NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते
वेथिति

सरकारी चिकित्सकले बिनापरीक्षण ललितपुर बसेर हेटौंडाको प्रमाणपत्र जारी गरेको खुलासा

काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख डा. रामप्रकाश प्रधानले पशुपन्छी ढुवानीका लागि जारी गरिने भेटेरिनरी प्रमाणपत्र बिनापरीक्षण जारी गरेको  खुलेको छ । पशुपन्छी ढुवानी मापदण्ड, २०६४ विपरीत पशुपन्छीको स्वास्थ्य परीक्षणबिना ललितपुरमा बसेर डा. प्रधानको नाममा भेटेरिनरी प्रमाणपत्र जारी भएपछि यो तथ्य सतहमा आएको हो ।

सरकारले पशुपन्छी ढुवानीलाई व्यवस्थित बनाउन पशु ढुवानी मापदण्ड, २०६४ जारी गरेको छ । मापदण्डमा चिकित्सकले स्वस्थ रहेको व्यहोराको प्रमाणपत्र जारी गरेपछि मात्र पशुपन्छी ढुवानी गर्न पाइने प्रावधान समेटिएको छ । मापदण्डमा भनिएको छ– पशु चिकित्सकले प्रत्यक्ष उपस्थित भएर पशुपन्छी परीक्षण गर्नुपर्छ । चिकित्सकले स्वस्थ रहेको प्रमाणपत्र जारी गरेपछि मात्र पशुपन्छी एक स्थानबाट अर्को स्थानमा ढुवानी गर्न पाइन्छ ।’ यस्तो प्रमाणपत्र पशु चिकित्सा परिषदमा दर्ता सरकारी सेवामा रहेका वा नरहेका दुवै थरी चिकित्सकले जारी गर्न पाउँछन् ।

विज्ञ केन्द्र, ललितपुरमा कार्यरत डा. प्रधानले उक्त मापदण्डको मर्म र आफ्नो पेसागत धर्मविपरीत ललितपुरमा बसेर त्यहाँबाट निकै परको हेटौंडाको फार्मका गाईगोरुको परीक्षण नै नगरी स्वस्थ रहेको बेहोराको भेटेरिनरी प्रमाणपत्र जारी गरेका छन् । डा. प्रधानले यही असोज ३० गते जारी गरेको प्रमाणपत्र नेपालवाचलाई प्राप्त भएको छ । जसमा प्रधानले ललितपुर बसीबसी युनिसा सप्लायर्स, हेटौंडाका २२ गोरु स्वस्थ रहेको निःसंकोच लेखिदिएका छन् ।

पशुपन्छी ढुवानी मापदण्डको दफा १७ मा सवारीसाधनमा पशु ढुवानी गर्दा छुट्याइनुपर्ने स्थानबारे उल्लेख छ । मापदण्डअनुसार, वयस्क गाईभैंसी ढुवानी गर्दा ०.८४ देखि १.१७ वर्ग मिटर ठाउँ छुट्याइएको हुनुपर्छ । तर प्रधानले आफूले जारी गरेको प्रमाणपत्रमा यो पक्षलाई समेत पूरै नजरअन्दाज गरेका छन् । उनले एउटा ट्रकमा २२ गोरु ढुवानी गर्न अनुमति दिएका छन् ।

डा. प्रधानले पशु ढुवानी मापदण्ड, २०६४ र पेसागत धर्मविपरीत ढुवानी गर्न अनुमति दिएको पशुपन्छीलाई ट्रकसहित इलाका प्रहरी कार्यालय, पशुपतिनगर, हेटौंडाले नियन्त्रणमा लिएको थियो । जसलाई उसले थप कारबाहीका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, केन्द्र हेटौंडालाई बुझाएको छ ।

नियन्त्रणमा रहेका गोरुलाई के गर्ने भन्नेबारे अन्योल भएको छ । यसलाई सुल्झाउन मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, विज्ञ केन्द्र हेटौंडाको प्रमुख डा. वज्रकिशोर ठाकुर, इलाका प्रहरी कार्यालय, पशुपतिनगरका एसपी वामदेव गौतमलगायत अधिकारी मंगलबार छलफलमा जुटेका थिए । कीर्ते प्रमाणपत्र जारी गरी ढुवानी गरिएका गोरु तस्करीको भएकाले फिर्ता पठाउनुपर्ने अडानमा विज्ञ केन्द्र, हेटौंडाका प्रमुख ठाकुर छन् ।

डा. प्रधानले आफ्नो कार्यक्षेत्र उपत्यकाका ललितपुर, काठमाडौं र भक्तपुर भए पनि हेटौंडाबाट प्रमाणपत्र जारी भएको स्वीकार गरे । तर त्यो आफ्नो नियतले भन्दा पनि व्यवसायीले बदमासीले हुन पुगेको दाबी गरे । ६ वर्षसम्म विज्ञ केन्द्र हेटौंडाको प्रमुख हुँदा आफूले अनेक भेटेरिनरी प्रमाणपत्र जारी गरेको र तिनै प्रमाणपत्रलाई अहिले कीर्ते गरेर पशु चौपाया व्यवसायीले बदनाम गराउन खोजेको उनको जिकिर छ ।

‘म ६ वर्षसम्म विज्ञ केन्द्र हेटौंडामा कार्यरत रहेँ । त्यो समय मैले विभिन्न भेटेरिनरी प्रमाणपत्र जारी गरेको थिएँ । त्यसैलाई कीर्ते गरेर व्यवसायीले बदमासी गरेका छन् । यसमा मेरो कुनै संलग्नता छैन ।’

प्रधानको दाबी अनुसार गरिएको हो भने प्रमाणपत्रमा केरमेट र हस्ताक्षर फरक हुनुपथ्र्यो । तर त्यसमा कुनै केरमेट छैन । हस्ताक्षर पनि प्रधानकै छ ।

कीर्ते गर्ने व्यवसायीले कृषि सचिवकै अगाडि माफी मागेको उल्लेख गर्दै उनले आफूलाई निर्दोष रहेको दलीलसमेत पेस गरे ।

व्यवसायीको आर्थिक प्रलोभनमा परेर भेटेरिनरी प्रमाणपत्रको ठेली नै बिक्री गर्ने गरेका छन् । स्रोतका अनुसार, डा. प्रधानले पनि यसैगरी आर्थिक लाभ लिएर प्रमाणपत्र जारी गरेका हुन् । प्रधानले हेटौंडाका लागि जारी गरेको प्रमाणपत्र भेटेरिनरी एसोसिएसनले छपाएर उपलब्ध गराएको खुलेकाले पनि यसमा उनको संलग्नता रहेको पुष्टि हुन्छ । भेटेरिनरी चिकित्सकहरूको छाता संगठन नेपाल एसोसिएसनले पशु चिकित्सा परिषद्को सिफारिसमा यस्ता प्रमाणपत्र छपाइ गरेर चिकित्सकलाई प्रति गोटा एक रूपैयाँमा बिक्री गर्दै आएको छ ।

ललितपुरमा कार्यरत डाक्टरका नाममा हेटौंडाबाट भेटेरिनरी प्रमाणपत्र जारी गरेको विषयमा आफूहरूको ध्यानाकर्षण भएको पशु चिकित्सा परिषद्ले जनाएको छ । परिषद्का अनुसार, कैफियत गर्ने डा. प्रधानलाई स्पष्टीकरणका लागि मौखिक रूपमा जानकारी गराइएको छ । प्रधानले पनि आफूलाई परिषदबाट उपस्थित हुन मौखिक निर्देशन आएको नेपालवाचलाई बताए ।

स्रोतका अनुसार, पशु चिकित्सकहरूले आफ्नो नामका भेटेरिनरी प्रमाणपत्र पशु चौपाया व्यवसायीलाई बिक्री गर्ने गरेका छन् । प्रधानले पनि यसैगरी आफ्नो नामको ठेली पशुपन्छी चौपाया व्यवसायीलाई बिक्री गरेको विज्ञ केन्द्र हेटौंडाका एक अधिकारीले बताए । प्रधान स्वयंले पनि घुमाउरो भाषामा भेटेरिनरी प्रमाणपत्र बिनापरीक्षण उपलब्ध गराउनुको बचाउ गर्दै दूरदराजमा पुगेर जारी गर्न सकिने स्थिति नरहेकाले पहिले नै दिनुपर्ने बाध्यता रहेको तर्क गरे । उसो भए तपाईंले पनि हेटौंडामा त्यसैगरी प्रमाणपत्र दिनुभएको थियो भनेर हामीले प्रधानसमक्ष प्रश्न गरेका थियौं । जवाफमा प्रधानले त्यसलाई इन्कार गरे ।