NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

रग्बीमा आर्मी, एपीएफ र लुम्बिनी फाइनलमा

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत लेखनाथस्थित भण्डारढिक खेल मैदानमा आज रग्बीका सेमिफाइनल चरणका खेलहरू सम्पन्न भएका छन् ।

पुरुषतर्फको सेमिफाइनलमा विभागीय टिम नेपाल आर्मीलाई ५–० अङ्कले पराजीत गर्दै लुम्बिनी प्रदेश फाइनलमा प्रवेश गरेको छ भने गण्डकी प्रदेशलाई १७–७ को फराकिलो अन्तरले पराजीत गर्दै सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले फाइनलको यात्रा तय गरेको छ ।

यस्तै महिलातर्फको खेलमा आर्मीले मधेस प्रदेशलाई १७–५ अङ्कले पराजीत गर्दै फाइनलमा प्रवेश गरेको छ भने एपीएफले सुदुरपश्चिम प्रदेशलाई १०–० अङ्कको अन्तरले पराजीत गर्दै फाइनलमा पुग्न सफल भएको छ ।

प्रतियोगिताको तेस्रो स्थानका लागि पुरुषतर्फ आर्मी र गण्डकी प्रदेश भिड्ने छन् भने महिलातर्फ मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्ने छन् ।

आर्मी र लुम्बिनी प्रदेशबीचको खेल चलिरहँदा आर्मीका खेलाडीले हाई ट्याकल गरेपछि एल्लो कार्ड पाएका थिए । एल्लो कार्डको विषयमा भएको विवादका कारण दिउँसो केहीबेर खेल अवरुद्धसमेत भएको थियो ।

अफिसियलहरूसँगको छलफलपछि खेल पुनः सञ्चालन भएको थियो । फाइनल चरणका खेलहरू बुधबार हुनेछन् ।