NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

तेल उत्पादन कटौती गर्ने ओपेकको घोषणा, अमेरिका आक्रोसित

ओपेकको रुसको उक्सावटमा, विश्वको हितविपरीत छ : अमेरिका

काठमाडौं (एजेन्सी) । साउदी अरेबियाको नेतृत्वमा रहेको ओपेक आबद्ध देशहरूले तेल उत्पादनमा कटौती गर्ने घोषणा गरेपछि अमेरिका आक्रोशित भएको छ । उसले यसलाई ठूलो गल्ती भनेको छ।

ओपेक तेल निर्यातक देशहरूको संस्था हो । सन् १९६० मा स्थापना भएको यो संस्थामा १३ राष्ट्रहरू सदस्य छन् । इरान, इराक, कुवेत, साउदी अरब र भेनेजुएला यसको संस्थापक राष्ट्र हुन् । यसका १० सहयोगी राष्ट्र पनि छन् । तिनलाई ओपेक प्लस नाम दिइएको छ ।

अमेरिकाले यी सबै देशको निर्णय एक प्रकारले रुसको समर्थनका लागि रहेको भन्दै भविष्यमा कठिनाइको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

ओपेक प्लस देशहरूले हालै प्रतिदिन २० लाख ब्यारेल तेल उत्पादन घटाउने घोषणा गरेका थिए । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा उच्च कटौती हो।

तेल कटौतीको निर्णय अमेरिकी जनता र विश्वभरका परिवारको हितविरुद्ध भएको अमेरिकाले आरोप लगाएको छ । मंगलबार पत्रकारहरूलाई सम्बोधन गर्दै, ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन–पियरले गत हप्ता ओपेकंले गरेका निर्णयहरू रुसीहरूको पक्षमा तथा अमेरिकी जनता र विश्वभरका परिवारहरूको विरुद्धमा आरोप लगाइन् ।

‘हामी विश्वास गर्छौं कि यो निर्णयले कम आय भएका अर्थतन्त्रहरूलाई चोट पुर्याउनेछ,’ उनले भनिन् । एक प्रश्नको जवाफमा उनले यो भ्रामक भएको र यो गल्ती र अदूरदर्शी निर्णय भएको बताइन् ।

यसैबीच, अमेरिकाले साउदीसँगको सम्बन्धको पुनर्मूल्यांकन गर्ने भएको छ । तेल उत्पादनलाई लिएर अमेरिका र साउदी अरबबीचको सम्बन्धमा तिक्तता आउन थालिरहेका बेला अमेरिकाले यस्तो तयारी गरेको हो ।

ह्वाइट हाउसले मंगलबार भन्यो कि साउदी नेतृत्वको तेल उत्पादक देशहरूको गठबन्धनले उत्पादन घटाउनमा रूसको साथ दिएको छ। राष्ट्रपति जो बाइडेनले रियादसँगको अमेरिकी सम्बन्धको पुनर्मूल्यांकन गर्नेछन्।

१३ राष्ट्रको ओपेक संगठन र मस्कोको नेतृत्वमा रहेका यसका १० सहयोगीहरूले नोभेम्बरदेखि दैनिक २० लाख ब्यारेल उत्पादन कटौती गर्ने निर्णय गरेका छन् । यो निर्णयको प्रभावस्वरूप तेलको मूल्य बढ्न सक्ने आशंका गरिएको छ ।