका खानेकुरा (माछा, आलस, आदि) ले इन्फ्लामेसनलाई घटाउँछन् । इन्फ्लामेसन कम गर्न भिटामिन ‘ई’को आफ्नै महत्त्व छ । भिटामिन ‘ई’ प्राप्तिका लागि पालुंगोजस्ता हरिया साग, फर्सी र सूर्यमुखीको बिया खाने गर्नुपर्दछ ।

जब तपाईं बुढो हुँदै जानुहुन्छ, तपाईंको शरीरको पानी सञ्चय गर्ने क्षमता कम हुन थाल्छ । कहिलेकाहीँ तिर्खा लागेको थाहा नहुने भएकाले शरीरलाई चाहिनेभन्दा कम पानी पिइन्छ । शरीरमा पानीको कमी हुन नदिन तिर्खा लागेको महसुस नभए पनि केही मात्रामा पिउने गर्नुपर्छ (Prasai, 2015) । वैज्ञानिक रिपोर्टका आधारमा भन्ने हो भने वयस्क पुरुषलाई दैनिक ३.७ लिटर र महिलालाई २.७ लिटर पानी चाहिन्छ । करिब १ लिटर पानी त खानेकुराबाट पनि प्राप्त हुन्छ ।

बुढेसकालमा तन्दुरुस्त रहन कार्बोहाइड्रेड, प्रोटिन र चिल्लो पदार्थ मात्र होइन, भिटामिन खनिज र एन्टिअक्सिडेन्टको सेवन अति आवश्यक हुन्छ

पानीलाई ब्याक्टेरिया (५००–१००० कोलोनी फर्मिङ युनिट/मिलिलिटर) सँग तामाको भाँडोमा रातभरि राख्दा न्यून मात्रामा भए पनि भाँडोबाट चुहिएको तामा (४७५ पार्ट प्रतिमिलियन) पानीमा प्रवेश गरी जीवाणु नष्ट गर्छ (Sudha, Singh, Prasad, 2009) । त्यसैले पानीलाई तामाको भाँडोमा राखेर पिउने गरौं । तामाको ठूलो भाँडो छैन भने सफा तामाको सिक्का भाँडोमा राखेर पानी निर्मलीकरण गर्न सकिन्छ । यो सबैले गर्न सकिने कुरा हो ।

शाकाहारी भोजनमा क्यान्सरलगायत विभिन्न रोगविरुद्ध लड्ने फाइटोकेमिकल हुन्छ । शाकाहारीमा मांसाहारीको तुलनामा सामान्यतया क्यान्सर हुने सम्भावना कम हुन्छ । जस्तो कि, टमाटर खानाले प्रोस्टेट क्यान्सरबाट बच्न सकिन्छ । लसुन खाँदा कोलोरेक्टल क्यान्सर हुने सम्भावना कम हुन्छ । त्यस्तै बढी मासु खानेभन्दा शाकाहारीलाई हृदयरोग, उच्च रक्तचाप, मधुमेह हुने सम्भावना कम हुन्छ (Craig, Mangels, 2009) ।

मांसाहारी भोजनमा स्याचुरेटेड फ्याट र कोलेस्टेरोल बढी पाइने भएकाले स्वाभाविक रूपमा बढी मासु खाने मानिस कम स्वस्थकर हुन्छन् । शाकाहारीहरू शारीरिक रूपमा पातला हुन्छन्, जसले गर्दा मधुमेह रोगको सम्भावना पनि कम हुन्छ । उनीहरू बुढेसकालमा लाग्ने धेरैजसो रोगबाट कम प्रभावित हुन्छन् । तर पनि चिकेन चिल्लीको सट्टा काउली पकौडा खान चाहने हाम्रो समाजमा थोरै छन् । कसैको बिहे भोज वा ठूलो पार्टीमा जाँदा तपाईंको स्वागत शाकाहारी भोजनले गरियो भने नकारात्मक टिप्पणी हुन्छ । आशा गरौंं, शाकाहारी भोजनप्रति हाम्रो समाजको झुकाव भविष्यमा अरू बढ्नेछ ।

व्यवहारमा गर्न नसकिने ठुल्ठूलाभन्दा स–साना तर महत्त्वपूर्ण कुरा गर्न चुक्नु हुँदैन । जीवनमा ठुल्ठूला कुरा गर्न नसकेर दुःख लाग्न सक्छ । तर त्योभन्दा दुःख सकिने कुरा नगरेर निमित्रहेको हुन्छ ।

आवश्यक भोजन खान नपाएर रोगी हुनु स्वाभाविक हो । तर पिउनुपर्ने जति पानी नपिएर रोगी हुनु अज्ञानता नै हो ।

उमेर पाको हुँदै जाँदा खानेकुराबाट प्राप्त हुने क्यालोरीप्रति सचेत रहनुपर्छ । अधिक भोजनबाट रोगी बनिने कुरा आज मात्र पहिचान भएको होइन, पौराणिककालदेखि भनिँदै आएको हो । तसर्थ कम क्यालोरी तर अन्य पोषण तत्त्व र रोगनिरोधक फाइटोकेमिकल भरपुर भएका खाद्यपदार्थ नै दीर्घजीवनका आवश्यकता हुन ।

(खरेल त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि हुन् । उनी विगत एक दशकयता समाजशास्त्र र मानवशास्त्रसँग सम्बन्धित विषयमाथि अनुसन्धानरत छन् ।)

सन्दर्भ सामग्रीहरू

Aronow C. (2011). Vitamin D and the Immune System. J. Investing Med., 59 (6), pp.881-886.

Barrett-Connor E, Change J.C, Edelstein SL. (1994). Coffee-associated osteoporosis offset by daily milk consumption. The rancho Bernardo Study. JAMA., 271(4) pp. 280-3

Craig, W.J, Mangels, A.R. (2009). American Dietetic Association. Position of the American Dietetic Association: vegetarian diets. J Am Diet Assoc. 109, pp.1266-82.

Freedman, D.S, O’Brein, T.R, Flnders, W. D, DeStefono, F, Barboriak, J.J. (1991). Relation of serum testosterone levels to high density lipoprotein cholesterol and other characteristics in men. Arterioscler Thromb. 11 (2), pp.307-15.

Hallberg, L, Brune, M, Rossander, L. (1989). The role of vitamin C in iron absorption. Int J Vitam Nutr Res Suppl.;30 pp.103-8.

Hjelmborg, V.B. J. Iachine, I. Skytthe, A. Vaupel, J.W. McGue, M. Koskenvuo, M. Kaprio, J. Pedersen NL, Christensen K. (2006). Genetic influence on human lifespan and longevity. Hum Genet. 119, pp. 312-21.

Kim, H, Kim, G. Jang, W. Kim, S.Y. Change, N. (2014). Association between intake of B vitamins and cognitive function in elderly Koreans with cognitive impairment. NutrJ.,13 (1), p. 118.

Padon, J. D. Short, K.R. Campbell, W.W, Volpi, E. Wolfe, R.R. (2008). Role of dietary protein in the sarcopenia of aging. Am J Clin Nutr, 87, pp.1562-1566.

Prasai, G. ( 2015). Givan Gauni Kaida, Nepa-laya Publication, Kathmandu

Prasai, G. ( 2016). Sadhai Tanneri, Nepa-laya Publication, Kathmandu

Rada, P. Avena, N.M. Hoebel, B.G. (2005). Dailly bingeing on sugar repeatedly releases dopamine in the accumbens shell. Neuroscience., 134(3), pp. 737-44.

Rayan-Harshman, M. Aldoori, W. (2008). Vitamin B12 and health. Can Fam physician. 54 (4), pp. 536-541.

Sorkin, J.D. Muller, D.C. Andres, R. (1999). Longitudinal Change in Height of Men and Women: Implications for Interpretation of the Body Mass Index. The Baltimore Longitudinal Study of Aging. American Journal of Epidemiology., 150 (9).

Sudha, V.B. Singh, K.O. Prasad, S.R. (2009). Ventkatasubramanian p.Lilling of enteric bacteria in drinking waer by a copper device for use in the home: laboratory evidence. Trans R Soc Trop Med Hyg.,103, pp. 819-22. 

Willcox, D.C. Willcox, B.J. Hsuech, W.C. (2006). Suzuki M. Genetic determinants of exceptional human longevity: insights from the Okinawa Centenarian Study. Age (Dordr)., 28, pp.313-332.