NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

काठमाडौं–४ मा राप्रपा निर्णायक : तोड्लान् त राजनले गगनको ह्याट्रिक ?

काठमाडौं । आसन्न निर्वाचनमा काठमाडौं–४ बाट दुई चर्चित नेता गगन थापा र डा. राजन भट्टराई दोस्रोपटक चुनावी मैदानमा उत्रिएका छन् ।

योपटक ह्याट्रिक गर्ने दाउमा रहेका थापा कांग्रेसका महामन्त्रीसमेत हुन् । २०७४ को निर्वाचनमा थापासँगै पराजित भएका भट्टराई योपटक हारको बदला लिने तयारीमा छन् । एमाले विदेश विभाग प्रमुखसमेत रहेका उनी स्थायी कमिटी सदस्य हुन् ।

यसअघि थापा २०७० र २०७४ को निर्वाचनमा लगातार विजयी भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सांसद रहेका उनी प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री थिए । २०७० को निर्वाचनमा थापाले एमालेका उम्मेदवार निर्मल कुँकेललाई १३ हजार १३५ मतान्तरले पराजित गरेका थिए ।

नेविसंघको महामन्त्रीबाट कांग्रेसको राजनीतिमा छिरेका उनी छोटो समयमा धेरै चर्चा बटुल्ने नेतामध्येमा पर्छन् । थापा गतवर्ष काठमाडौंमा भएको कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थिए ।

यस्तै एमालेका उम्मेदवार डा. भट्टराई परराष्ट्रमामिला विज्ञ मानिन्छन् । उनले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालका परराष्ट्र सल्लाहकारको भूमिका निर्वाह गरेका छन् । ‘भारत–चीन सम्बन्धका सन्दर्भमा नेपालको बदलिँदो सुरक्षा दृष्टिकोण’ शीर्षकमा जवाहरलाल नेहरु विश्वविद्यालय, भारतबाट भट्टराईले २०६९ सालमा विद्यावारिधि गरेका छन् ।

गत जेठमा चेक गणतन्त्रको राजधानी परागमा भएको एसियाली राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को बैठकबाट भट्टराई एशिया–युरोप राजनीतिक मञ्चको अध्यक्षमा निर्वाचित भएका थिए । अनेरास्ववियुबाट राजनीति गर्दै केन्द्रीय सचिवसमेत भएका उनी अहिले एमालेको स्थायी समिति सदस्य छन् । दुवै नेताले आफ्नो मुख्य चुनावी नारा विकास निर्माणलाई बनाएका छन् ।

थापाले अघिल्लोपटक यो क्षेत्रबाट एमालेका भट्टराईलाई ३४१८ मतले पराजित गरेका थिए । उनी २१ हजार ५५८ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार भट्टराईले १८ हजार १४० मत पाएका थिए ।

यस्तो छ थापा–भट्टराईको क्षेत्रमा स्थानीय तहमा वडाध्यक्षले पाएको मत

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं ४ का वडाध्यक्षले पाएको मतमा एमालेको १६५०७, कांग्रेसको १५७६३, नेकपा एसको २४१४, राप्रपाको २२९३, माओवादीको ८४४ र जसपाको ३१७ मत छ । गठबन्धनको जम्मा मत १९०२१ छ । एमालेको १६५०७ छ । एमालेभन्दा गठबन्धन तीन हजार हाराहारी मतले अगाडि छ ।

यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका १, ७, ८ र ३० वडा पर्छन् । बुढानिलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडाहरू पर्छन् । यहाँ थापा र भट्टराईसहित ३१ जनाले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

हारजितमा राप्रपा निर्णायक

स्थानीय तह निर्वाचनमा गठबन्धन र एमालेका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बालेन शाहले पराजित गरी काठमाडौं महानगरपालिका मेयर जितेका थिए । त्यसको प्रभाव संघ र प्रदेशको निर्वाचनमा पनि पर्न सक्ने डर यी परम्परागत दलका उम्मेदवारलाई रहेको छ । स्थानीय तह निर्वाचन परिणामलाई आधार मान्दा यो क्षेत्रमा राप्रपाको मत निर्णायक देखिएको छ ।

राप्रपासँग केही क्षेत्रमा चुनावी तालमेल गरेको एमालेलाई यो क्षेत्रमा पनि समर्थन भए एमालेको मत १८ हजार ८०० हुन्छ । गठबन्धन झिनो मतले पछाडि देखिन्छ । यसैले गगन थापालाई यसपटक एमालेका राजन भट्टराईविरुद्ध जित निकाल्न सहज छैन । यहाँ एमालेको संगठित भोट राम्रो रहेको छ । अघिल्लोपटक पराजित भएपनि भट्टराईले यो क्षेत्रको विकास निर्माणमा सक्रिय रहेका छन् । उनी योपटक जसरी पनि थापाको ह्याट्रिकलाई रोक्ने पक्षमा देखिन्छन् ।

एमालेको प्रभावलाई तोड्न सकेमात्रै गगनले यसपटक चुनाव जित्नेछन् । यद्यपि उनी पार्टीभित्र र बाहिर लोकप्रिय छन् । यसको फाइदा थापाले उठाउन सक्नेछन् । लगातार हारेकोले राजनलाई यसपटक थापाको विरासत तोड्नै पर्ने थप दबाब छ । यसैले यसपटक यी चर्चित दुइ उम्मेदवारबीचको चुनावी प्रतिस्पर्धा थप रोचक हुने अनुमान गरिएको छ ।

थापा काठमाडौं ४ डा. स्वर्णिम वाग्लेलाई छोडेर सर्लाही ४ मा चुनाव लड्न जाने तयारीमा थिए । तर गगनले यो क्षेत्र छोडे पनि देउवाले वाग्लेलाई नभई नैनसिंह महरलाई उम्मेदवार बनाउन खोजेपछि थापाले पनि काठमाडौं ४ छोड्न अस्वीकार गरेका थिए ।